रमिते : प्रयाेगकाे अनाैठाे नमुना

‘बाह्रखरी कथा प्रतियोगिता’को सिलसिलामा मेरो कथा पनि उत्कृष्ट पच्चीसमा परेकोले म काठमाडौंमा आमन्त्रित थिएँ । मैले केही किताब त्यही बेला झिकाएको थिएँ । 

भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’लगायतका किताबहरूसँगै थियो जेसन कुँवरको ‘रमिते’ । रमितेको बारे राम्रै चर्चाहरू ट्विटरमा केही साथीहरूको देखेको भएर पनि मलाई कौतुहलता थियो । कार्यक्रम सकिएर फर्किएपश्चात् मेरा लागि तिनै किताबहरू प्रेमपूर्वक लिई आउने साथीसँग मीठो समय व्यतीत गरेँ । 

त्यतिबेला मैले यो किताबको खोललाई मात्र हेरेँ । नयाँ शैलीमा थियो । अमूर्त तरिकाले प्रस्तुत तर अर्थपूर्णजस्तो । कुनै भयानक चलचित्रको संकेत गरेजस्तो पनि । खोलमा अग्र वा पृष्ठ भागमा किताब र लेखकको नाम नै नभएको । बिटमा मात्र ।

किताब पढ्ने साइत इ.सं २०२१ को अन्तिमतिर मात्रै जुऱ्यो । सुरुवातका केहीबेर म अलमलिएँ । कथानकमा ह्वात्त प्रवेश नभएजस्तो । के भइरहेछ पत्तै नपाएजस्तो भयो । तर, जब त्यो समय टारेँ अनि मजा आउन थाल्यो । यो किताब पूरापूर मेरै रुचिको थियो । 

पूर्णतः स्वैरकल्पनामा निमग्न उडेको । तर, कुनै आदिम कालको घटना हो कि ? पात्रहरू अनौठा । परिवेश अनौठो । अनि प्रस्तुतीकरण स्वादिलो । मानक व्याकरण छैन । गह्रौँ शब्दहरू छैनन् । फेरि जनजिब्राे भन्नलाई फलानो ठाउँको भाषा भनिहाल्न पनि सकिन्न । सिर्जित तर सामयिक । 

खिलेको लेखोट भन्ने अध्यायबाट कुरा सुरु हुन्छ (कुरा भन्नुको तात्पर्य यस किताबको कुनै विधा उल्लिखित छैन) । त्यो पनि एकैचोटि दिन ३०९ बाट । ऊ उगा भन्ने ठाउँबाट दसपर्मका लागि निस्किएको हो । दसपर्मको अर्थ विभिन्न गाउँहरू पुगेर रीतिस्थिति बुझ्नु, आफूले लगेका बीउबिजन छरिदिनु, अनि त्यहाँका उपयोगी जिनिस ल्याउनु अथवा सुखदुःख बाँड्नु भनी बुझ्न सकिन्छ । यसको ठेट परिभाषा लेखकले दिएका भने छैनन् । जे होस् दसपर्ममा पाँच व्यक्ति हुनु अनिवार्य छ । यसैले सिक्रे, खिले, रिक्टे, खोरे, घुसे यस यात्रामा छन् । 



अब किताबको गुणी पक्ष यो स्थानका नक्सा सुरुवातमै दिइएको छ । मैले विभिन्न पटक पढ्दापढ्दै त्यो नक्सा हेरेर कल्पना गर्न पाएँ र त्यो बिछट्टै मजाको क्षण बन्यो । 
खिलेको लेखोटकै क्रममा उगाको बाल्यकालीन अनुभव बताउन थाल्छ खिले । यस खण्डको न्यारेटर खिलेका अनुसार उसले खुराल काकाबाट विभिन्न अनुभवहरू सुन्न रुचाएको अनि निलीसँग बाल्यकालीन प्रेम गरेको थाहा हुन्छ । 

यसै क्रममा काकासँगै काकाका बिरामी साथी भेट्न खोर्लाङ पनि जान्छ ऊ । खोर्लाङमा भोकमरी छ । यसको अनुभव खिलेले पनि गर्छ र सोध्दा भन्छ- ‘तर सप्पै (खोर्लाङका मानिसहरू) भोका छन् जस्तो ।’ 



खोर्लाङबाट उगा फर्कने अन्तिम साँझ बाटोमा भूत वा यस्तै केहीसँग भेट हुँदा खिलेलाई त काकाले छेक्छन्, तर आफूले भने त्यसलाई हेर्छन् । सायद यसैले उनको मृत्यु हुन्छ । मृत्युकर्मको पनि पृथक पद्धति यहाँ छ । जैसीले मन्तर जप्दै आत्मालाई बाटो लगाउँछ भने बिथेन बूढो र साथीहरू बाजा बजाउँछन् शोकको ।
 
उगा सह भएको गाउँ हो जसले अरू छवटा गाउँमा अन्न पठाउने गरेको छ । खोर्लाङको दयनीय स्थितिप्रति जिम्मेवार भएर भागमा पाउनेबाहेक पनि अन्न पठाउने विषयमा अरू गाउँहरू किचलो गर्छन् । 

यता खिलेहरू सर्पगुफामा पुगेका छन् । तर गुफाभित्र एउटा लास छ र छेउमा भने एक जीवित केटी । 

अब न्यारेटर बन्छे टुहुरी र बताउन थाल्छे जिजुबा त्रिचापिल्लको कहानी । चापिलका राजकुमार त्रिचापिल्लको कथा । त्रिचापिल्ल विरासर भन्ने सुखी ठाउँबाट बरालिँदै मगडीसम्म आइपुग्छन् । यहाँ उनको भेट योगिनीसँग हुन्छ । योगिनीले छल गरेर उसलाई लाकुसम्म पुऱ्याउँछे । त्रिचापिल्ल यो खबर आफ्नो गाउँतिर पठाउन पराक्रमी सेनापति धुल्जेङ्गलाई पठाउँछन् तर बीचमा पर्ने कठिन पर्वतमा ‘अनगिन्ती रण जितेको’ धुल्जेङ्गको दम्भ निभ्छ र उसको मृत्युसँगै उक्त पर्वतको नामकरण नै धुल्जेङ्ग हुन्छ । 

त्रिचापिल्ल र योगिनीबीच प्रेम पर्दछ । तर, योगिनीले त्रिचापिल्लकी छोरी सिपालीलाई पनि बिरामीबाट निको पार्दछे ।  उसको खराब बानी ऊ रात पर्नासाथ दरबार छोडी अन्तै जान्छे । एक रात पछ्याउँदै गएका त्रिचापिल्लले उसको भेद थाहा त पाउँछन्, तर केही गर्न नसकी आफैँ टाढिन्छन् । नयाँ बस्ती बसाउन जान्छन् पारिपट्टि जसलाई त्रिचाथात भनिन्छ ।

लाकु बस्ती योगिनीले बसालेको गाउँ हो । योगिनी र त्रिचापिल्लकी छोरी टुहुरी हो । त्रिचाथात र लाकुबीचमा द्वन्द छ । डुम्रे त्रिचाथातको बासिन्दा हो । ऊ र उसका साथीहरूको ज्यादती एकदमै छ । उनीहरू अन्न फलाउँछन् तर हुर्राको अम्मली छन् । त्यो उपलब्ध छ लाकुमा । 

लाकु भने भोकमरी लागेको बस्ती हो । अम्मलीहरू यसको फाइदा उठाउँछन् । महिला र बालिकाहरूमाथि अत्याचार हुन्छ । नान्नानी भोकै पर्ने भन्दै आमाहरू नै यसमा सरिक हुन्छन् । टुहुरी भने खोर्लाङ र हिर्कोटलगायतका बस्तीहरूको ज्यादतीमाथि विद्रोह गर्ने निर्णय गर्छे र केही पटक भौतिक द्वन्दसमेत गर्दछे ।

टुहुरीकी परम मित्र बेली हो । बेलीको तर्फबाट न्यारेसन हुन्छ यसपछि । उसकी छोरी इलाखा । बेलीको पतिलगायत गाउँलेहरू अन्नको जोहो गर्न जाँदा डुम्रेको नजर बेलीमाथि पर्दछ । अझ बेलीकी छोरी इलाखामाथि पनि कुदृष्टि हाल्न थाल्दछ । बेली भने हुर्रामा विभिन्न जडिबुटी मिसाएर खुवाएर फरक तरिकाले बदला लिने योजना बुन्छे । 

जडिबुटीको ज्ञानका लागि योगिनीको सल्लोको सहारा लिनुपरेको छ । योगिनीको सल्लो भनेको एक विशेष किताब नै हो । यसमा नागलिपीमा कुराहरू लेखिएका छन् । पाठकले हेर्नको लागि यस लिपिका अक्षरहरू, चित्रहरू र जडिबुटीको वर्णन पनि दिइएको छ । लिपी नबुझे पनि काल्पनिकता विशेष छ । 

यसैबीचमा त्रिचाथात र अरू बस्तीहरूसमेत मिली लाकुमाथि आक्रमण गरी योगिनीको मन्तर निकाल्ने विशेष योजनाअनुसार सबै मान्छेहरूलाई बाँधेर सबै नङहरू निकाल्ने अनि बस्तीमा आगो लगाउने काम हुन्छ । बेलीले इलाखालाई लुकाएकी हुन्छे । इलाखा र बेली भागेर सर्पगुफा पुग्दछन् जहाँ योगिनीलाई पिछा गरेका त्रिचापिल्लले कुनै समय भेटेर पनि बध गरेका थिएनन् । 

यसपछि न्यारेटर डुम्रे बताउन थाल्दछ उसको भाग । उसले यत्तिकै ज्यादती गरेको होइन । योगिनी कल्याणकारी होइन भन्दछ ऊ । उसले ती बस्तीका वस्तुभाउ र नान्नानी चोर्ने र भोग लिने गर्दथी । यसैले बस्तीबाट वस्तुभाउ र नान्नानी गायब हुने गरेकोले बस्ती क्रुद्ध थियो । साथै डुम्रेको पिता पियक्कड र महिलामाथि हिंसा गर्ने खालको भएकोले आमाले आत्महत्या गरेको अनि हुर्राको लत बस्न थालेको प्रसङ्गहरूले डुम्रेको त्यस्तो अनुचित विकास समाजकै परिणति भएको लेखकको तर्क देखिन्छ यहाँ । 

डुम्रे टुहुरीसँग आक्रोशित छ तर बेलीलाई भने प्रेम गर्दछ । विधिविधानपूर्वक लाकुको विद्दे प्राप्त गर्ने निर्णय भइसकेको थियो । खोला तर्ने बेलामा भने टुहुरीलाई मृत देखेर अलच्छिन महसुस गरे । तैपनि सबै आइमाईहरू मारिए । तिनका नङहरू उखिलिए । अस्तुहरू जम्मा पारिए । बाँकी रह्यो योगिनीको अस्तु जुन सर्पगुफाभित्र थियो । त्यो लिन डुम्रे नै सर्पगुफा पस्दा उसले बेलीलाई देख्यो र उसको पनि बध गरिदियो । 

यसरी त्यहाँ खिलेको समूहले भेट्यो बेलीको लास र उसकी छोरी इलाखा । उनीहरू बेलीको सदगद गरेर इलाखालाई आफूसँगै लिइ अगाडि बढ्दछन् । दसपर्मको रीतिअनुसार लाकुका दुश्मन भए पनि हिर्कोट र मगडी जाने निधो गर्दछन् । 

कबिस कुनै दैवी शक्ति अथवा देउता हुन् । उनले यो सृष्टि गरेका हुन् । जीव रचना र मान्ठ रचना कबिसकै हो । किताबमा लेखिएको छ,- ‘’दलदलको माटो मुछेर कबिसले जनावर, कीट-पतङ्ग, चराचुरुङ्गीको बान्की बनाए । अनि सास फुकेर ती सप्पैलाई जीवन दिए । तर मानिसमा उत्पन्न खटपट र मनमुटावले गर्दा आजित भई कबिस अलप हुन्छन् ।’  

रिसाएका कबिसलाई खुसी पार्न विभिन्न अन्नपातसँगै बालिकाको बलि दिइने प्रचलन सुरु भयो र एवम् रीतले हिरीको बच्चीको पालो आयो । यसको प्रतिकारमा हिरी र उनका पति उत्रिए । बच्ची छान्ने साधन हिरीको पतिले जलाइदियो भने हिरीले बच्चीसँगै दलदलमा भासिएर आत्मदाह गरी ।

यसरी बन्यो त्यो हिरी दलदल । त्यो गाउँले हिरीको आँट स्वरूप हिर्कोट नाम पायो । उही हिरीको आत्मा जागेर योगिनी भई बदला लिएको तथ्य यहाँ उजागर भएको छ । अब आउँछ बान्टु कछुवा र टुटु हात्तीको कथा । उनीहरूको प्रेम । जनावरहरूबीचको संवाद । खेल । वैरभाव र मित्रताको लामो वर्णन । यसलाई टुहुरीको कथा भनिए पनि कुनै तारतम्य नमिलेकोले यो भाग भने अप्रासङ्गिक देखिन्छ ।
 
लाकु छोडेर जानेहरूमध्ये पाबु अबको न्यारेटर बन्छ । उसँगै बिजु र रुकु पनि गएका हुन्छन् खर्क ताकेर । पाबुले चिठी पठाएको टुहुरीले पहिल्यै उल्लेख गरेकी थिई । तर बीचमै बिजु मर्दछ र उसको लासलाई पाबुले पहाडबाट धकेलिदिँदा त्यो कुनै चराको काँधमा चढी गएको देख्छ । 
पाबुले आफ्नो कहानी बताउन थाल्दछ । 

उसलाई गँगटे नदीको किनारमा भेटिएको थियो । बिजुका आमा र बाले छोरो बनाई हुर्काए । एक दिन हुर्दुङ गाउँकी आइमाई आइपुगी र उनीहरूसँगै बस्न थाली । र, ऊ न्यारेटर भएर त्यो गाउँको विगत बताउन थाल्छे । खेतीपातीमा रमेको गाउँ । हुर्दुङ भन्ने रुखको पातकै आकार भएको । 

नजिकमा रुमाले गाउँ थियो । प्राकृतिक विपत्तिहरू अनेकौं आए त्यस बेला र रुमाले बस्ती त पहिरोले सखाप पारिदियो । खेतीबाली हुन छोड्यो । उसले यसै क्रममा अर्काको घरमा गई काम गर्नु परेको र घरधनीसँगै सम्बन्ध भई गर्भधारण गरे पनि जन्माउन नसकेको अनि अन्त्यमा रुमाले बस्तीको देबा भन्ने मान्छेले सहारा दिएको प्रसङ्ग सुनाई । 

देबा हुर्दुङको पातबाट आकर्षक चराहरू बनाउँथ्यो । आफू गर्भवती भएको बेला नरभक्षीहरू आएर देबालाई उसकै अगाडि काटेर पोलेर खाएको हृदयविदारक कहानी र अनि देबाको बच्चालाई सपनामा गँगटे खोलामा पातमाथि राखेर बगाएकोसम्म बताउँछे ऊ ।

ऊ पनि चरा बनाउन पोख्त छे । पाबुकै अगाडि चराहरू बनाउँछे पातबाट । अकस्मात् उनीहरू अँगालोमा बाँधिन्छन् र मनमनै पाबुले उसलाई आमा भनी पुकार्छ । ती चराहरू दलिनमा लुकाउँछ ऊ, तर एक दिन रुकुले चोरेर लगेको देख्दछ । यसरी यो किताब सकिन्छ । 

भावोत्तेजनाको यस्तो विकास यसरी फ्याट्ट सकिँदा म निराश भएँ । त्यसपछि मैले जेसन कुँवरबारे खोजी गर्न थालेँ । रमितेको वेबसाइट पुगेँ । उनका अन्तवार्ता हेरेँ । उनलाई सुनेँ । अनि मलाई उनको खुला हृदयले प्रशंसा गर्न मन लाग्यो । रमिते फगत किताब मात्र रहेनछ । उनको योजनाअनुसार यो सक्रिय पाठक वा दर्शकले खोजी गरेर अनुभव गर्न मिल्ने वा गर्नुपर्ने एउटा फरक प्रयोग रहेछ । किताबपछि कुनै संगीतको टुक्रा वा नाटक वा कला वा यस्तै सिर्जनामार्फत् यसलाई पूर्ण रूपले बुझिने मेरो ठहर रह्यो । 

तैपनि किताबको बारे भन्नुपर्दा यो मानव सभ्यता बाँच्ने क्रममा मानवीय सङ्घर्ष, मानव समुदायबीचको अन्तरसम्बन्धको साथमा अलौकिक दैवी शक्तिहरूको पनि गाथा हो । किताबभित्रका पृथक पक्षहरूमा विभिन्न चित्रहरू, लिपिहरू, मानक भाषाभन्दा पर तर रसिलो खालका शब्दहरूलाई मान्न सकिन्छ । 

अक्कास, जिमिन, दख्खिन, पछ्छिउँ, काम्फा भनिने बाजे र आकु भनिने मीत । अल्गो, पुन्यारो (पँधेरो), तुन्याडी (तन्नेरी) आदि शब्द आफैँले स्वाद दिन्छन् । खिले, सिक्रे, खुराल काका, डुम्रे, कल्त्स्ये, इलाखाजस्ता पात्रका नामहरू पनि राम्रै मेहनतबाट सिर्जित भएको देखिन्छ। अर्को भनेको प्रशस्तै गीतहरू, कविताहरू प्रयुक्त छन् किताबमा ।

जस्तै:

सुन, लौ सुन साँचो हो कथा
भ’को कुरो, होइन यो झुटा

नेपाली साहित्यमा यस खालका सिर्जना सायद कमै मात्र आउँछन् या रुचाइन्छन् । कल्पनाको बेजोड उडान भएको रमिते कुनै इतिहासको उत्खनन गरेजसरी लेखिएको छ । कथावाचनको शिल्पलाई हेर्दा विगत र वर्तमान मिश्रित रूपमा आएको र खण्ड खण्डमा न्यारेटर परिवर्तन भएकोले कहिलेकाहीँ पाठक झुक्किने सम्भावना पनि देखिन्छ । 

सुरुवातदेखि नै पाठकसँग परिचित भएको पात्र खिलेले दसपर्म पूरा गऱ्यो कि गरेन ? इलाखालाई लिएर उनीहरू कहाँसम्म पुगे ? पाबु फर्क्यो फर्केन ? जस्ता विषयमा अन्त्यसम्म निष्कर्ष नपाउँदा खल्लो लाग्न सक्छ । यिनीहरूलाई राम्ररी निप्ट्याउन भने लेखकले अलिकति कसरत नगरेका हुन् कि अथवा यसलाई जिज्ञासु पाठकले अन्य स्रोतबाट ग्रहण गरून् भनेर लेखकले छाडिदिएका हुन्।

यद्यपि सफल आख्यानकार उही हो, जसले नयाँ संसार निर्माण गर्दछ र त्यसभित्र पाठकलाई पूरै सहभागी गराएर यात्रा गराउँदछ । यस मामिलामा जेसन कुँवर सफल भएका छन् । एक तरिकाले यो कृतिको अझ व्यापक चर्चा हुनुपर्ने मेरो बुझाइ रह्यो । 

विचारणीय कुरा यो कृति कतै साहित्य क्षेत्रमा रहेको सिन्डिकेट अथवा द्वेषी माहौलको शिकार पो भएको हो कि ?

कुनै किताब लेखिन्छ र चीर कालपर्यन्त त्यसले एक खालको कथा भनिदिन्छ । कुनै परिवर्तन आउँदैन । तर रमितेको पठन यतिमै रह्यो भने त्यो अधुरो हुन्छ । यसमा जेसनको भनाइअनुसार रमिते-यात्रा गर्नुपर्दछ पाठकले । यस अर्थमा रमिते अग्रगामी लेखनको एक नमुना मान्दा अतिशयोक्ति नहोला । 
 

  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १५:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया