सेल्सबेरी डिमार्टमेन्ट स्टोरले नेपाली उत्पादनको स्टल पनि संचालनमा ल्याएको छ । सो डिपार्टमेन्टले ललितपुरको सातदोबाटोस्थित डिमार्टमेन्टमा एक कार्यक्रमको आयोजना गरी ‘मेड इन नेपाल’ नाम दिइएको नेपाली उत्पादनको २० वटा स्टल शनिबार (आजै) बाट संचालनमा ल्याइएको जानकारी गराएको हो ।
काठमाडौंको बत्तीसपुतली, महाराजगंज, पोखराको चिप्लेढुंगा, शान्ति नगर, लेकसाईडमा पनि सो सेवा एकसाथ संचालनमा ल्याइएको सो डिमार्टमेन्टका संस्थापक सुशील प्रधानाङ्गले जानकारी दिए । उनले नेपाली वस्तुको बजारीकरणका लागि आफूले संचालनमा ल्याएको डिमार्टमेन्ट स्टोरहरुमा सो स्टलको सेवालाई प्राथमिकताका साथ अघि बढाइएको बताए । प्रधानाङ्गले नेपाली उत्पादन पनि विश्व बजारका लागि उत्तिकै महत्वपूर्ण छ भनेर देखाउन सो स्टल उपयोगी हुने स्पष्ट पारे ।
२ महिनासम्म संचालनमा रहने सो स्टलमा नेपालका घरेलु उद्योगले उत्पादन गरेका बिस्कुट, चिया, अदुवा, मह, कस्मेटिकसहितका सामान रहेका छन् । नेपालका २० वटा कम्पनी र त्यसमा पनि घरेलु उद्योगका सामानलाई उच्च प्राथमिकताका साथ स्टलमा राखिएको पनि सो डिमार्टमेन्ट स्टोरले जनाएको छ ।
नेपाललाई आत्मनिर्भर बनाउने बाटोमा लैजान सो स्टलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले बताए । स्टलले नेपाली बस्तुको विश्व बजारमा प्रचार हुने तथा स्वदेशमै रोजगारी सृजना हुने र राजस्वमा पनि वृद्धि हुने उनले स्पष्ट पारे ।
महानिर्देशक श्रेष्ठले नेपाली वस्तु पनि गुणस्तरको छन भन्ने बुझाउन पनि सो स्टलले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।