बेलायतसँग ऐतिहासिक श्रम सम्झौता हुँदै, एमओयुको मस्यौदा एक साताभित्र तयार हुने
फाइल तस्वीर

सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग गरेको अनौपचारिक छलफल र शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी भएको हो । 

नेपालबाट श्रम, परराष्ट्र, कानुन मन्त्रालयर चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारी सम्मिलित पहिलो बैठकले एक साताभित्र श्रम सम्झौता (एमओयु)को मस्यौदा तयार गर्ने सहमति जुटेको छ । 

नेपाल र बेलायतबीच सरकारी स्तर (जीटुजी) बाट मात्र नेपाली नर्स रोजगारीका लागि बेलायत पठाउने सहमति भएको छ । नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्नेछ भने छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता पनि बेलायत सरकारले जनाएको छ । 

रोजगार सम्झौताको अवधि पाँच बर्षको हुने नेपालले प्रस्ताव गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्दैन । छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । 

यद्यपि, उक्त अवधिमा पनि सहायक नर्सका रूपमा रोजगारी भने सुनिश्चित हुनेछ । रोजगारदाता र कामदार स्रोत मुलुकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हित सुनिश्चित गर्ने प्रभावकारी उपाय मानिन्छ । बेलायतसँग हुने श्रम सम्झौता ऐतिहासिक उपलब्धि हो । 

मन्त्री श्रेष्ठले युरोपका उच्च आय हुने मुलुकहसँग पनि श्रम सम्झौता गरी नेपाली श्रमिक पठाइने बताए । श्रम सम्झौतापछि न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाको प्रत्याभूति हुनेछ । गन्तव्य मुलुकमा श्रमिकको आर्थिक, भौतिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी श्रम सम्झौतामार्फत् गर्न सकिन्छ ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १९:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया