व्यापारिक सहर धनगढीमा थपिँदै मार्ट

सुदूरपश्चिमको व्यापारिक सहर धनगढीमा मार्टहरु थपिनेक्रम बढ्दै गएको छ । मार्ट थपिएसँगै बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकले मुक्ति पाएका छन् । एउटै छानामुनि दैनिक उपभोग्य र घरायसी सामग्री सहज रूपमा उपलब्ध गराउन मार्ट खुलेका हुन् । 

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको छनोटमा मार्ट पर्न थालेका छन् । परम्परागत शैलीको व्यापार, व्यवसायलाई परिवर्तन गर्दै पछिल्लो समय ग्राहकको रोजाइ र समय बचत गराउन मार्टहरू सञ्चालनमा आउन थालेका व्यवसायीको भनाइ छ । 

पछिल्लो समय धनगढीमा ओम ट्रेड सेन्टर, चौलानी डिपार्टमेन्टल स्टोर, चौलानी मार्ट, भूमिराज मार्ट, साथी मार्ट हुँदै बिबी मार्ट सञ्चालनमा आएका हुन् । धनगढीको भर्जिन मार्केटलाई लक्ष्य गर्दै पछिल्लो समय काठमाडौंको भाटभटेनीले पनि शाखा सञ्चालनमा ल्याउन भवन निर्माण गरिरहेको छ । 

साथी मार्टले धनगढीमा आफ्नो चौथो शाखा विस्तार गरेको छ । शनिबार शाखा विस्तार गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा चौथो शाखा सञ्चालनमा ल्याएको हो । शाखाको सुदूरपश्चिका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले उद्घाटन गरे । 

डेढ करोडको लगानीमा साथी मार्टको चौथो शाखा विस्तार गरेका हो । युवा व्यवसायी प्रकाश शाहले ग्राहकको मागअनुसार नै मार्टको शाखा विस्तार गरेको बताए । धनगढी व्यापारिक केन्द्र भएको हुँदा यहा जनसंख्याको चाप बढी भएको हुँदा साथीले आफ्नो शाखा विस्तार गरेको बताए । 

साथी मार्टका देशभर ९० वटा शाखा सञ्चालनमा रहेका छन् । सुदूरपश्चिममा हाल धनगढीको उतरबेहडी, मिलन चोक र पहाडी जिल्ला दार्चुलाको एक स्थानबाट सेवा दिइरहेको छ । 



अबको एक वर्षभित्र करिब दुई सय शाखा विस्तार गर्ने योजना रहेको मार्टले जनाएको छ । जसमध्ये सुदूरपश्चिममा २५ स्थानमा शाखा सञ्चालनको तयारी थालिएको समेत शाहले जानकारी दिए । 

सातैवटै प्रदेशमा रहेको साथी मार्टका आफ्नो उत्पादनसमेत बिक्रि गर्ने गरेको छ । धनगढी प्रदेशकै प्रमुख व्यापारिक केन्द्र रहेको र यहाँ व्यापार, व्यवसायको अथाह सम्भावना रहेको बिबी मार्टका सञ्चालक हरिष चटौतले बताए ।



 ‘धनगढी प्रदेशकै ठूलो सहर हो,’ उनले भने, ‘यहाँ अब खुद्रा पसलभन्दा पनि मार्ट संस्कृतिको विकास भइसकेको छ ।’ यहाँका ग्राहकले समयको सदुपयोगका साथै सबै सामग्री एउटै छानामुनि खोज्न थालेकाले मार्ट संस्कृतिको विकास भइसकेको उनको बुझाइ छ ।  

‘देशकै पश्चिम कुनाको ठूलो सहर हो धनगढी,’ उनले भने, ‘यहाँ पनि डिपार्टमेन्टल स्टोर र मार्टको खोजीमा ग्राहक छन्, त्यही भएर हामीले पनि मार्ट सञ्चालनमा ल्यायौं ।’ 

एकपछि अर्को गर्दै मार्ट खुल्न थालेको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

उनले भने, ‘पछिल्लो समयमा धनगढीमा मार्ट संस्कृतिको विकास हुन थालेको छ, जसले गर्दा यहाँका ग्राहकलाई सुपथ मूल्यमा सामान किन्न पाउनेछन् ।’ प्रतिस्पर्धी मार्ट भएमा ग्राहकलाई टेवा पुग्ने बताउँदै उनले भने, ‘एउटै छानामुनि सस्तोमा सबै सामग्री पाउने भएपछि उपभोक्तालाई सामान किन्न बजार डुल्ने समय र इन्धनको बचत हुनेछ ।’ 
 
धनगढी आधुनिकतातिर ढल्कदै गर्दा यहाँ मार्टहरू पनि सञ्चालनमा आउन थालेको उनले बताए । ‘परम्परागत व्यापार, व्यवसायलाई परिमार्जन गर्दै अहिले उनीहरू नै आधुनिकतातिर लम्किरहेका छन्,’ उनले भने, ‘ठूला व्यापार, व्यवसायका साथै मार्ट तथा डिपार्टमेन्टल स्टोर स्थापना हुन थालेका छन् ।’ मार्टमा महँगो हुन्छ भन्ने ग्राहकको बुझाइ विस्तारै परिवर्तन हुन थालेको बताउँदै बिबी मार्टका अर्का सञ्चालक दिपेन्द्र ऐरले भने, ‘मार्टमा महँगोभन्दा पनि खुद्रा पसलभन्दा सस्तो पर्ने भएकाले ग्राहको रोजाइमा पर्न थालेको हो ।’ त्यही भएर पनि आफूहरूले मार्ट संस्कृतिको विकास गर्न र ग्राहकको रोजाइलाई ध्यानमा राख्दै सञ्चालन गरेको उनले बताए ।

प्रदेशको एक मात्र धनगढी उपमहानगरमा पछिल्लो सयम जनसंख्याको चाप बढेसँगै व्यापारव्यवसाय गतिविधि समेत बढेको व्यवसायीको तर्क छ ।

  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार २१:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया