नेपालकाे आर्थिक अवस्था झनझनै बिग्रिँदै

नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता अझ बिग्रिँदै गएको तथ्याङ्क बाहिरिएको छ । 

गत बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो । 

राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्क अनुसार अर्थतन्त्रको बाह्य क्षेत्रहरू बिग्रिँदै गएको देखिएको हो । मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् । 

मुलुकमा भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने २ खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।

चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा १५० अर्ब शोधनान्तर घाटा रहेको थियो । तर, पछिल्लो एक महिनाको अन्तरमा मात्रै ४५ अर्ब रुपैयाँले शोधनान्तर घाटा बढेको हो । ५ महिनाको अवधिमा ४५ अर्बले शोधनान्तर घाटा बढेर शोधनान्तर स्थिति १९५ अर्ब घाटामा गएको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षमा लगातार रूपमा शोधनान्तर घाटामा गइरहेको छ ।  

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको छ। 



चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा चालू खाता ३ खर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालू खाता चालू आवको ५ महिनामा २ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ ।

मंसिरसम्ममा पूँजीगत ट्रान्सफर २.४ प्रतिशतले घटेर ४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । त्यस्तै, पछिल्लो समय नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भएको छ । ५७ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।



त्यस्तै, विदेशी मुद्राको सञ्चिति पनि चालू आर्थिक वर्षमा निरन्तर रूपमा घटिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको  विवरण अनुसार मंसिरसम्म सञ्चिति १२ खर्ब १४ अर्ब ३ करोडमा झरेको छ । अघिल्लो महिनाभन्दा सञ्चिति ३० अर्ब ८२ करोड रुपैयाँले घटेको छ ।  

चालू आवमा मात्र सञ्चिति १ खर्ब ८५ अर्ब रुपैयाँले घटेको तथ्याङ्कले देखाएको छ । नेपालमा विदेशी मुद्रा सञ्चिति कुनै समय बढेर १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । त्यस हिसाबले अहिलेसम्म २ खर्ब ९२ अर्ब रुपैयाँले घटिसकेको छ । कोरोना महामारीको समयमा समेत नेपालमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो ।

त्यस्तै चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स ६.८ प्रतिशतले घटेको छ । गत कात्तिक महिनाको तुलनामा मंसिरमा बढेपनि गत वर्षको सोही अवधिको भन्दा घटेको छ । 

गत कात्तिक महिनामा ७३ अर्ब १० करोड भित्रिएको रेमिटेन्स मंसिरमा ७६ अर्ब १६ करोड भित्रिएको छ । यद्यपि गत वर्षको मंसिरमा ७९ अर्ब ९ करोड रुपैयाँ भित्रिएको थियो ।

यसरी चालू आर्थिक वर्षको ५ महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको मासिक तथ्याङ्क अनुसार मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको हो । रेमिट्यान्स गत साउनयता लगातार घटिरहेको छ । 

रेमिट्यान्स गत साउनमा १८.१, भदौमा ६.३, असोजमा ७.६, कात्तिकमा ७.५ र मंसिरमा ६.८ प्रतिशत घटेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई २ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशत बढेको थियो ।

तर, यता चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकअनुसार निर्यात १०५.६ प्रतिशतले बढेर १०२ अर्ब ९२ करोडले निर्यातमा वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । तथ्यांक अनुसार भारतमा १३८ तथा अन्य मुलुकतर्फ हुने निर्यात २८.५ प्रतिशतले वृद्धि भएको छ । अन्य गन्तव्यको निर्यातमा वृद्धि हुँदा चीनतर्फको निर्यातमा १.४ प्रतिशतले कमी आएको छ ।

त्यस्तै, आर्थिक वर्षको पाँच महिनामा कूल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई ८३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकको आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ ।

चालू आवको पाँच महिनामा कूल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई ७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात/आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।

यता, चालू आर्थिक वर्षको पाँच महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी (कर्जा प्रवाह) ११.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.९ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी वृद्धिदर ३०.१ प्रतिशत छ ।

त्यस्तै, चालू वर्षको मंसिर महिनामा नेपालको मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) ७.११ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोहि महिनाको तुलनामा ४.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७७ को मंसिरमा नेपालको मूल्य बृद्धिदर २.९३ प्रतिशत रहेको थियो ।

  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १२:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया