सीमा सुरक्षा गर्न काँडेतार

टापु भएको देशको बाहेक जुनसुकै देशमा सीमा समस्या हुन्छ । जुन स्वाभाविक हो । र, देश भनेको पछि बनेको हो । 

यसो भनिए पनि अहिलेको समयमा सीमा विवाद बारम्बार देखिनु राम्रो होइन । जुनसुकै विवादको समाधान हुन्छ । आँखाले प्रष्ट देखिने सीमा विवादको समाधान गर्न सकिन्छ ।

नेपालको उत्तरतिर कठिन भूगोलका कारण पनि राजा महेन्द्रको पालामा नेपाल-चीन सीमा सन्धि भयो र सन्धिअनुसार १०० वटा पिलर बन्यो । कठिन भूगोलका कारणले हाम्रो तर्फबाट निगरानी हुन नसकेको कुरा एउटा हो तर टड्कारो रूपमा देखिने गरी सीमा विवाद भने छैन । 

हुम्लाको जो विषय चर्चामा छ, अहिले त्यहाँ पनि शान्त छ । सर्भे गर्ने टिम दुई देशबाट गएर के-के ‘अलाइन्मेन्ट’ थियो ? पहिलेको दस्तावेज हेरेर गर्न सकिन्छ ।

तर, दक्षिणतर्फ भने विवादै विवाद देखिन्छ । लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद त भइहाले । सुस्ताको पनि विवाद छ । अरू थुप्रै ठाउँमा विवाद छ । पछिल्लो समय कालापानी र सुस्ताबाहेक धेरै ठाउँको त ‘स्ट्रीप म्याप’ तयार गर्दैछ, दुवै देशको प्राविधिक समूहले । जुन स्वीकार्नुपर्छ हामीले ।

केही नमिलेका कुरा होलान् । नेपालीको जमिन भारतमा र भारतीयको जमिन नेपालमा ‘स्ट्रीप म्याप’ बनाउँदा परेको पाइन्छ ।
 
धेरै ठाउँमा त दशगजा नै स्पष्ट छ । केहीमा विवाद भएको हो । र, कालापानी, सुस्ताको विवाद कूटनैतिक तवरबाट छिटोभन्दा छिटो समाधान हुनुपर्छ ।



दुई देशको सीमा सन् १९५० को सन्धीअनुसार खुला हुनुपर्छ भन्ने त कहीँ छैन । त्यही भएर सुरक्षाको हिसाबले सीमा सँधैभरि खुला रहने विषय होइन । खुला भइरहँदा शान्ति सुरक्षालगायतमा समस्या आउँछ । हुन त खुला सीमाको फाइदा पनि होलान् । जस्तोः रोजगारका लागि भारत जाने र दैनिक व्यापार व्यवसायका लागि सीमावर्ती क्षेत्रका नेपाली भारतमा निर्भर हुने ।
 
तर, पूर्व-पश्चिमको सीमा सँधै खुला राख्दा जति सुरक्षाकर्मी भए पनि पुग्दैन । त्यही भएर तारबारको कुरा उठ्नु स्वाभाविक हो । जसरी पहिले भारतको पाकिस्तान र बंगलादेशमा पनि खुला थियो । अहिले  भारतले तारबार लगाएको छ ।

नदी भएको क्षेत्रमा तारबार लगाउनुपर्ने अवस्था छैन । निगरानी मात्रै गरे हुन्छ । तर, तराईको दक्षिण भागको केही स्थानमा दुइटै देशको सहमतिमा तारबार लगाइयो भने मानिसहरू छिर्न सक्दैनन् र सुरक्षाकर्मी कम भए पनि हुन्छ । 



अनि, प्रत्येक जिल्लामा नाका छन् । ठूला-साना नाकालाई व्यवस्थित गर्नुपर्छ । अहिले हाम्रो सीमामा गएर हेर्‍याैँ भने पूर्वदेखि पश्चिमसम्मै अस्तव्यस्त खालको नाका छ ।

सीमा व्यवस्थापन यस्तो खालको पनि हुन्छ र भन्ने देखिन्छ । रसुवागढी र खासामा अलिक व्यवस्थित छ । तर, दक्षिणी सीमा नाका कृष्णनगर र भैरहवामा हेर्‍याैँ र त्यहाँको मानिसहरूको ओहोरदोहोर हेर्‍याैँ भने अधिक समस्याग्रस्त छ भन्ने भान जो कोहीलाई हुन्छ ।

हुन त त्यहाँ ‘इन्टिग्रेटेड चेक ट्रस्ट’ बनाउने भन्दै छ, दुई देशले । त्यो पनि त्यति प्रभावकारी होला जस्तो लाग्दैन । नाकालाई त व्यवस्थित गर्नैपर्छ । नेपालमा दिनमा ४-५ सय सवारी भारतदेखि सामान बोकेर आउँछन् । अब, ती गाडीलाई ‘म्यानुअल्ली’ चेक गर्न हजारौँ सुरक्षाकर्मी खटिए पनि गाह्रो हुन्छ । मतलव अब, ठुल्ठूला नाकामा प्रविधिको पनि प्रयोग गर्नुपर्छ।

एक्स-रे मेसिनको विकास भएको छ । त्यसको माध्यमबाट सम्बन्धित निकायले त मेसिनबाटै हेर्न सक्छन् । अहिले त मैले सामान यो ल्याएँ भन्ने भरमा चेक गरेका छौँ । ओरालेर चेक गर्न सकिएको छैन ।

यसरी सुरक्षामा सम्झौता भइरहेको छ । अब, काँडेतार लगाउन पनि कुटनैतिक तहबाट सहमति गर्नुपर्‍याे । तर, त्यसो नभएको र खुला सीमा भएको अवस्थामा भने सुरक्षाकर्मीको उपस्थितिलाई बाक्लो बनाउनुपर्छ । अहिले आँखाले होइन, कैयौँ खालको आधुनिक सिसिटिभी क्यामेरा आएका छन् । त्यसलाई प्रयोग गर्नुपर्छ । 

राष्ट्रको सीमा र नागरिकको सुरक्षामा महंगो हुन्छ र खर्चिलो हुन्छ भनेर सरकारले लगानी नगर्न पाउँदैन । जति लगानी लाग्छ, सरकारले लगानी गर्नुपर्छ । आवश्यकताअनुसार क्यामेरा राख्ने, एक्स-रे मेसिन आवश्यकताअनुसार राख्नुपर्छ । सीमा सुरक्षामा लगानी गर्न सरकारले हिच्किचाउनु हुँदैन ।

सीमामा सडक बनाउनुपर्छ । अहिलेसम्म सीमा क्षेत्रहरूमा सडक छैन । जिल्ला सदरमुकाममा मात्रै छ । बर्खाको बेलामा त आवागमन नै ठप्प छ । 

अर्कोतिर, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई त्यही खालको ब्यारेक र त्यही खालको लत्ताकपडाको व्यवस्था हुनुपर्छ । सम्झिऔँ न, अहिले हिल्सा, किमाथाङ्का र ओलाङ्चुङगोलामा कसरी बसेका होलान् सुरक्षाकर्मी ? बढो मुस्किल छैन होला ? 

मुस्किल साथ देशका रक्षा गर्ने रक्षकहरूलाई त्यही खालको सेवा सुविधा प्रदान गरिनुपर्छ । दयनीय हिसाबले सीमामा राख्नु भएन । हामी सानो छौँ, हाम्रो देश गरिब छ भनेर बिजोक ढंगले राख्नु हुँदैन ।

त्यसले त मनोबलमा असर गर्छ । सुरक्षामा असर गर्छ । त्यही भएर आवश्यकीय सामग्रीको तुर्जमा हुनुपर्छ । सुस्ता, कालापानीको अन्तहीन समस्याको रूपमा जसरी राखेका छौँ, त्यसको छिटोभन्दा छिटो कूटनीतिक तवरबाट समस्या समाधान गर्नुपर्छ ।

फरकधारकर्मी जङ्ग तामाङसँगको कुराकानीमा आधारित 

  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १६:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया