अमरिकाको टेक्सास राज्यको डलास सहरमा बन्धक बनाइएका चारजना यहुदीलाई मुक्त गराइएको छ । कोलिविलको यहुदीको पूजा स्थल सिनगोगमा उनीहरुलाई बन्धक बनाइएको थियो ।
प्रहरीसँग १० घण्टा चलेको गतिरोधपछि उनीहरुलाई त्यहाँबाट सुरक्षित निकालिएको हो। बन्धकमा सिनगोगका रब्बी पनि सामेल थिए।
यसअघि प्रहरीको विशेष टिम त्यहाँ तैनाथ गरिएको थियो । एफबिआईका नेगोसिएटर्सले पनि आक्रमणकारीसँग कुराकानीमा घण्टौँ लगाएका थिए ।
प्रहरीका अनुसार आक्रमणकारीको मृत्यु भएको छ । तर, मृत्यु कसरी भयो भन्ने जानकारी प्राप्त नभएको जनाइएको छ । घटना शान्त हुनु अघि विस्फोट र गोलीको आवाज सुनिएको थियो ।
स्थानीय सञ्चारमाध्यमलाई कानुन प्रवर्तन अधिकारीहरुले बताएअनुसार बन्धक बनाउनेहरुले पाकिस्तानी न्युरोसाइन्टिस्ट आफिया सिद्दीकीको रिहाइको माग गरेको पनि सुनिएको थियो ।
आफिया अहिले अमेरिकामा ८६ वर्षको जेल सजाय काटिरहेका छन् । अफगानिस्तानमा एक अमेरिकी सैन्य अधिकारीलाई मार्ने कोसिसको आरोपमा आफिया दोषी ठहर भएका थिए ।
इजरालयका प्रधानमन्त्री नफ्ताली बेनेटले यस घटनाबारे यहुदी समुदायलाई सम्बोधित गर्दै भनेका थिए, ‘म कोलिविल र विश्वभरका यहुदीलाई भन्न चाहन्छु कि तपाईं एक्लै हुनुहुन्न हामी तपाईंको साथमा खडा छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।