२५ पुसको दिउँसो । ९ वर्षीया प्रमिला (परिवर्तित नाम) बाख्रा चराउन गाउँकै खाली खेततिर गएकी थिइन् । उनीसँगै गोठाला थिए, गाउँले दुई महिला र दुई पुरुष । बाराको आदर्श–कोतवल गाउँपालिका–८ का उनीहरु सधैँजसो सोही स्थानमा बस्तु चराउन जाने गर्थे । पुसको महिना भए पनि टन्टलापुर घाम लाग्दा गोठालाहरु तिर्खाए । उनीहरूले गोठालामध्ये सबैभन्दा सानी प्रमिलालाई पानी लिन पठाए । आफूभन्दा ठूलाको आज्ञा पालना गर्दै उनी केही पर रहेको सन्तोष साह कानुको कुखुरा फर्मको छेउमा पानी लिन गइन् ।
अन्य दिन पनि पानी खानका लागि गोठालाहरु त्यहीँ जाने गर्थे । सन्तोषका दुईवटा कुखुरा फर्म छन् । दुवै खेतमै छन् । एउटामा कुखुरा भरिभराउ छ । अर्को खाली छ । त्यहाँ दिउँसो र राति कुखुरा रुँग्न २० वर्षीय सन्तोष बस्छन् ।
सन्तोषको बयान उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राकेश थापाले बताएअनुसार प्रमिलाले त्यही फर्मको नजिक रहेको कलमा पानी खाइन् । समय त्यस्तै दिउँसोको १ बजेको थियो । आफूले पानी खाएपछि उनले अन्य गाठालाहरुका लागि पानी थापिन् र त्यहाँबाट हिँड्न लागिन् । सन्तोषले उनलाई बोलाए । प्रमिला फर्किएर आइन् । सन्तोषले उलाई फर्मभित्रै बोलाए । अबोध बालिका प्रमिला भित्रै गइन् ।
एक्कासि सन्तोषले जबर्जस्ती करणी गरे । प्रमिला चिच्याइन् । मानिसहरूले थाहा पाउने डरले सन्तोषले लगत्तै बालिकाकै स्कार्फले उनको घाँटी कसिदिए । बालिका बेहोस भइन् ।
त्यसपछि सन्तोषले फर्मको भित्तामा लगेर फरुवा (कोदालो)को पासोले तीनपटक प्रहार गरे । प्रमिलाको ज्यान गयो ।
तिर्खा लागेपछि पानी लिन गएकी प्रमिला आपराधिक मनोवृत्तिबाट प्रेरित सन्तोषको पञ्जामा परिन् र ज्यान गुमाइन् । उता, गाईबस्तु चराउन सँगै गएका चारजना पानीको पर्खाइमा थिए । प्रमिलाको पर्खाइमा थिए । तर, त्यही पानी लिन जाँदा प्रमिलाले भने मृत्युवरण गरिसकेकी थिइन् ।
अपराध लुकाउने आमा–छोराको त्यो प्रयास
सन्तोषकै बयान उद्धृत गर्दै डिएसपी थापाले थप बताएअनुसार हत्यापछि सन्तोषले फर्ममै रहेको बोरामा प्रमिलाको शव हाले । जसबारे आमा शान्तिदेवीले थाहा पाइन् र गाली गरिन् । तर, नगर्नु अपराध गरिहाले भन्दै घटनाको प्रमाण नष्ट गरेर छोरालाई बचाउनतिर लागिन् ।
प्रमिलाको भुइँमा बगेकोे रगत माटोले पुरिन् । फरुवामा लागेको रगत कलको पानीले पखालिन् । प्रमिलाको जुत्ता घरदेखि करिब ७ सय मिटर पर रहेको गण्डक नहरमा फालिदिइन् । यसरी आमा शान्तिले घटनाको दसी प्रमाण नस्ट गरिरहँदा घरदेखि उत्तरपट्टि रहेको जमुनी खोलामा सन्तोषले प्रमिलाको शव फाले । यो मानवीय चहलपहल नहुने क्षेत्र हो ।
उता, सँगै गोठाला गएकाहरू भने बेलुकी पखसम्मै प्रमिलाको पर्खाइमै थिए । तर, नआएपछि उनीहरूले प्रमिलाले चराउन लगेका बाख्राहरू घर ल्याइदिए ।
डिएसपी थापाले फरकधारसँग भने, ‘गोठालाहरूलाई प्रमिला घर गएको भन्ने लागेको रहेछ । तर, घरमा पुग्दा नदेखेपछि हल्लाखल्ला मच्चिएछ । त्यसपछि प्रहरीमा आयो । घरका सदस्य, गाउँले, गोठाला र हामीले खोज्यौँ २५ र २६ गतेसम्म । तर, भेटेनौँ । भोलिपल्ट २७ गते साढे १२ बजेतिर भने जमुनी खोलामा तैरिरहेको अवस्थामा प्रमिलाको शव गाउँलेले फेला पारे ।’
यसरी पुग्यो प्रहरी आरोपितसम्म
शव भेटिएपछि भने घटनामा संलग्नको पहिचान गर्नु थियो, प्रहरीलाई । त्यसका लागि पहिले त ‘क्लु’ थाहा पाउनु थियो ।
डिएसपी थापाले बताएअनुसार त्यसका लागि प्रहरीले सबैभन्दा पहिले गोठाला गएकाहरूसँग बयान लियो । सो क्रममा सोधिएका प्रश्नहरू यस्ता थिए– प्रमिला पानी लिन गएको कता हो ? पानीको मुहान कहाँ–कहाँ छन् ? लिन गएको कतिबेला हो ?
गोठालाहरूले प्रमिला पानी लिन गएको दिशा, समय र त्यस दिशामा पर्ने पानीको मुहानबारे बयान दिए । भनेअनुसार प्रहरी टोली अघि बढ्यो र फेला पार्यो पानीको कल । जुन सन्तोष साह कानुको कुखुरा फर्मनजिकै छ । अर्को कल भने त्यहाँदेखि अलिक टाढा रहेको एउटा इँटाभट्टामा छ ।
प्रहरीले सन्तोषलाई उनकै कुखुरा फर्ममा रहेको कलमा प्रमिला पानी लिन आएको शंकाको आधारमा नियन्त्रमा लिएर सोधपुछ गरे । पटक–पटक उनले संलग्नता अस्वीकार गरे ।
जतिबेला प्रहरीलाई सकस परेको डिएसपी थापाले बताए । त्यसपछि प्रहरी प्रमाण जुटाउनतिर लाग्यो । नभन्दै कुखुरा फर्मको उत्तरपट्टि एउटा शंकास्पद बोरा फेला परेकोे थापा बताउँछन् ।
‘त्यो बोरामा रगत लागेको जस्तो देखिन्थ्यो । प्रमाणित गर्न भनेर बोरालाई विधि विज्ञान प्रयोगशाला काठमाडौं पठायौँ’, थापाले भने, ‘प्रयोगशालाबाट रगत भएको प्रमाणित भयो ।’
तर, पनि सन्तोष र उनकी आमा घटनामा संलग्नता स्वीकार गर्न तयार भएनन् । नभएपछि प्रहरीले शनिबार मात्रै पोलिग्राफ परीक्षण गरे । परीक्षण गर्दा उनीहरूको संलग्नता पुष्टि भएको डिएसपी थापाले बताए ।
यससँगै बारा प्रहरी प्रमिलाको बलात्कारपछि हत्या घटना सन्तोषबाट भएको र आमा शान्ति आपराधिक घटनाको दसी प्रमाण मेटाउने र घटनाको मतियार बनेको निष्कर्षमा प्रहरी पुगेको छ ।
यस आधारमा प्रहरीले सन्तोषविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत बारामा अभियोजन गरेको छ । अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान पनि थालेको छ । आमा शान्तिदेवीविरुद्ध पनि घटनामा मतियार बनेको आरोपमा प्रहरीले मुद्दा दर्ता गराएर अनुसन्धान थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।