कोरोनाको तेस्रो लहर : यस्तो छ प्रदेश १ सरकारको तयारी

कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि प्रदेश १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई चुस्त दुरुस्त बनाउन थालेको छ ।

गम्भीर अवस्थाका संक्रमितको संख्या कम भए तापनि सम्भावित खतरालाई मध्यनजर गर्दै अस्पतालहरूलाई तयारी अवस्था रहन भनिएको सामाजिक विकास मन्त्री जयराम यादवले बताए ।

उनका अनुसार सरकारी अस्पतालमा रहेका औजार उपकरण र जनशक्ति चुस्त दुरुस्त बनाउन निर्देशन दिइएको छ ।

दरबन्दी अनुसारका चिकित्सक र कर्मचारी अभाव रहे पनि करारमा चिकित्सक र कर्मचारी थप्ने कामको शुरुवात गरिएको यादवले बताए ।

कोरोना संक्रमणसँग लड्नका लागि प्रदेश सरकारले तयारी थालेको बताउँदै मन्त्री यादवले कोरोना जनसुरक्षा कोषमा बजेट नभएकोले प्रदेश सरकारले त्यसमा पर्याप्त रकम हालेर नागरिकको सुरक्षामा ध्यान दिने बताए ।

अस्पतालमा उपकरण अहिले तयारी अवस्थामा राखिएको, अक्सिजन प्लान्ट थपिएको भेन्टिलेटर पनि आवश्यक संख्यामा रहेको मन्त्री यादवले बताए ।



प्रदेश सरकारले पहाडी जिल्लाहरू धनकुटा, पाँचथर, इलाम, उदयपुरमा पठाएको भेन्टिलेटर सञ्चालनमा समेत प्रदेश सरकारले तयारी थालेको छ । यसका लागि आवश्यक पर्ने जनशक्ति पठाउने तयारी भइरहेको मन्त्री यादवले बताए ।

कोरोना संक्रमण बढेर गम्भीर खाले बिरामी भए भेन्टिलेटर आवश्यक पर्ने भएकाले प्रदेश सरकारले पठाएको भेन्टिलेटर सञ्चालनको तयारी भएको हो । जडान भइसके पनि जनशक्तिको अभावमा ती अस्पतालमा भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन् ।



यस्तै कोसी कोभिड अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट जडान गरिएकाले पहिलेजस्तो अक्सिजनको समस्या नहुने दाबी मन्त्री यादवको छ ।

'हामी प्रदेशमा अक्सिजनको अभाव हुन नदिन लागेका छौँ,' मन्त्री यादवले भने, ‘तत्कालै आत्तिनु पर्ने अवस्था छैन । हामीसँग भेन्टिलेटर र बेडहरु तयारी अवस्थामा राखिएको छ ।’

अवस्था भयावह भएको अवस्थालाई ध्यानमा राखेर सबै जिल्ला अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ ।

प्रदेश १ मा स्वास्थ्य क्षेत्रका कर्मचारी कमी भएको कारण त्यसले समस्या हुनसक्ने आँकलन गरिएको छ । अहिले स्वास्थ्य क्षेत्रका ४७ प्रतिशत मात्र कर्मचारीको भरमा चलाउनु परेकोले समस्या भएको उनको गुनासो छ ।

प्रदेशमा स्वास्थ्य क्षेत्रमा अहिले ५३ प्रतिशत कर्मचारीको अभाव छ । यो अभाव पूर्ति गर्न प्रदेश लोकसेवा ऐन संशोधनको तयारी भएको मन्त्री यादवले बताए ।

प्रदेश लोकसेवा ऐनमा स्वास्थ्य भन्ने शब्द नराखिँदा प्रदेश लोकसेवाले स्वास्थय क्षेत्रमा कर्मचारीको भर्ना प्रक्रिया शुरु गर्न सकेको छैन । ऐन संशोधनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मुख्य सचिवसँग कुरा भइसकेकाले चाँडै ऐन संशोधन हुने यादवले विश्वास गरे ।

ऐन संशोधन भए प्रदेशमा स्वास्थय क्षेत्रमा देखिएको कर्मचारी अभावको समस्या हटेर जाने मन्त्री यादवले दावी गरे ।

संक्रमण बढ्दो, अस्पताल भर्ना न्यून

प्रदेश १ मा कोरोना संक्रमणदर बढे पनि अस्पताल आउनेको संख्या न्यून रहेको छ । संक्रमतिको संख्या बढ्दै जाँदा अस्पताल आउनेको संख्यामा भने उल्लेख्य वृद्धि भएको देखिन्न ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म प्रदेशका विभिन्न अस्पतालमा आएर उपचार गराउनेको संख्या जम्मा ५३ जना मात्र रहेका छन् । २ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

सामाजिक विकासमन्त्री यादवका अनुसार पछिल्लो केही दिनयता कोरोनाको संक्रमण बढेको भए पनि ओमिक्रोन भेरियन्टका संक्रमित प्रदेश १ मा देखिएका छैनन् ।

संक्रमण बढ्दै जाँदा नागरिकसम्म खोप पुर्याउने अभियानलाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आजसम्म कुल जनसंख्याको ७३ प्रतिशतले खोप लगाएको मन्त्री यादवले जानकारी दिए । ‘प्रदेश १ मा करिब ७० प्रतिशतले खोप लगाइसकेका छन्', उनले भने, ‘दुवै डोज खोप लगाउनेको ५३ प्रतिशत छन्, बाँकीलाई अहिले पनि लगाउने काम जारी रहेको छ ।’

प्रदेश १ मा खोपको अभाव नभएको दाबी गरेका सामाजिक विकास मन्त्री यादवले १८ वर्ष उमेरभन्दा माथिका सबैलाई पुग्ने पर्याप्त खोप रहेको बताए । ‘१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको छ’, ‘उनले भने, 'यो उमेर समूहका बालबालिकालाई यही हप्तादेखि लगाउने छौँ । माघ महिनाको दोश्रो साताभित्र प्रदेश १ मा बुस्टर डोज खोप लगाउन थाल्नेछौँ ।’

उनले हिमाली र पहाडी जिल्लाको तुलनामा तराई र सहरमा खोप लगाउनेको संख्या न्यून रहेको बताए ।

भीडभाड व्यवस्थापनमा चुनौती

प्रदेश १ को राजधानी विराटनगर पछिल्लो समय तेस्रो लहरको 'हटस्पट'को रूपमा विकास हुँदैछ । दैनिक १५० बढी संक्रमित राजधानी विराटनगरमा नै देखिन थालेपछि अहिले कोभिडको हटस्पट बन्ने सम्भावना बढेको हो । संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ र सुनसरी रेडजोनमा परेको छ । यसबाट पनि संक्रमणदर उच्च रहेको देखिन्छ ।

यसरी एकाएक कोरोना संक्रमणको दर बढ्नुको कारण भनेको भीडभाड रहेको विज्ञहरूले बताएका छन् । मास्क अनिवार्य, हिँडड्ल गर्दा सावधानी अपनाउने, भिडभाड नगर्ने, सार्वजनिक सभा-समारोह नगर्ने, गर्नै परेपनि दुरी कायम गरेर २५ जनाभन्दा बढी गर्न नपाउने भनिए पनि भिड व्यवस्थापन नहुँदा कोभिड संक्रमणको दर बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले बताए ।

‘हामीले संक्रमण फैलिन नदिनको लागि सावधानी अपनाउन भनेका छौँ, उनले भने, नागरिक सचेत देखिएका छैनन्, जसको कारण समुदायमा संक्रमणको दर बढ्दो छ ।’

तत्काल लकडाउन गर्न सक्ने अवस्थामा सरकार देखिएको छैन । स्थानीय प्रशासन पनि सकभर नागरिकको सुरक्षाका लागि सावधानी नै महत्त्वपूर्ण हुने बताउँदै आएको छ । स्वास्थ्यकर्मी पनि कोभिडको रोकथाम नियन्त्रणको उपयुक्त उपाय भनेको सावधानी नै हुने बताउँछन् ।

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १३:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया