मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा
प्रतीकात्मक तस्वीर

मधेस प्रदेश सरकारले प्रदेशमा मंगलबार र बुधवार सार्वजनिक बिदा दिएको छ । 

सोमबार प्रदेशसभामा मतदानद्वारा प्रदेशको नाम र स्थायी राजधानी आएपछि आज र भोलि बलिदानी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । 

दुइतिहाई बढी मतद्वारा स्थायी राजधानी जनकपुरधाम र प्रदेशको नाम मधेस प्रदेश कायम भएकोले आज बिदा दिइएको हो । 

त्यस्तै, भोलि ५ माघमा बलिदानी दिवस भएकोले बिदा रहेको छ । 

मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहिदको सम्झनामा पहिलोपटक सिरहाको लहानमा, दोस्रोपटक पर्साको वीरगञ्जमा र तेस्रोपटक धनुषाको जनकपुरधाममा बलिदानी दिवस मनाएको मधेस सरकारले यसपटक भने सप्तरीको सदरमुकाम राजविराजमा मनाउन लागेको छ ।

मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहिद परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।



भोलि मनाइने बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई जनही ३ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइने अर्थमन्त्री साहले जानकारी दिए । 

विभिन्न समयमा भएका मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ५७ जनाको परिवारलाई मधेसी सहिद प्रतिष्ठानको सिफारिसबमोजिम सरकारले जनही ३ लाखका दरले आर्थिक सहयोग प्रदान गर्ने मन्त्री साहले बताए । 



उनले सहिद परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रदान गर्न लागिएको जानकारी दिए ।

मधेस आन्दोलनका क्रममा घाइते भएकालाई पनि आर्थिक सहयोग उपलब्ध गराइने मन्त्री साहले बताए । उनले घाइतेको अवस्था हेरी २५ हजारदेखि ३ लाखसम्म रकम प्रदान गरिने जानकारी दिए ।

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १६:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया