भक्तपुरका औषधि तथा किराना पसलमा अनुगमन, चरम लापरबाही भेटियाे

भक्तपुर– जिल्लाका विभिन्न औषधि पसलमा भएको अनुगमनका क्रममा औषधि पसलले व्यापक लापरबाही गरेको पाइएको छ । 

भक्तपुर नगरपालिकाले भक्तपुर अस्पताल, मानव अङ्ग, क्यान्सर अस्पताल रहेको दूधपाटी क्षेत्रमा सञ्चालित १० वटा औषधि पसलमा गरेएको अनुगमनका क्रममा औषधि पसल सञ्चालकले मानवीय स्वास्थ्यमाथि खेलबाड गर्दै लापरबाहीपूर्ण ढंगले पसल सञ्चालन गरेको पाइएको हो । 

अनुगमनका क्रममा सिद्धपोखरी क्लिनिक, डोलेश्वर फर्मा, अल्फाज मेडिकल हल, भक्तपुर अस्पतालको बिमाको औषधि दिने पसलसमेत दर्ता नगरी सञ्चालन गरेको भेटिको छ । 

दूधपाटीस्थित बोय्जु फार्मेसीले सिद्धपोखरी क्लिनिक दर्ता नगरी सञ्चालन गरेको, क्लिनिकमा आउने डाक्टरको नामावली बोर्ड नराखी सञ्चालन गरेको, औषधि पसलमा अनुमति प्राप्त व्यक्ति नबसेको पाइएको अनुगमनमा सहभागी बजार निरीक्षक रामकृष्ण प्रजापतिले जनाए । 

त्यस्तै, प्राइम डेन्टल क्लिनिकमा औषधि पसलमा अनुमति प्राप्त व्यक्ति नबसेको, प्यान र भ्याटको बिल प्रयोग नगरेको, उत्तम मेडिकल हलमा औषधि पसलमा अनुमति प्राप्त व्यक्ति नबसेको, म्याद नाघेको औषधि राखेको, डोलेश्वर फर्माले गत वैशाख ३१ गते गरेको अनुगमनमा दर्ता नगरी सञ्चालन गरेको पाइएपछि तत्काल दर्ता गर्न दिएको निर्देशन अझैसम्म पालन नगरेको, एउटा नामको औषधिको बट्टामा अर्कै नामको औषधि राखेको पाइएको समितिले जनाएको छ । 

अल्फाज मेडिकल हललाई पनि गत वैशाख ३१ गतेको अनुगमनमा दर्ता गर्न सुझाब दिए पनि अटेर गरी सञ्चालन गरेको, भक्तपुर अस्पतालको बिमाको औषधि वितरण गर्ने पसलमा नगरपालिकामा दर्ता नगरेको, बिमाको सबै औषधि उपलब्ध नभएको पाइएको छ । 



अनुगमन टोलीले औषधि बिक्री गर्ने अनुमति प्राप्त व्यक्तिले मात्रै औषधि बिक्री गर्न, तत्काल पसल दर्ता गर्न, म्याद गुज्रेको औषधि पसलबाट तत्काल हटाउन र मानवीय स्वास्थ्यसँग खेलबाड नगर्न औषधि पसल सञ्चालकलाई निर्देशनसमेत दिएको छ । 

त्यसैगरी, दूधपाटी क्षेत्रमा सञ्चालित विभिन्न पसलको अनुगमन गर्दा कृष्णश्वरी प्रधानको स्टेसनरी पसल, अविश्वर अधिकारीको तन्दुरी पसल, रमेश मानन्धरको लक्ष्मी प्लाइउड, विना ध्वजूको किराना पसल, धर्मेन्द्र ठाकुरको सैलुन, सृष्टि न्याइच्याइको किराना, इन्द्रप्रसाद पोखरेलको चिया पसल र रवीन बाटीको दही पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । 



यस्तै, स्वस्तिरा जनरल स्टोरमा म्याद नाघेको सामान पीठो, गु्दपाक सात बट्टा, क्याडबरी कोका सात बट्टा, हर्लिक्स तीन पाकेट, बेसन तीन पाकेट, पापाया वास एक वटा र काजु एक पाकेट जफत गरेको जानकारी दिँदै प्रजापतिले पसलमा दर्ता प्रमाणपत्र राख्न, प्याकेजिङ सामानमा लेबल र मूल्यसूची राख्न निर्देशन दिएको बताए । 

यस्तै, कर्नर स्टोरमा म्याद नाघेको सामान बटर बिस्कुट पाँच पाकेट, सानो स्लाइस एक वटा र रियल बस्र्ट मिक्स फ्रट एक जफत गर्नुका साथै पसल नवीकरण गर्न, मूल्यसूची र दर्ता प्रमाणपत्र देखिने गरी राख्न पनि समितिले निर्देशन दिएको छ । 

दर्ता नवीकरण नगरी सञ्चालित जिके किराना स्टोरमा बिग्रेको सामान लेकर एक, बिटानिया एक, लेयज एक र चिजस्टि एक तथा तःपुखु सेन्टर किराना पसलमा म्याद नाघेको चाउमिन जफत गरी पसल दर्ता नवीकरण गर्न निर्देशन दिएको छ । 

अनुगमनमा दीपक स्टोरलाई पसल दर्ता नवीकरण गर्न, प्याकेजिङ सामानमा लेबल राख्न, मूल्यसूची राख्न निर्देशन दिनुका साथै न्यू नःपुखु मिनिस्टोरमा म्याद नाघेको सामान स्विट कर्न १३ बट्टा, ओरेञ्ज ट्याङ पाँच पाकेट, लेयज दुई पाकेट र जेरोज चिप एक पाकेट जफत गरी प्याकेजिङ सामानमा लेबल राख्न निर्देशन दिएको छ । 

३ नम्बर वडाका वडाध्यक्ष राजकृष्ण गोरा नेतृत्वको अनुगमन टोलीमा समितिका सदस्य रोशनमैयाँ सुवाल, नगरपालिका स्यानिटेशका निरीक्षक दिलीपकुमार सुवाल, निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, प्रहरी रामशरण तामाङ, जनस्वास्थ्यका जमुना काफ्ले, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, भक्तपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको सहभागिता थियो । 

  • प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार २०:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया