अब घर–घर धाउँदैनन् मिटर रिडर !

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्नो कार्यालयबाटै ग्राहकको मिटर रिड गर्न मिल्ने प्रविधि भित्र्याएको छ । यो प्रविधिबाट मिटर रिडिङ गर्दा घर–घर धाउनुपर्दैन । 

यो प्रविधिलाई प्राधिकरणले एडभान्स मिटरिङ इन्फास्ट्रक्चर (एएमआई) नाम दिएको छ । यो प्रविधिबाट ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र त्यसबापत कति रकम तिर्नुपर्छ भन्ने सहजै पत्ता लाग्छ । 

मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रणालीको शुभारम्भ गरे । प्राधिरकणले त्यस्तो प्रणाली पहिलोपटक रत्नपार्क वितरण केन्द्रमा सुरु गरेको वितरण केन्द्रका इन्जिनियर दृष्टि पाण्डेले जनाएका छन् ।

उनका अनुसार यो प्रणाली रत्नपार्क वितरण केन्द्र मातहत ३६२ ग्राहकको घर, कार्यालयमा जडान भएको छ । नयाँ प्रविधि जडानपछि इन्टेरनेट सञ्जालबाट सहजै ग्राहकको जानकारी लिन, कति विद्युत् प्रयोग भयो थाहा पाउन, मिटर बन्द गर्न र खोल्नसमेत सकिन्छ । 

पछिल्लो समय स्मार्ट मिटरको अवधारणा अघि सारेको प्राधिकरणले सोही उद्देश्यलाई कार्यान्वयनमा ल्याउन थालेको हो । सो वितरण केन्द्रका प्रमुख थीरकुमार खत्रीले प्रविधिको प्रयोग गर्दै ग्राहक तथा प्राधिकरणका कर्मचारीलाई पनि सहज रुपमा काम गर्ने वातावरण बनाउन उक्त प्रविधि लागू गरिएको बताए । 

उनका अनुसार यो प्रविधि विद्युत् चुहावट र चोरी नियन्त्रण गर्न सहयोगी हुनेछ । यस्तै, विद्युत् महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काटेर बक्यौता उठाउनसमेत सहज हुनेछ ।  





  • प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार २१:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया