काेभिड हुँदा झोलिलो गेडागुडी तथा फलफूलमा जोड दिऔंं

कोरोना भाइरसको तेस्रो लहरको सक्रमण नेपालमा तीव्र गतिमा बढ्दै छ । यस पटकको भाइरसले धेरै मानिस संक्रमित भए पनि सिकिस्त हुने र अस्पताल नै भर्ना हुने मानिसको संख्या भने कम रहेको छ । संक्रमित भइसकेपछि घरमा नै बसेर आफ्नो शरीरको ख्याल राख्न सकिन्छ।

घरमा आइसोलेसनमा बसिरहनु भएको छ भने हाम्रो घरमा पाइने खानेकुराहरू खाएर नै तपाईंहरू छिटो भन्दा छिटो निको हुन सक्नु हुनेछ । घरमा बसेको बेला काेराेनाबाट छिटो पार पाउन र शरीरमा भएको कमजोरीबाट छिटो तंग्रिन कस्तो खानेकुरा खाने भन्नेमा धेरै जिज्ञासु रहेको पाइन्छ ।

यस्तो बेला शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने, शरीर शिथिल हुने, शरीरका जोर्नीहरू दुख्ने गदर्छन् । यस्ताे अवस्थामा शरीरलाई छिटो तागत दिने तथा शरीरलाई पुष्ट्याउन एन्टिअक्सिडेन्टयुक्त खानेकुरा जसमा विशेषत भिटामिन ‘सी’ र भिटामिन ‘ई’ युक्त खानेकुराहरू खाने गर्नु पर्दछ। 

सामान्यतया हामीलाई कोभिड भएको बेला हाम्रा स्वादग्रन्थीहरूले काम गरिरहेको हुँदैन । केही खाएको बेला पनि स्वाद थाहा नपाउनाले खाना नरुच्ने समस्या भइ रहेको हुन्छ । खाना रुचेन भनी नखाँदा आफैँ झन् कमजाेर भइन्छ । त्यसैले स्वाद भएन भनी खाना नखाने गर्नु हुँदैन ।

सबैभन्दा बढी झोलिलो खानेकुराहरू बढी खाने गर्नुस् । जसमा विभिन्न प्रकारका फलफूलहरू हुन सक्छन् । तपाईंलाई मन पर्ने फलफूल खानुस् । यसैगरी सजिलै र सहजै बनाउन सकिने गेडागुडीका सुपहरू पनि खाने गर्नुपर्दछ ।

यस्ता सुपहरूमा पर्याप्त मात्रामा भिटामिन र खनिज पदार्थहरू पाइन्छ । जसले गर्दा हाम्रो शरीरमा चाहिने प्रोटिन तथा भिटामिनको मात्रालाई सन्तुलन गर्न सहयाेग पुग्छ।



सबैभन्दा महत्वपूर्ण पक्ष भनेको हामीले मानसिक रूपमा आफूलाई कमजोर हुन नदिनु हाे । विशेषगरी अलि गाह्रो भएर अस्पताल भर्ना भएका बिरामीहरूलाई हामीले खानेकुराहरू भन्दै गर्दा उहाँहरूलाई कस्तो खाना मन पर्छ भन्ने कुरा थाहा हुँदैन । यस्तो बेलामा अस्पतालबाट पनि हामी घरमा उहाँहरूको परिवारलाई सोध्ने गर्छौं । यो कुरा घरमा आइसोलेसनमा बस्नुभएका मानिसहरूलाई एकदमै सजिलो हुन्छ । 

खानेकुरामा ध्यान दिए छिटो शरीर तंग्रिन्छ



अहिले हामीले काेरोना भाइरसको तेस्रो लहर भोगिरहेका छौंं । यसमा भने धेरै मानिसहरूमा जटिल समस्या भने आएको छैन । यो सकारात्मक पक्ष पनि हो । 

हामीले अहिले घरमा बसेर सामान्य रूपमा हेरचाह गर्दा र केही औषधि सेवन गर्दा नै कोरोना भाइरसबाट पार पाउन सकिने अवस्था छ । 

‍याे अवस्थामा क्वाँटी, चना तथा सामान्य रूपमा पाइने मुसुरोको दाल, मुगीको दालको सेवन पनि शरीरकाे लागि अत्यन्त राम्रो हुने गर्दछ । 

क्वाँटीमा धेरै प्रकारका गेडागुडी मिसाइएको हुन्छ । त्यसले शरीरमा भिटामिनको कमी तथा विभिन्न प्रकारका मिनरल्स् (खनिज पदार्थ)को कमी भइरहेको अवस्थामा फलफूल तथा गेडागुडीको रस अत्यन्तै फलदायी हुन्छ । 

सकिन्छ भने टुसा उमारेको गेडागुडीको सेवन गर्दा अझ राम्रो हुन्छ । यसले हाम्रो शरीरमा राेग प्रतिराेधात्मक क्षमता बढाउने तथा कमजोर भएका माशंंपेशीहरू पुन पुष्ट्याउन सहयोग मिल्दछ ।

खानेकुराको छनोट गर्दा तपाईंले त्याे खानेकुरा रोज्नुस् जुन झोलिलो होस् र शरीरलाई आवश्यक पर्ने खनिजको मात्रा पनि पूरा गर्ने खालको होस् । 

अहिले ‍घरमा बसेका कोरोना संक्रमितले विशेषतः गेडागुडी, फलफूल तथा माछामासुको पनि सेवन भने गर्न मिल्छ । माछामासु खाँदा तारेर अथवा स्वादको लागि भन्दा पनि मासुमा पाइने पौष्टिक तत्व नमर्ने गरी खानु पर्दछ ।

कस्ता खानेकुरा नखाने

संक्रमणकाे बेलामा शरीर कमजोर हुने भएकाले कतिपय हामीले बाहिरबाट खाना मगाएर खाने तथा बजारमा पाइने प्याकिङ गरिएका खानेकुराहरू खाने गरेको पाइन्छ । यस्तो अवस्थामा यस्ता खानेकुराहरूले हाम्रो शरीरलाई हानी पुर्‍याउँछ । 

प्याकिङ गरिएका खानेकुरा अन्य अवस्थामा त शरीरका लागि राम्रो होइन भने यस्तो अवस्थामा झन् नखाएकाे राम्राे हुन्छ । ‍‍ होटल तथा रेस्टुरेन्टहरूबाट खाना नै मगाए पनि घरमा बनाएको जस्तो स्वास्थ्य वर्द्धक हुँदैन । 

यदि मगाउनै पर्ने अवस्था आएमा पनि सुप तथा परम्परागत दाल भात तरकारी नै खाने गर्नुस् । तर सकेसम्म भने घरमा नै बनाएको खाना अति उत्तम हुने गर्छ । 
 
अहिलेको अवस्थामा सबैभन्दा खानै नहुने भनेको जंक फुड हो । जुन खान त सहज होला, तर शरीरलाई फिटिक्कै राम्रो गर्दैन । त्यसैले अहिलेको अवस्थामा प्याकेटका खानेकुरा र जंगफुड मात्रै नखाँदा पनि धेरै ठिक हुन्छ । 

घरमा खानेकुरा तयार गर्दा कस्तो कुराहरूमा ध्यान दिने?

घरमा बनाएका प्राय: खाना हामीले सेवन गर्न सक्छौं । तर, यसो भन्दै गर्दा तारेका तथा धेरै मसालेदार खाना भने हामीले खानु हुँदैन । शरीरमा रहेका पाचनग्रन्थीहरूले पचाउन सक्ने तथा हल्का किसिमका नतारेका तथा मसला धेरै नहालेका खानेकुराहरू हामीले खान सक्छौं । 

यसो भन्दै गर्दा उसिनेको खानेकुरा खाने भन्ने चाँहि होइन । हाम्रो शरीरलाई चिल्लो पनि चाहिन्छ । तर, धेरै तारेका खानेकुराहरू भने खान हुँदैन । चिल्लोको कुरामा हामीले खाने ड्राइफ्रुट्स जसमा ओखर, बदाम, काजु किसिमिस तथा पेस्ताजस्ता खानेकुरामा खान सकिन्छ । जसमा पाइने चिल्लो भने एकदमै प्रभावकारी हुन्छ । 

यस्ता खानेकुराले शरीरमा चिल्लोको मात्राको साथसाथै अन्य किसिमका पौष्टिक आहारको कुरामा पनि यसले परिपूर्ति गरिरहेको हुन्छ । धेरै चिल्लो खाँदा पचाउन गाह्रो हुने भएकाले सामान्य चिल्लो नै प्रभावकारी हुन्छ ।

मासु खाँदा कस्तो कुरामा ध्यान दिने ?

मासु खाँदा सामान्य मान्छेले पनि छाला भएको मासु खान हुँदैन  छाला फ्याँकेको मासु राम्रो हुन्छ। अझ विशेषगरी काेराेना संक्रमित भएकाहरूमध्ये सेताे मासुकाे सेवन गर्नु राम्राे हुन्छ । जुन मासुमा छाला, बाेसाे हुँदैन । यस्ताे मासु प्रयाेग गर्नु अति उत्तम मानिन्छ । यस्ताे मासु बाेयल गरेर अथवा दाल गेडागुडीसँग पनि खान सकिन्छ ।

‍अझ संक्रमितले त‍ मासु खाँदा मासुसँगै तरकारी तथा गेडागुडी मिसाएर खाएको झन् राम्राे हुन्छ।

घरमा बसिरहनु भएको छ र काेराेना संक्रमित हुनुहुन्छ भने खानेकुरालाई ध्यानमा राखेर सामान्य रूपमा औषधि सेवन गर्दा पनि छिटै सन्चो हुन्छ । खाना र औषधिको मात्रा मिलाएर खाँदा अहिलेको कोभिडको भेरियन्टबाट ६ देखि ७ दिनसम्ममा हामी पुन: आफ्नो काममा फर्किन सक्छाैं ।
 

  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार ९:४४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया