विद्यार्थीलाई टेलिफोन गरेर गृहमन्त्रीले सोधे– जारी परीक्षा निरन्तर राख्ने कि, केही समय स्थगन गर्ने ?
परीक्षार्थीले भने केही समय रोक्न पहल गरिदिनुपर्यो

गृहमन्त्री बालकृष्ण खाणले पूर्वाञ्चल विश्वविद्यालयले लिइरहेको बिए एलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिने कि कोभिड–१९ संक्रमणको दर उच्च दरमा बढेकाले केही समय रोक्ने भनेर टेलिफोनमा संवाद गरेका छन् । 

बिए एलएलबीको पहिलो दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट अंक ल्याएका मध्य प्राञ्जली कँडेल र अञ्जली तिवारीलाई बिहीबार टेलिफोन गरेर गृहमन्त्री खाणले जारी परीक्षा सञ्चालन गरिरहने कि केही समय स्थगन गर्ने भनेर सोधेका हुन् । 
 
विश्वविद्यालयले पुस २९ गतेबाट सुरु गरेको बिए एलएलबी चौथो वर्षको परीक्षामध्ये बुधबार भएको परीक्षामा कोभिड–१९ संक्रमित र संक्रमणमा नभएकालाई एउटै कोठामा राखिएको भन्दै परीक्षार्थीले शान्तिपूर्ण धर्ना दिएका थिए । त्यो धर्नामा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीको टोली बिहीबार गृहमन्त्री खाणलाई भेट्न मन्त्रालय आएको थियो । 

काठमाडौं स्कुल अफ ल भक्तपुर दधिकोटमा अध्ययनरत साइरस शर्मा, जीवन शर्मा, रश्मी रेग्मी, अर्नव चौधरी, अमृत मिश्रलगायत विद्यार्थी मन्त्री खाणलाई भेट्न मन्त्रालयमा आएका थिए ।

उनीहरूलाई मन्त्री खाणले ट्यालेन्ट विद्यार्थीले परीक्षा होस् भन्ने चाहना राखेको, तर परीक्षाको तयारी नगरेका विद्यार्थीले परीक्षा स्थगन भएमा केही तयारी गर्न पाइन्थ्यो भरेर स्थगनको माग राखेको भन्ने कुरा आएकोले यथार्थ के हो भनेर सोधेका थिए । 

विद्यार्थीहरूले बिए एलएलबी पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले पनि परीक्षा नदिएको बताएका थिए । विद्यार्थीहरुको यस्तो जवाफपछि मन्त्री खाणले पहिलो हुने विद्यार्थी कँडेल र तिवारीको मोबाइल नम्बर मागेर टेलिफोन गरेका हुन् । 

मन्त्री खाणसँग टेलिफोनमा कँडेलले परिवारसहित आफू कोभिड–१९ संक्रमणमा रहेको र संक्रमणमा रहेका विद्यार्थीले छुट्टै बसेर परीक्षा दिने व्यवस्था विश्वविद्यालय र परीक्षा सेन्टर भएको क्याम्पसले नगरेको भन्दै केही समय स्थगन गर्दा उपयुक्त हुने सुझाएकी थिइन् ।



अर्की विद्यार्थी तिवारीले पनि परीक्षा केही समय स्थगित गरेर संक्रमण वृद्धिको उच्चदर केही रोकिएपछि गर्दा उपयुक्त हुने सुझाब दिएकी थिइन् । 



  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १९:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया