प्रचण्डको अर्ली इलेक्सनको प्रस्तावले गठबन्धनमा तरंग : कांग्रेसभित्रै मतभेद ! के गर्ला एमाले ?

महाधिवेशनको सिजन सकिएसँगै राजनीतिक दलका शीर्ष नेताहरुलाई कोरोना संक्रमण देखियो । राष्ट्रिय सभा निर्वाचनमा आन्तरिक भागबन्डा मिलाएपछि केही फुर्सदिला भएर आइसोलेसन छिरेका सत्तागठबन्धनका नेताहरुलाई एकाएक आएको माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावले झस्काएको छ । 

एकातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘अर्ली इलेक्सन’को माग गरेकोगर्यै छ । अर्कोतर्फ प्रचण्डले पनि एमालेकै मागलाई बल पुग्ने गरी स्थानीय निर्वाचन सारेर संसदीय निर्वाचनको प्रस्ताव गरेपछि राजनीतिक माहोल तात्तिएको हो । 

बुधबार दिउँसो सञ्चारमाध्यममार्फत प्रचण्डले सत्ता गठबन्धनमा आफूले राखेको प्रस्तावबारे बोलेपछि यसबारे बहस सुरु भएको छ । राजनीतिक दलहरुले आ–आफ्नो धारणा सार्वजनिक गर्ने क्रम जारी छ ।

आजै दिउँसो ४ बजेका लागि बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको थियो । तर, बैठक स्थगित भयो । कुनै पनि कारण उल्लेख नगरी दिउँसो १२ बजेतिर संयोजक रामचन्द्र पौडेलले स्थगित भएको सूचना पठाए । 

साँझ तीन नेताको भेट

प्रचण्डको प्रस्तावमाथि बहस सुरु भएपछि गठबन्धनका तीन शीर्ष नेता साँझ बालुवाटार भेला भए । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । 



उनीहरुकाबीच भोलि दिउँसो ४ बजेका लागि गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । उनका अनुसार भोलिको बैठकमा नेपालसहित यसअघि अनुपस्थित भएका जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन् । 

गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा माधव नेपाल र उपेन्द्र यादव कोरोना संक्रमणकै कारण उपस्थित थिएनन् । प्रचण्डको प्रस्तावमाथि प्रधानमन्त्री देउवा र माधव नेपाललगायतका नेताहरुबीच नै छलफल हुन नपाउँदा आजको बैठक भोलिसम्मका लागि सारिएको बुझिएको छ । 



प्रचण्डको प्रस्तावपछि एमाले के गर्ला ?

एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले यसअघि दुईपटक संसद विघटन गराएर निर्वाचनमा जाने निर्णय गरेका थिए । उनको कदमलाई त्यतिबेला अहिलेको गठबन्धनका सबै दलहरुले ‘प्रतिगमन’ भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  

अदालतले दुईपटक संसद विघटन बदर गरिदिएको थियो । तर, अहिले प्रचण्ड आफैँ ५ वर्षे कार्यकाल पूरा नगरी वैशाखमै निर्वाचन गर्ने प्रस्ताव लिएर अघि बढेका छन् ।  

एमालेले भने यसअघि नै चुनावको माग गरिरहेको छ । अर्ली इलेक्सनको माग गरिरहेको नेकपा एमालेका लागि यो सुखद् खबरजस्तो लागे पनि एमालेले सो प्रस्तावलाई सहर्ष स्वीकार भने नगर्ने बताएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै देउवाले समयमै चुनाव गराउन नसकेको भन्दै चुनावसँग डराएको आरोप लगाइसकेका छन् । उनले शीघ्र देशलाई निर्वाचनमा लगेर निकास दिनसमेत माग गरेका थिए । 

प्रचण्डको सो प्रस्तावपछि ओलीका नजिक मानिने नेता गोकुल बाँस्कोटाले पाँचदलीय गठबन्धनलाई ‘पाँच उपियाँ’को संज्ञा दिँदै चुनाव लड्न तम्तयार भएको सन्देश दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामी तीव्र प्रतीक्षा, स्वागत र पाँच उपियाँको गठबन्धन तोला न छटाकसँग एक्लै प्रतिस्पर्धा गर्न तम्तयार छौँ ।’ 

तर, एमाले महासचिव शंकर पोखरेलले भने ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनावपछि सार्नेगरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे !?’ भन्दै व्यंग्य गरेका छन् ।

एमालेले आफ्नो आधिकारिक धारणा भने गठबन्धनले निर्णय लिइसकेपछि दिने बुझिएको छ । 

भोलिको गठबन्धन बैठकमा के हुन्छ ?

सत्ता गठबन्धनका नेताहरुले भोलि दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन् । प्रचण्डको यो प्रस्तावपछि गठबन्धन र प्रतिपक्षी दलहरुको पूर्ण धारणा आइसकेको छैन । 

तर, गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापनइतरका केही नेताले उक्त प्रस्तावमा आपत्ति जनाएका छन् ।

उता, नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचन सारेर देशमा संवैधानिक रिक्तता निम्त्याउन खोजिएको भन्दै आपत्ति नै जनाएको छ । स्थानीय तह निर्वाचनसम्बन्धी कानुन नै दुईथरी हुँदा समस्यामा परेका देउवा प्रचण्डको यो प्रस्तावपछि पुनः तनावमा छन् । 

उनले आज पनि दिनभर आफूनिकट नेताहरुसँग परामर्श गरे । एमालेले स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याएमा प्रदेश र प्रतिनिसभाको पनि निर्वाचनमा पछि परिने आकलनसहित प्रचण्डले सुरुमै संसदीय निर्वाचनको प्रस्ताव अघि सारेका हुन् । 

यद्यपि, यसबीचमा कांग्रेसभित्रै मतभेद बढ्दै गएपछि अन्योल बढेको छ । कांग्रेस महामन्त्रीसमेत रहेका युवानेता गगन थापाले पनि स्थानीय चुनाव सार्नु अलोकतान्त्रिक हुने बताएका छन् । 

  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार २१:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया