मन्त्री रेणु यादवविरुद्ध युवा संघकाे प्रदर्शन

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई ज्यान मार्नेसम्मको हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवविरुद्ध युवा संघ नेपालका कार्यकर्ताहरु सडकमा उत्रेका छन् । 

युवा संघ धनुषाले शुक्रबार जनकपुरधाममा मन्त्री यादवविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरूले ‘नरसंहारवादी मुर्दावाद’, ‘रेणु यादवलाई मन्त्री पदबाट बर्खास्त गर’, ‘हत्यारा सरकार चाहिँदैन’, ‘मापसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

कानुनलाई हातमा लिएर आफ्नो पदीय मर्यादा बिर्सिँदै हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त नगरे कडा आन्दोलनमा जाने युवा संघका कार्यकर्ताहरूले चेतावनी दिएका छन् ।

माघ ५ गते बलिदानी दिवसका दिन रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् । 

उनको सो अभिव्यक्तिका कारण अहिले सर्वत्र आलोचना भइरहेको छ । उनलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि चौतर्फी दबाब परेको छ । 



यता, मन्त्री यादवको बचाउ गर्दै मधेस प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । 

जनकपुरमा बिहीबार एक पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री यादवले मन्त्री रेणु यादवले मिडियामा आएजस्तो सिके राउतलाई मार्ने धम्की नदिएको स्पष्टिकरण दिएका छन्। 



उनले कार्यक्रममा जाँदा राउतका कार्यकर्ताले नै बरु आफूहरूको बाटो अवरुद्ध गरी लाठी र भाटा लिएर प्रदर्शन गरेको बताए । त्यस क्रममा आफूहरूले प्रयोग गरेको गाडीमा तोडफाेड समेत गरिएको उनले आक्रोश व्यक्त गरे ।
 

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १६:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया