मधेस प्रदेश : ओमिक्रोन फैलिए पनि छैन सर्तकता
फाइल तस्बिर

मधेस प्रदेशका बजारमा अत्यधिक भीड देखिएको छ । मधेस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिए पनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको छ ।

बजारमा भीडभाड अत्यधिक देखिएको छ भने सर्वसाधारण स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन् । विनामास्क बजारमा सर्वसाधारण आवतजावत गर्ने गरेका छन् भने भीडभाडसमेत देखिएको छ ।

मधेस प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए । ५ सय २७ जना परिक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो ।

पछिल्लो केही दिनदेखि मधेस प्रदेशमा कोरोना संक्रमनको दर बढेको छ । अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिँदै गएका छन् । बिहीबार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

हाल यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये आइसीयुमा २ जना, एचडीयुमा ४ जना र बाँकी संक्रमित होम आइसोलेसनमा रहेका छन् । झाले खोप लगाउनेको संख्यामा समेत वृद्धि भएको बताए । उनले करिब ५० प्रतिशतले खोप लगाएको जानकारी दिए ।

मधेस प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



बढ्दै गएको कोभिड संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो ।

गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा त्यो संख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक झाले जानकारी दिए ।



उनका अनुसार पूर्ण खोप लगाउनेको संख्या सर्लाहीमा ६३ दशमलव ३, धनुषामा ५२ दशमलव ६, बारामा ५३ दशमलव ६, पर्सामा ५१ दशमलव १, सप्तरीमा ४७ दशमलव ७, सिरहामा ४६ दशमलव ८, रौतहटमा ३९ दशमलव ६ र महोत्तरीमा ३६ दशमलव ६ प्रतिशत पुगेको छ । तर, बजार, सरकारी कार्यालयमा अहिले पनि सर्वसधारणको भीड लाग्ने गरेको छ । विनामास्क  आउने गरेका छन ।

बजारमा भिडभाड देखिएको छ भने स्वास्थ्य मापदण्डलाई कडाई गराउन खासै चासो देखाइएको छैन । राजनीतिक दलले समेत कोभिड नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै आ–आफनो गतिविधिलाई अगाडि बढाउने गरेको पाइएको छ ।

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १७:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया