सिटामोल बजारमा पाइँदैन, सरकारी भने गोदाममै थन्काइयो
सांकेतिक तस्बिर

यतिबेला कोरोना संक्रमणले भयावह रूप लिइसकेको छ । काठमाडौं उपत्यकाका हरेक घरमा मानिसहरू रुघाखोकी र ज्वरोबाट ग्रसित छन् । उपत्यका बाहिर पनि यस्तै अवस्था छ ।

अहिले घरमै बसेर उनीहरू प्राकृतिक एवं घरेलु सामग्रीका भरमा उपचार गराइरहेका छन् । यति मात्रै नभएर उनीहरूले ज्वरो नियन्त्रण गर्नका लागि सिटामोल खानुपर्ने अवस्था छ । तर, बजारमा भने सिटामोलको अभाव छ ।

बजारमा सिटामोल पाउन त पाइन्छ तर, कतै-कतै मात्र । एउटा सिटामोल किन्नका लागि पनि पावर र भनसुन लगाउनुपर्ने अवस्था छ । हरेक औषधि पसलले सिटामोलको अभाव भन्दै बिरामीलाई फर्काउँदै आएका छन् ।

नेपाली औषधि उत्पादक कम्पनीले उत्पादन गर्ने औषधिले नेपाली मागको ४५ प्रतिशत धान्छ । तर, कोरोना महामारीको सुरुवातसँगै नेपाली उद्योगहरूले क्षमताअनुसार नै उत्पादन गर्न सकिरहेका छैनन् । त्यसको कारण हो, सिटामोल बनाउन आवश्यक पर्ने कच्चा पदार्थको भाउ बढ्नु र सिटामोलको मूल्य समायोजन नहुनु । व्यवसायीले घाटाको व्यापार गर्न नसकिने भन्दै क्षमताअनुसार सिटामोलको उत्पादन गर्न सकिरहेका छैनन् ।

यता सरकारी गोदाममा भने एक करोड डोजभन्दा बढी सिटामोल थन्किएर बसेको छ । सरकारी स्टोरहरूमा एक करोड ४५ ट्याबलेट सिटामोल छन् । तर, बजारमा सिटामोलको अभाव हुँदा पनि बजार पठाउन सकिरहेको छैन ।

सरकारको केन्द्रीय मेडिकल स्टोरमा ११ लाख ५८ हजार ट्याबलेट, प्रदेश १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा २७ लाख ६४ हजार ट्याबलेट, मधेस प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषामा २१ लाख ३० हजार ट्याबलेट, बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडामा १० लाख ९८ हजार डोज, गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख, लुम्बिनी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० हजार डोज, कर्णाली प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा १० लाख २० हजार डोज र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख ट्याबलेट सिटामोल रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



विभागले थाल्यो अनुगमन

बजारमा सिटामोलको अभाव देखिएको विषयमा औषधि व्यवस्था विभागले अनुगमन थालेको छ । अनुगमनको क्रममा उत्पादकसँग उपलब्ध कच्चा पदार्थ एवं पैठारी परिमाणबारे विवरण संकलन गर्ने कार्य भइरहेको विभागले जनाएको छ ।



विभागले अनुगमनको क्रममा बजार व्यवस्था कायम राख्नेगरी उपलब्ध एवं कच्चा पदार्थको प्रबन्ध मिलाई उत्पादन कार्य सुचारु राख्न एवं बिक्री वितरण वितरण कार्य निरन्तर राखी उपलब्धता सुनिश्चित गर्नसमेत निर्देशन दिएको छ ।

अनुगमनको क्रममा एक उत्पादक कम्पनीसँग करिब २४ लाख चक्की सिटामोल बनाउन प्रयोग हुने १ हजार २३७ किलो कच्चा पदार्थको मौज्दात रहेको पाइएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले जानकारी दिए ।

त्यस्तै, हालसम्म स्वदेशी औषधि उत्पादकसँग १५ हजार ७६५.०४ किलो सिटामोल बनाउन प्रयोग गरिने कच्चा पदार्थ मौज्दात रहेको महानिर्देशक ढकालले बताए । उक्त कच्चा पदार्थबाट करिब तीन करोड चक्की सिटामोल उत्पादन गर्न सकिने उनले बताए ।

बजारमा प्रयाप्त मात्रामा औषधि रहेकाले औषधिको अभाव हुने भ्रममा नपर्नसमेत सबैमा अनुरोध गरे । कतै-कतै कृत्रिम अभाव सिर्जना गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने सचेत चेतावनी दिए ।

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार २१:८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया