धनगढी लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’
६ महिनामा एक १० जना प्रयोगकर्ता र कारोबारी पक्राउ

कैलालीको धनगढी लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम रहेको धनगढीमा हप्तैपिच्छे लागुऔषध कारोबारी पक्राउ पर्ने गरेका छन् । पक्राउ पर्नेको तथ्यांक हेर्दा लागुऔषधको बढी कारोबार धनगढीमा भएकाे देखिन्छ।

खुला सिमानाको फाइदा उठाउँदै भारतबाट लागुऔषध भित्रिने गरेको छ । लागुऔषधको बढ्दो कारोबार र प्रयोगले पक्राउ पर्ने संख्या पनि बढ्दो छ । प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा एक सय १० जना कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको छ ।

यो अवधिमा लागुऔषधसम्बन्धि ७८ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन । गत वर्ष मात्रै लागुऔषधसम्बन्धि ९१ वटा मुद्दामा एक सय ३२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये अधिकांश प्रयोगकर्ता रहने गरेकाे प्रहरीले जनाएको छ । 

धेरैजसो प्रयोगकर्ताले लागुऔषध बिक्री गर्ने गरेकाे पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए । 

‘बेच्ने र खानेको संख्या धेरै छ । कतिपय बेच्ने मात्रै छन्,’ उनले भने, ‘लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ, तर खुला सिमानाका कारण रोक्न चुनौती छ ।’

खुला सिमानाका कारण भारतबाट लागुऔषध आयात भइरहेको प्रहरीको भनाइ छ ।



गत वर्षको तुलनामा पक्राउ पर्नेको संख्या मात्र नभई बरामद हुने लागुऔषधको मात्रा पनि बढ्दो छ । सबैभन्दा बढी खैरो हिरोइन, चरेस, गाँजा, नाइट्राभेट, फेरागनजस्ता लागुऔषध बरामद हुने गरेको डिएसपी जोशीले बताए । 

प्रहरीका अनुसार गाँजा र चरेसबाहेक सबैजसो लागुऔषध भारतबाट आयात हुने गरेको छ । भारतीय कारोबारीले लागुऔषध सीमावर्ती क्षेत्रनजिक ल्याइदिने र त्यहाँबाट यहाँका प्रयोगकर्ता र कारोबारीले ल्याउने गरेकाे पाइएकाे प्रहरीले जनाएको छ ।



भारतका सीमावर्ती क्षेत्रबाट लागुऔषध भित्र्याउन धनगढीका विभिन्न ग्रामीण नाका प्रयोग हुने गरेका छन् । प्रहरीका अनुसार कतिपय प्रयोगकर्ता सीमावर्ती भारतीय क्षेत्रमा पुगेर लागुऔषध प्रयोग गर्ने र फर्कँदा लिएर आउने गरेकाे पाइन्छ । 

पक्राउ पर्ने बाहेक सुरक्षाकर्मीको आँखा छलेर भित्रिने लागुऔषधको मात्रा निकै बढी हुन सक्ने प्रहरीको अनुमान छ ।

लागुऔषध सहजै लुकाएर ल्याउन सकिने भएकाले सूचनाको पाटोलाई बलियो बनाइएको प्रहरी नायब उपरीक्षक जोशीले जनाए । 

लागुऔषधको कारोबार नियन्त्रणमा प्रहरीले अहिले सक्रियता बढाए पनि खुला सिमाना चुनौतीका रूपमा रहेको डीएसपी जोशीकाे भनाइ छ । 

उनले भने, ‘खुला सिमानाका कारण लागुऔषधको कारोबार नियन्त्रणको चुनौती बनेको छ । सूचनाको पाटो बलियो बनाएर काम गरिरहेका छौँ ।’

लागुऔषध मुद्दामा पक्राउ पर्ने अधिकांश युवा छन् । लागुऔषधको कुलतमा फस्नेमा १६–१७ देखि २६–२७ वर्ष उमेर समूहका युवा बढी देखिएको डीएसपी जोशीले बताए ।

लागुऔषधका कारण अपराधिक घटना पनि बढेका छन् । घरेलु हिंसा, झैझगडा, चोरी, लुटपाटजस्ता अधिकांश अपराधिक घटनाको कारण लागुऔषध हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

लागुऔषधको कारोबार निरुत्साहित गर्न नागरिकको सहयोग पनि आवश्यक रहेको प्रहरीको भनाइ छ । 

लागुऔषधको कुलतमा फस्न नदिन अभिभावक पनि सचेत हुनुपर्छ । आफ्ना छोराछोरीबारे चासो राख्नु, टोलछिमेकमा लागुऔषध सेवन गरिरहेको देखे प्रहरीलाई सूचना दिनु पनि नागरिकको  दायित्व हो । यसले हामीलाई लागुऔषध नियन्त्रणमा सहयोग पुग्छ’, डिएसपी जाेशीले भने।

लागुऔषध मुद्दामा दैनिकजसो पक्राउ परिरहे पनि लागुऔषधको कारोबार र प्रयोगमा कमी नआएको स्थानीयको भनाइ छ । 

स्थानीय धर्मराज ओझा भन्छन्, ‘बजार र आसपासकै कतिपय गल्ली र टोलमा दिउँसै युवाहरू लागुऔषध सेवन गरिरहेका देखिन्छन् । प्रहरीले टोलटोलमा गस्ती बढाउने हो भने यस्ता कार्य निरुत्साहित हुन्छन् ।’ 

लागुऔषध दुर्व्यसनीमा युवाहरू मात्र नभई भर्खरका बालकहरू समेत संलग्न भएकाे पाइएको छ । यसकाे दुर्व्यसनी राेक्नका लागि विद्यालयको सक्रियता पनि आवश्यक रहेको ओझाकाे भनाइ छ।

‘बालबालिकाहरूको अधिकांश समय विद्यालयमा बित्छ । त्यहाँबाट सचेतना फैलाएमा धेरै हदसम्म कम हुन्छ’, उनले भने ।

  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार ११:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया