काष्ठकला कालिगडमा उदाउँदै सुरेश

झन्डै साढे चार वर्षअघि ललितपुर कार्यविनायकका सुरेश तुलाधर आफ्नै पसलमा  थिए । उनी काठमा कुँदिएका कलात्मक मूर्ति बिक्री गर्न तथा अर्डर लिन सधैँझैँ व्यस्त थिए । 

२०७१ जेठको एक दिन बिहान ठीक ११ बजे बुङमतीस्थित रातो मछिन्द्रनाथको मन्दिरपरिसरमा रहेको उनको सुरेश क्रिएसन पसलअगाडि एउटा पजेरो हुइँकिँदै आएर रोकियो । सुरेश ग्रहकको अर्डर लिन व्यस्त भइरहँदा पजेरोमा आएका ती व्यक्ति सुरेशले बनाएका मूर्तिहरू नियाल्दै थिए । 

पसलका सबै मूर्तिकला अवलोकन गरिसकेपछि ती व्यक्तिले सुरेशलाई काठमा ‘लुम्बिनी जात्रा’ कुँदिदिन अर्डर गरे । पजेरोमा आएका ती व्यक्ति थिए, तत्कालीन वर्ल्ड बैंकका अर्थविद् रोशनदर्शन बज्राचार्य । काठमा लुम्बिनी जात्रा बनाउने जिम्मा पाएका सुरेशले करिब दुई महिनामा काम सके । 

उनले बनाएको लुम्बिनी जात्राको कला हेर्दै बज्राचार्यले सुरेशलाई यस क्षेत्रमा भविष्य उज्ज्वल देखेको भन्दै प्रोत्साहन गरे । उनको सो भनाइपछि सुरेश आफ्नो कामप्रति झन् लगनशील भए । सुरेश सम्झिन्छन्, ‘उहाँको भनाइले मलाई लगनशील भएर काम गर्न प्रेरणा दिन मद्दत गर्यो ।’ 

परम्पराकालमा राजाहरूका दरबारमा पनि काठमा बुट्टा कुँदिएर झ्याल–ढोका सजिएका हुन्थे । अधिकांश मन्दिरका झ्याल–ढोकामा देवताका तस्बिरसहितका कलात्मक बुट्टा सजिएको देख्न पाइन्छ । काठका झ्याल–ढोकामा विभिन्न देवी–देवताका तस्बिर कुँदेर घर सजावट गर्ने प्रचलन बढ्दै गएको छ । नेपालमा बर्सेनि हुने मेला प्रदर्शनीमा पनि काठमा कुँदेका विभिन्न कलात्मक वस्तुहरू राखिँदै आएको देख्न पाइन्छ ।  



विशेषतः चाँप, कपुर, अग्राखलगायत काठबाट झ्यालढोकामा बुट्टा भरिन्छ । काठमा कुँदिएर यसरी बनाइएका कलात्मक तस्बिरहरूको मूल्य लाखौँ रुपैयाँ पर्ने गर्छ । 
ललितपुरको बुङमतीमा बस्दै आएका सुरेशले पनि बाल्यकालदेखि नै यस क्षेत्रमा घुलमिल हुने अवसर पाए । पुख्र्र्यौलीदेखि नै यही काम गर्दै आएको परिवारमा हुर्केका सुरेश पनि अन्ततः यही पेसा अँगाल्न पुगे । 

उनका बुबा श्याम तुलाधर काठमा विभिन्न देवी–देवताका तस्बिरको बुट्टा कुँदेर झ्यालढोका बनाउँथे । सुरेश सम्झिन्छन्, ‘विद्यालयबाहेक मेरो दिनचर्या बुबासँगै कारखानामा बित्थ्यो । बिस्तारै काममा भिज्दै गएँ । बुबाले मलाई सुरुवातको समयमा बुट्टा भर्न सिकाउनुहुन्थ्यो । फुर्सदको समयमा मेरो काम बुबासँगै काममा बिताउने हुन्थ्यो ।’ 



बाल्यकालदेखि लगभग १२ वर्ष यस क्षेत्रमा निरन्तर लागिरहँदा हातमा सीप बस्न थालेको सुरेश बताउँछन्, बुबालाई साथ दिन पाउँदा म गौरव गर्थें । हातमा सीप बस्न थालिसकेको थियो । मैले पनि बिस्तारै साना–साना गौतम बुद्धका मूर्तिहरू बनाउन थालिसकेको थिएँ ।’ यसरी सानै उमेरमा उनले मूर्ति बनाएर केही पैसा आउने बाटो खोलेका थिए । 

काष्ठकलामा उनी यति लीन भए कि उनलाई उच्च मावि अध्ययन गर्दा परीक्षा नै नआइदिए जस्तो लाग्न थाल्यो । उनी थप्छन्, ‘कामका कारण समय दिन नसक्दा बोर्ड परीक्षामा मात्र मेरो उपस्थिति हुन्थ्यो ।’ 

२०७१ मा बुबाले संसार छाडे । बुबा बितेपछि सुरेशले बुबासँगै सिकेको सीपलाई नै व्यवसायका रूपमा निरन्तरता दिँदै गए । तर, २०७२ सालको विनाशकारी भूकम्पले फेरि पनि सुरेशको जीवनमा उथलपुथल ल्याइदियो । पसल भएको साढे तीनतले घर पनि भत्कियो । उनी भन्छन्, ‘भाग्यवश शनिबारको दिन पसल बन्द थियो । घर भत्किए पनि मानवीय क्षति भने हुन पाएन ।’ २१ तारा, लुम्बिनी जात्रा, गौतम बुद्ध, महांकाललगायत मूर्ति बनाउने काममा तल्लीन सुरेश आफ्नो पेसामा आननन्द महसुस गर्छन् ।  उनी भन्छन्, ‘प्रायःजसो काममै व्यस्त हुन्छु, काम गर्दा खेलेकोजस्तो अनुभव हुन्छ ।’ 

सुरेशले कपुर, चाँप, अग्राखका काठ फर्निचर पसलबाट ल्याउने गर्दछन् । बुट्टा कोर्न प्रयोग हुने एउटा काठको मूल्य २० हजारभन्दा बढी पर्ने उनी बताउँछन् । चाँपको काठ नै प्रति क्युबफिटको ६ हजारभन्दा बढी पर्ने उनले बताए । आफ्ना पुर्खाले काठमाडौंको हनुमानढोकामा रहेको म्युजियम, पोखराको केदारेश्वर मन्दिरलगायतमा बुट्टा भर्नेदेखि देवताका तस्बिर कुँदेकोे उनी सम्झिन्छन् । 

कुनै पनि काम मिहिनेतका साथ सिक्ने तथा गर्ने हो भने सफलता पाउनेमा विश्वास राख्ने सुरेश यस क्षेत्रमा बढी नै सम्भावना भएको दाबी गर्छन् । रोजगारीका लागि युवाहरू विदेश पलायन हुनु नेपालको प्रमुख समस्या हो । काठमाडौंमै ललितकला सिर्जना कलेजलगायत  काष्ठकलाको पढाइ हुने क्याम्पसहरू पनि छन् । यदि यस क्षेत्रमा सीप सिकेर काम गर्ने हो भने विदेशमा कमाइने पैसा स्वदेशमै फलाउन सकिने उनी बताउँछन् । 

एउटा काठमा बुट्टा भर्र्न महिनौँसम्म लाग्ने गरेको उनको अनुभव छ । दक्षिण एसियादेखि युरोपबाट पनि यसको अर्डर आउँदा मनै प्रफुलित हुने उनी बताउँछन् । यद्यपि, सुरु–सुरुमा उनी आफैँले बनाएका भैरव, २१ तारा, लुम्बिनी जात्रालगायत बाह्य मुलुक पठाउँदा कर बढी पर्न जाँदा विभिन्न अड्चनको सामना गर्नुपर्यो ।

बाल्यकालमा बुबासँग काम सिक्ने क्रममा गल्ती पनि भए ।  बनाउने क्रममा बढी नै गल्ती भयो भने काठै खेर जाने भएकाले एउटै बनाउन धेरै समय लाग्ने गरेको सुरेश बताउँछन् । 

घरमा सजावट गर्दा राम्रो देखिने भएकाले पनि व्यवसायीदेखि सरकारी निकायबाट अर्डर आइरहने गरेको सुरेशले बताए । रातो मच्छिन्द्रनाथको मन्दिर आफैँमा एक धार्मिक महत्व बोकेको मन्दिर हो । मन्दिरको दर्शनका लागि बर्सेनि आन्तरिकदेखि बाह्य मुलुकका पर्यटकको घुइँचो लाग्ने गर्छ । क्रिएसन पसल हुँदा उनको व्यापार पनि राम्रो थियो । क्रिएसन नहुँदा पनि अर्डर भने आइरहने हुन्छ । व्यापार झन् बढेको उनी बताउँछन् । क्रिएसन पसल भएको घर पनि अब चाँडै नै बनाउने उनको तयारी छ । 


 


 

  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार १७:१५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया