विद्युतीय सवारी चलाउन साझासँग प्रदेशको सहकार्य

हेटौंडा– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । 

बुधबार काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँगको छलफलमा उनले प्रदेश सरकारले साझा यातायातकै ३० करोड सेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने बताए । 

सरकारले २०८५ सालभित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । यही नीति कार्यान्वयन गर्न मुख्यमन्त्री पौडेलले चालु आवमा साझाबाटै सेयर किन्ने प्रतिबद्धता जनाएका हुन् । 

‘हामीले विद्युतीय बस सञ्चालन गर्ने नीति अघि सारेर केन्द्र सरकारलाई झकझक्याएका छौँ,’ मुख्यमन्त्री पौडेलले भने, ‘संघीय राजधानी काठमाडौंसँग प्रदेश सरकारको उपस्थिति देखाउन विद्युतीय सवारी सेवा सञ्चालनमा साझासँग सहकार्य गर्न तयार छौँ ।’ 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विद्युतीय सवारी विस्तार गर्न महानगरले चालु आवमा १० करोड बजेट विनियोजन गरेको जनाए । महानगरमा टेम्पो विस्थापित गर्ने नीति लिएकोसमेत उनले बताए । प्रदेश ३ प्रमुख सचिव आनन्द ढकालले साझा यातायातसँग  ‘गुडविल’ र पर्याप्त अनुभव भएकाले साझासँगै सहकार्य गर्न आतुर रहेको बताए । 

साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले पनि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने चाहना राखे । साझाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई निःशुल्क र विद्यार्थीलाई १० रुपैयाँमा साझाले यातायात सेवा उपलब्ध गराएको र साझासँग हाल ५१ वटा बस रहेको उनले जनाए । 





  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार १८:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया