राष्ट्रियसभा निर्वाचन : मौन अवधि राति १२ बजेदेखि, १९ पदमा ४३ उम्मेदवार

राष्ट्रियसभा निर्वाचनअन्तर्गत आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा उम्मेदवारले कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न र मत माग्न नपाइने भएको छ ।

आयोगले मतदान केन्द्रको तीन सय मिटर आसपासमा राखिएका निर्वाचन चिह्न र प्रचारप्रसार सामग्री हटाउन पनि अनुरोध गरेको छ ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलेले उम्मेदवारको प्रचारप्रसार हुने गरी समाचार वा सूचना प्रकाशन/प्रसारणमा पनि रोक लगाइएको फरकधारलाई बताए ।

उनका अनुसार मतदाताले अन्तिम मतदाता नामावलीमा रहेको विवरणसँग भिडाएर यकिन गरी  मतदान गर्न पाउने भएका छन् । त्यसबारे आयोगले निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

मतदान १२ माघमा हुँदैछ । आयोगले पदावधि फागुनमा सकिन लागेका २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ जनाको स्थानमा निर्वाचन गर्न लागेको हो ।

कानुनविदहरूमध्येबाट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेका रामनारायण बिडारीको स्थानमा भने निर्वाचन नहुने भएको हो । उनी माओवादी केन्द्रका हुन् । अन्य १९ जनाको स्थानमा निर्वाचन हुने भएको हो ।



यसमध्ये प्रमुख विपक्षी दल नेकपा एमालेबाट ८ जना, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समान ४/४ जना र नेपाली कांग्रेसका ३ जना राष्ट्रियसभा सदस्य छन् ।

१२ माघमा हुने निर्वाचनका लागि सत्तारूढ र विपक्षी गठबन्धनबीच भिडन्त हुने देखिएको छ । हुन बागमती प्रदेशमा नेपाल मजदुर किसान पार्टी पनि छ ।



यद्यपि, दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

विपक्षी गठबन्धनमा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । तर, दुईवटा प्रदेशमा मात्रै एमालेसँग यी दुई दलको गठबन्धन हुने छ ।

प्रदेश १ मा एमालेसँग राप्रपाको र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धन हुने भएको छ ।

किनभने लोकतान्त्रिक समाजवादीको प्रदेश १ मा एक सिट पनि छैन । राप्रपाको भने एक सिट छ । तर, लोकतान्त्रिक समाजवादीको मधेस प्रदेशमा १६ जना सांसद छन् । राप्रपाको छैन । त्यही भएर प्रदेशअनुसार एमालेको गठबन्धन भएको हो ।

सत्ता गठबन्धनको भने हरेक प्रदेशमा पाँच दलबीच गठबन्धन छ । अझ प्रदेश १ मा त संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च पनि थपिएको छ । उक्त पार्टीको एक जना सांसद छिन् ।

१९ सिटमा ४३ जना उम्मेदवार

१९ सिटमा ४३ जना उम्मेदवार छन् । सर्वाधिक बढी एमालेको १९ जना उम्मेदवार छन् । तर, प्रदेश १ र मधेस प्रदेशमा एक/एक जना उम्मेदवारलाई एमालेले लडाउने छैनन् ।

प्रदेश १ मा राप्रपा र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीको एक/एक जना उम्मेदवारलाई एमालेले सघाउने भएको छ । जुन गठबन्धनको सहमतिअनुसार भएको हो ।

यसरी एमालेका १७ जना सूर्य चिह्नबाट चुनाव लड्न लागेका छन् । हलो चिह्न लिएर प्रदेश १ मा राप्रपाको एक र साइकल चुनाव चिह्न लिएर मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीको एक जना चुनाव लड्ने भएका छन् ।

चुनावमा नेपाली कांग्रेसका ६ जना रूख चिह्नबाट चुनाव लड्दै छन् । गोलाकारभित्रको हँसिया हथौडा र कलम चुनाव चिह्न लिएर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका समान ५/५ जना, ढल्केको छाता चुनाव चिह्नबाट जसपाका दुई र गिलास चुनाव चिह्नबाट राष्ट्रिय जनमोर्चाका एक जना उम्मेदवारले चुनाव लड्ने भएका हुन् ।

यस्तै, मादल चुनाव चिह्नबाट बागमती प्रदेशमा नेपाल मजदुर किसान पार्टीका दुई जना उम्मेदवार चुनाव लड्ने भएको निर्वाचन आयोगले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार २०:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया