पहिले त हलमा फिल्म हेर्न जाँदा पाइन्ट च्यातिने, चुइँगम टाँसिने डर हुन्थ्याे: हरिवंश अाचार्य

हामीले २०५७ सालमा ‘तँ त साह्रै बिग्रिस नि बद्री’ बनायौं । निकै सफलता हासिल गर्यो त्यसले । त्यसपछि २०६० सालतिर ‘जे भो राम्रै भो’ बनायौं । त्यो फिल्म रिलिज हुनेबेला माओवादी द्वन्द्व अलि बढी नै चर्किन थाल्यो । देशमा संकटकाल घोषणा भइसकेको थियो । सिनेमा हलहरुमा नाइट शो बन्द गरियो । हलमा जाने वातावरण नै भएन । नेपाली फिल्मको बजार सबैभन्दा तल खसेको बेला थियो त्यो । जब माओवादी द्वन्द्वको समाधानका कुराहरु भए तब हामीले ‘मदनबहादुर हरिबहादुर’ र ‘आमा’ सिरियल बनायौं । चार वर्ष त्यसमा काम गर्यौं । त्यसपछि चाहिँ हामी रंगमञ्चमा व्यस्त भयौं ।

कम्तीमा पनि तीन वर्ष हामीले रंगमञ्चलाई दियौं । विदेशतिर संसारभर नेपालीहरु बसेको ठाउँमा हामीले ‘महजात्रा’ भन्ने कार्यक्रम देखायौं । त्यसपछि नेपालभित्रका जिल्लाहरुमा पनि त्यही प्रोग्राम गर्यौं । काठमाडौंमा मात्रै त्यसको २४ वटा शो चलायौं । यस्तैयस्तै काममा हाम्रो त्यतिबेलाको समय बित्यो । त्यसपछि फेरि नेपालमा सिनेमा बन्ने युग सुरु भयो । राम्राराम्रा फिल्म बने । तैपनि केही वर्ष हामीले फिल्म गर्न सकेनौं ।

अलिकति पारिवारिक कारण पनि थिए । मेरो परिवारमा दुःखद घटनाहरु भए । मदन दाइको परिवारमा पनि समस्याहरु थिए । सबै समस्या सेटल भएपछि किरण केसीले फिल्म बनाऔं बनाऔं भनेर जोड गर्न थाल्यो । ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ र ‘जे भो राम्रै भो’ पनि हामीले किरणसँगै मिलेर बनाएका थियौं । किरणको इन्ट्रेस्ट र हाम्रो समय मिलेपछि फिल्म बनाउने निर्णय गर्यौं ।

कतिपयले सोच्लान्, हामीलाई फिल्मबाट घाटा भयो होला, त्यसैले फिल्म बनाएनन् । तर त्यस्तो होइन, हामीले बनाएका कुनै पनि फिल्म घाटामा गएनन् । जहाँसम्म लाग्छ, ‘शत्रु गते’ पनि घाटामा जाँदैन । विदेशमा शोहरु एक वर्षअघि नै फिक्स्ड भइसकेका हुन्छन् । हलहरु बुक गरिसकेका हुन्छन् । त्यसैले त्यस्ता कुनै पनि कार्यक्रमलाई क्यान्सिल गर्न मिल्दैन ।

ती कार्यक्रमले गर्दा पनि हामीले फिल्म बनाउन समय निकाल्न नसकेका हौं । हामीले ‘मदनबहादुर हरिबहादुर’ ५२ भाग बनायौं । एक भाग पनि दर्शकले बोर मान्नुभएन । त्यो एनजिओले नै इन्भेस्ट गरेको हो । ‘आमा’ भन्ने सिरियललाई पनि दर्शकले रुचाउनुभयो । तर, कहिलेकाहीँ म्यासेजलाई मात्र फोकस गरेर फिल्म बनाउनुपर्ने हुन्छ । त्यस्ता सिनेमाहरु पक्कै पनि अलिकति खस्किन्छ ।

हामीले एनजिओको मुख ताक्नुपर्ने बाध्यता पनि थियो । किनभने नेपाल टेलिभिजनले आधा घन्टाको सिनेमा बनाउन म्याक्सिमम सवा लाख दिन्छ । हामीले गर्यौं भने दुई लाख देला । त्यति पैसामा आधा घन्टाको सिनेमा बन्दैन । यो टेलिभिजन हो, प्रविधिको हिसाबले यतिको ठिकै हो भनेर दर्शकले माया गरेर हेरिदिँदैनन् । ठिक छ भने ठिक छ, ठिक छैन भने ठिक छैन भन्दिन्छ मान्छेले । टिभी होस् कि हलमा होस्, मान्छेले लाइटिङ, सिनेमाटोग्राफी, एक्टिङ र लोकेसन सबै चिज चाहिँ क्वालिटीकै खोज्छ ।



दुई लाखले त्यो क्वालिटीको सिनेमा बनाउन सम्भव नै छैन । हामी पहिले अडियोमा काम गथ्र्यौं । क्यासेटहरु निकाल्थ्यौं । राम्रो बिक्थ्यो । ‘यमलोक’ भन्ने एल्बम हामीले डेढ लाखभन्दा बढी बेच्यौं । तर, हामीलाई स्वरले मात्र चिनेर भएन, अब अनुहार पनि चिनोस् भन्ने भयो । र, रहरै रहरमा टिभीमा पनि सिनेमा बनाउन थाल्यौं । ‘१५ गते’ पनि रहरले बनाएका हौं । ‘दशैं’ पनि रहरले बनायौं । ‘लालपुर्जा’ पनि रहरमै बन्यो । तर, रहरले मात्र काम गरेर सकिँदैन । आर्थिक पक्षमा पनि सोच्नुपर्छ । पैसाकै लागि हामीले म्यासेज ओरियन्टेड फिल्म बनाउने काम लियौं । कुष्ठ रोगको बनायौं, एड्सको बनायौं । क्षयरोगको बनायौं । पछि शान्तिप्रक्रियाका बनायौं ।

ती काम गरेपछि बल्ल हामीलाई केही पारिश्रमिक बच्न थाल्यो । हो, त्यतिबेला हामीले फ्रि सब्जेक्टमा टेलिफिल्महरु बनाउन सकेनौं । त्यो हाम्रो कमजोरी भनौं वा परिस्थितिको कमजोरी भनौं । त्यही क्रममा हामीलाई एनजिओ आईएनजिओको बिल्ला लगाइएको हो । तैपनि एनजिओसँग पैसामात्र खाने, काम चाहिँ नगरिदिने खालको अपजस हामीलाई लागेको छैन । हामीले म्यासेजका साथसाथै इन्टरटेनमेन्टलाई पनि ध्यान दिएका छौं ।



म्यासेजमात्र भयो र इन्टरटेनमेन्ट भएन भने त्यो चिजको भ्यालु हुँदैन । युट्युबमा हेर्नुस्, एनजिओ फन्डेड हाम्रा टेलिफिल्मले पनि राम्रै भ्युज पाएका छन् । जुनबेला हामीले ‘वनपाले’ बनायौं, ‘१५ गते’ बनायौं, ‘लालपुर्जा’ बनायौं । त्योबेला तिनलाई फिल्म मानिँदैनथ्यो । तिनलाई सानो पर्दाको फिल्म भनिन्थ्यो । त्योबेला फिल्म हुनलाई पाँचवटा गीत, हिरोहिरोइनको नाच अनि चारवटा फाइट चाहिन्थ्यो । अनि रोदन हाँसो सबै मिलेपछि बल्ल फिल्म भनिन्थ्यो । तर अहिले आएर हाम्रो ‘लालपुर्जा’, ‘चिरञ्जीवी’, ‘१५ गते’ प्याटर्नका फिल्म बन्न थालेका छन् ।

अर्थात् हाम्रो जुन धार थियो, त्यही धारमा नेपाली फिल्म आइपुगेको छ । त्यसैले यो हाम्रो लागि एकदम अनुकूल भएको छ । समयको खेल हो यो । अहिले हाम्रो धार चल्ला । भोलि नचल्न पनि सक्छ । ‘शत्रु गते’ बनाउँदा हामीले बीचको धार अपनाएका छौं । यथार्थवादी पूरै होइन, मसला पनि मिसाएका छौं । जस्तो बलिउडमा आमिर खानले यथार्थवादी फिल्म बनाउँछन्, तर फर्मुलालाई पनि छाडेका हुँदैनन् । त्यस्तै हामीले यथार्थवादी हुँदाहुँदै पनि फर्मुलालाई समेत अँगालेका छौं । 

हामीले ‘जे भो राम्रो भो’को पालामा १६ एमएमको नेगेटिभमा फिल्म खिच्थ्यौं । ३५ एमएममा खिच्नलाई पैसाले पुग्दैनथ्यो । क्यामेरा पनि पाइँदैनथ्यो । त्यहीभएर १६ मा खिचेर त्यसलाई ब्लोअप गर्थ्याैं । हलको प्रोजेक्सन सिस्टम पनि त्यस्तै कमसल थियो । फ्याल्ल, धमिलो, लुगा धोएर खुइलिएको जस्तो पिक्चर पर्दामा आउँथ्यो । तर अहिले डिजिटलको युग हो । बलिउडमा जुन क्यामेराले फिल्म खिचिन्छ, हामी पनि त्यसैले फिल्म खिच्छौं । लिड लाइटहरु आए । यसले सुटिङ गर्न धेरै सजिलो भएको छ । पिक्चरको क्वालिटी पनि राम्रो हुन्छ । पहिला चाहिँ मान्छेलाई हल जाने नि नजाने द्विविधा हुन्थ्यो । किलाले प्यान्ट च्यात्ने, चुइंगम टाँस्ने डर हुन्थ्यो । तर अहिले चाहिँ जस्तो हल खोज्यो, त्यही हल छ । पैसा धेरै छैन । परिवारै फिल्म हेर्न जाने हो भने पनि सस्तो टिकट दरका सिंगल थियटर छन् ।

सिंगल थियटरमा पनि डिजिटल प्रोजेक्सन आइसक्यो । त्यहाँ पनि पिक्चर क्वालिटी राम्रै हुन्छ । होइन, मलाई अलि धेरै सुविधा चाहिन्छ । म चार सय रुपैयाँ तिर्न तयार छु भन्नेहरुलाई मल्टिप्लेक्स हल छँदैछ । हलले पनि एउटा क्रान्ति ल्याएको छ । सिनेमाको प्रविधि र हलले सँगसँगै क्रान्ति ल्याएको छ ।

  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार २२:३६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया