सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षडयन्त्रमा केन्द्रित : सल्लाहकार परिषद्
फाइल तस्वीर

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्ले सरकार कोरोना महामारीका कारण समस्यामा परेका जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षडयन्त्रमा केन्द्रित भएको आरोप लगाएको छ ।

एमालेको केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यका सबै अंग अस्तव्यस्त हुँदा पनि सरकार एमाले विरुद्ध षडयन्त्रमा लागेको आरोप लगाएका हुन् ।

उनले गठबन्धनको सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी भएको बताए । राज्यका सबै अंग अस्तव्यस्त भएको र आम जनता महँगीको चर्को मार खेप्न बाध्य भएको उनले औँल्याएका छन् । कोरोनाविरुद्धको खोपमा अपचलन भएको, सिटामोलजस्तो सामान्य औषधिसमेत नागरिकले पाउन नसकेको उनको आरोप छ ।

'यतिखेर देशमा गठबन्धनको सरकार छ । यो राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी छ । राज्यका सबै अंगहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिनसकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधिका नाममा सिटामोलजस्तो सामान्य औषधिसमेत नागरिकले राम्ररी पाउन सक्दैनन् । सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षडयन्त्रमा केन्द्रित छ,' जारी विज्ञप्तिमा भनिएको छ ।

उनले यस्तो अवस्थामा ​पार्टी नेता तथा कार्यकर्तालाई राजनीतिक तथा वैचारिक रूपमा अझ सजग तथा सक्रिय बन्न जरुरी रहेको बताए । विरोधीले फैलाएका भ्रमलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित हुन नेता कार्यकर्तालाई उनले सुझाए । 

केन्द्रीय सल्लाहकार परिषद्को प्रेस विज्ञप्ति



११ माघ, २०७८

हाम्रो पार्टी नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन पछि बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय सल्लाहकार परिषद्को नीतिगतरुपमा गठन गरिसकेको छ र परिषद्को गठनबारे त्यसैबखत पार्टीको विज्ञप्ति सार्वजनिक भइसकेको छ । सो अनुसार सल्लाहकार परिषद्को बैठक बसी सपथग्रहण गर्ने र तत्सम्बन्धी अरु कामहरु गर्नुपर्नेमा विभिन्न कारणवश अहिले बैठक बस्न र सपथग्रहण ग्रहण कार्यक्रम हुन नसक्ने अवस्था भएकोले सल्लाहकार परिषद्का सदस्य कमरेडहरुमा केही अन्यौल र अस्पष्टता सिर्जना भएको पाइएको छ । टेलिफोन वा अन्य माध्यमबाट यसबारे चासो प्रकट गर्ने सबै कमरेडहरुप्रति धन्यवाद व्यक्त गर्दछु ।



सल्लाहकार परिषद् विधानबमोजिम पार्टीलाई विभिन्न सल्लाह–सुझाव प्रदान गरेर अघि बढ्न सहयोग गर्ने एक जिम्मेवार निकाय हो । हामी आफ्नो दायित्वप्रति सचेत छौं । यस्तो स्थितिमा परिषद्को जागरुकता, क्रियाशीलता र भूमिकाको खोजी हुनु स्वयंमा महत्वपूर्ण कुरा हो ।

अहिले नै बैठक बस्न सम्भव नभएकोले यस पे्रस विज्ञप्तिमार्फत् म सबै कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, यतिखेर हामीहरु कोरोना जस्तो महामारीबाट विभिन्न रुपबाट आक्रान्त भइरहेका छौं । महामारी फैलिरहेको यो अवस्थामा जमघट, भेला वा बैठकहरु गर्न सम्भव छैन । त्यसो गर्नु स्वयम्मा सुरक्षाको दृष्टिकोणले उचित पनि हुँदैन । तसर्थ केही धैर्य गरेर परिस्थिति हेरी छरितो शैलीमा हामी परिषद्को बैठक आयोजना गर्ने तथा परिषद्लाई पूर्णता दिने सोचमा छौं । बैठक तत्काल नबसे पनि नीतिगत रुपमा परिषद्मा रहनुभएका कमरेडहरुले आ–आफ्ना ठाउँमा हुने पार्टीका कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड बमोजिम भाग लिई आफ्नो दायित्व निर्वाह गर्न आग्रह गर्दछु ।

यतिखेर देशमा गठबन्धनको सरकार छ । यो राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी छ । राज्यका सबै अंगहरु प्रायः अस्तव्यस्त छन् । आम जनता महंगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिनसकेको छैन । खोपमा अपचलन भएका कुराहरु आइरहेका छन् । औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन सक्तैनन् । सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित छ । यस्तो अवस्थामा हामी राजनीतिक तथा वैचारिक रुपमा अझ सजग तथा सक्रिय बन्नु जरुरी छ । विरोधीहरुले फैलाएको भ्रमहरुलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्दछ ।

स्थानीय कमिटी हाम्रो पार्टीको जग हो । त्यसैले यसलाई एकताबद्ध, गतिशील र सुदृढ बनाउन हामी सक्रियतापूर्वक लाग्नुपर्दछ । स्थानीय पार्टीले जनसरोकारका विषयमा बढी सोच्नुपर्दछ । पार्टीलाई सबैखाले अवसरवाद र अराजक प्रकृतिबाट मुक्त गर्दै खँदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्नुपर्दछ । यही नै आजको ज्वलन्त आवश्यकता हो ।

अमृतकुमार बोहरा

अध्यक्ष

  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १३:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया