भिजिट भिसालाई अन्य प्रयोजनमा दुरुपयोग गरियो : गृहमन्त्री खाँण
फाइल तस्वीर

गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकलाई आग्रह गरेका छन् ।

गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरुपयोग गरेर पनि नेपाली नागरिकले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गरेका हुन् ।

त्यस अवसरमा उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरूमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए । गृहमन्त्री खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए ।

'भिजिट भिसालाई अन्य प्रयोजनमा दुरुपयोग नगरुन् त्यतापट्टि नै हाम्रो सजगता हो । त्यसपछि एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्ने हो,' उनले भने, 'यसमा नेपाल सरकार गृहमन्त्रालय लागि परेको छ ।'

उनले वैदेशिक रोजगारीमा गएका ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरूको उद्दारमा पनि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । गृहमन्त्री खाँणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहेको बताए ।

बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीमाथि बिचौलियाले ठगी गरेको उल्लेख गर्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्री खाँणसँग आग्रह गरे ।



उनले युएईमा घरेलु कामदार महिलाको समस्या ठूलो रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।

‘घरेलु कामदार महिलाको ठूलो समस्या छ । त्यसैगरी व्यक्तिगत श्रम स्वीकृति लिएर गएका नेपालीको पनि ठूलो पीडा छ । ती समस्या समाधानका लागि गृह मन्त्रालयले छुट्टै प्रहरी युनिट परिचालन गर्नुपर्ने अवस्था छ’ उनले भने ।



श्रममन्त्री श्रेष्ठले श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा पीडा भोगिरहेका नेपाली नागरिकको समस्या समाधान गर्ने अवस्था नरहेको पनि बैठकमा पटकपटक दोहोर्‍याए ।

  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १८:३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया