सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

सुदूरपश्चिममा बुधबार (भोलि) हुने राष्ट्रिय सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार बुधबार बिहान ९ बजेदेखि ३ बजे सम्म मतदान हुनेछ । निर्वाचनमा भाग स्थानीय तहका प्रमुख, उपप्रमुखहरु र सांसदहरु धनगढी पुगिसकेका छन् । 

निर्वाचन अधिकारी प्रेमराज भट्टले मतदानका लागि प्रदेश सभाभित्रै दुईवटा मतदान केन्द्र बनाइएको बताए । ‘स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि एउटा र प्रदेशसभा सदस्यका लागि एउटा मतदान केन्द्र बनाएका छौँ,’ भट्टले भने ।
 
निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट विभिन्न दलका ६ जना उम्मेदवार छन् । राष्ट्रियसभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसको तर्फ खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले उम्मेदवारी दिएका छन् । 

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्ट चुनावी मैदानमा छन् ।

तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् । 

प्रदेश सभामा ५२ जनामध्ये एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा)का एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एकजना प्रदेशसभा सदस्य छन् ।



प्रदेशसभामा एकीकृत समाजवादीको मतभार सबैभन्दा बढी ६७२ छ भने माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ मतभार छ । राजपा र लोसपाको ४८–४८ मतभार छन् । 

स्थानीय तहमा भने कांग्रेस पहिलो छ । स्थानीय तहमा १७५ मतदातामध्ये कांग्रेसका ७४, एमालेका ७१, माओवादीका १७ र एकीकृत समाजवादीका १३ जना छन् ।



प्रदेशमा कांग्रेसको मतभार एक हजार ३३२ छ भने एमालेको एक हजार २७८ हुन्छ । माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २३४ छ । 

स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो देखिएको छ । कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा एक हजार ९०८ हुन आउँछ । एमालेको एक हजार ८०४ छ भने माओवादी केन्द्रको ९२७ र एकीकृत समाजवादीको ९०६ मतभार रहेको छ ।  यसरी सुदूरपश्चिममा गठबन्धन दलका उम्मेदवारको जित सुनिश्चित देखिएको छ ।

राष्ट्रिय सभा ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार बुधबार निर्वाचन हुन लागेको हो । 

राष्ट्रिय सभा सदस्यमा खुलातर्फ निर्वाचित भएका शेरबहादुर कुँवर, दलिततर्फ चक्रप्रकाश स्नेही र महिलातर्फ तारादेवी भट्टको फागुन २० गते पदावधि सकिँदै छ । उनीहरुको स्थानमा राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न निर्वाचन हुन लागेको हो ।

देशभर राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदै छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । सातै प्रदेशबाट १९ जनाका लागि निर्वाचन हुँदै छ ।

  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १९:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया