जो पहिले राष्ट्रियसभा सदस्य हुन राष्ट्रपतिबाट रोकिए, अहिले उनीहरू नै निर्वाचित भए

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य नियुक्त गर्न चार वर्षअघि गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गर्‍यो ।

पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा त्यतिबेला पनि प्रधानमन्त्री थिए । उनको सिफारिस राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरिनन् । यो प्रसंग २०७४ माघको हो ।

एक सातापछि ३, फागुन २०७४ मा प्रधानमन्त्रीको रूपमा तत्कालीन नेकपा अध्यक्षसमेत रहेका सोही पार्टीको संसदीय दलका नेता केपी शर्मा ओली नियुक्त भए ।

जतिबेलासम्म देउवाले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले तीन जनालाई नियुक्त गरेकी थिइनन् ।

अन्ततः ओली प्रधानमन्त्री भएपछि देउवाले गरेको सिफारिस र राजनीतिक नियुक्तिहरू धमाधम उल्ट्याए । राष्ट्रियसभा सदस्यको रूपमा सिफारिस भएका तीनै जना नियुक्त भएनन् । अर्थात् अस्वीकृत भए ।

उनीहरूको ठाउँमा रामनारायण विडारी, डा. विमला राई पौडेल र डा. युवराज खतिवडा सिफारिस भएर नियुक्त भए ।



तर, राष्ट्रपति भण्डारीबाट रोकिएकामध्ये दुई जना भने निर्वाचन लडेरै राष्ट्रियसभा सदस्य भएका छन् । उनीहरू हुन् –पौडेल र बस्नेत । जोशी भने उम्मेदवार थिइनन् ।

बुधबार भएको राष्ट्रियसभा निर्वाचनबाट पौडेलको सहज जित भयो । उनले ४७९४ मतभारसहित निर्वाचन जिते ।



बस्नेतको जित भने सहज भएन । एमालेका उम्मेदवार गुरु बरालसँग उनको बराबरी मतभार भएपछि जितको निर्णय लट्री प्रणालीबाट लिइएको थियो । लट्रीबाटै बस्नेत निर्वाचित भएका हुन् । उनी भाग्यशाली नेता बनेका छन् ।

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १९:२५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया