‘एमालेले अझै हामी कमजोर छैनौं भन्नु मूर्खता हो’

हिजो मात्रै भएको राष्ट्रियसभा निर्वाचनपछि यतिबेला राजनीतिक दलहरू यसका पटाक्षेप केलाइरहेका छन् । पाँच दलीय सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य प्रतिस्पर्धा भएको यो निर्वाचनले आसन्न स्थानीय निर्वाचनको खाका कोरेको गठबन्धनका नेताहरू बताउन थालेका छन् ।

सँगसँगै राजनीतिक दलका नेताहरूले कुन दललाई कति घाटा ? कति नाफा भनेर पनि हिसाबकिताब सुरु गरिसकेका छन् ।

निर्वाचन सुरु हुनु अघिसम्म नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सातै प्रदेशमा गठबन्धनको जीत दाबी गरेका थिए । यद्यपि, प्रदेश १ मा एक्लो एमालेले जीत निकालेपछि गठबन्धनका नेताहरू नै ‘चकित’ बने ।

राष्ट्रियसभा निर्वाचनमा रिक्त २० मध्ये बुधबार भएको १९ पदको निर्वाचनमा गठबन्धनले १८ र एमालेले १ सिट हात पारेको छ ।

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल यो निर्वाचनले गठबन्धनलाई सफलता मिलेको मात्र नभई गठबन्धन बलियो भएको सन्देश पनि दिएको दाबी गर्छन् ।

फरकधारसँगको कुराकानीका क्रममा गजुरेलले एमालेलाई कमजोर बनाएर प्रतिगमन परास्त गर्नका लागि गठबन्धनको मोर्चा अझै कायम हुनुपर्ने तर्क गरेका छन् ।



हामीले उनलाई राष्ट्रियसभा निर्वाचनले दिएको सन्देश के हो ? र स्थानीय निर्वाचनमा गठबन्धन कायमै रहन्छ ? भनेर प्रश्न गरेका थियौं ।

गजुरेलले संक्षिप्त कुराकानी गर्दै भनेका छन्



यो निर्वाचनले गठबन्धनलाई सफलता मिलेको छ । यो कुरा परिणामले देखाएको छ । त्यसले फेरि गठबन्धनलाई पनि युनिफाइड गरेको छ । प्रदेश १ मा गठबन्धन हार्नुको कारण त्यहीँ भित्रबाट अन्तर्घात भएको भन्ने बुझिएको छ । मूलभूत रूपमा गठबन्धन बलियो भन्ने सन्देश यो राष्ट्रियसभाको निर्वाचनले देखाएको छ ।

बुझ्नुपर्ने एउटा कुरा के हो भने, प्रतिगमनको विस्तार विस्तार पराजय हुँदै गएको छ । प्रतिगमन हुँदा कुन पार्टी ठूला वा सानो छ भन्ने विषयले हुँदैन । प्रतिगमन भनेको अन्तर्राष्ट्रिय शक्ति, देशभित्रका राजावादी शक्तिहरू, परिवर्तन विरोधी शक्तिहरू जोडिएपछि सानो भए पनि ठूलो भइहाल्छ ।

अब एमाले सानो हुन्छ अनि प्रतिगमनको खतरा हुँदैन भन्ने होइन । त्यो धेरै कमजोर भएन भने यो वा त्योसँग साँठगाँठ गर्छ । प्रतिगमनको विरोधी मोर्चा अझै कायम हुनुपर्छ भन्ने हो ।

एमालेलाई कमजोर बनाउन पर्यो मुख्य कुरा, किनभने एमाले कमजोर हुँदा मात्र प्रतिगमनकारी शक्तिहरू कमजोर हुने भए । प्रतिगमनका शक्तिहरूको नेतृत्व एमालेले गर्छ । हार्दा-हार्दा सिट कमजोर भइसकेपछि पनि अझै हामी कमजोर छैनौँ भन्नु एमालेको मूर्खता हो ।

  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १७:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया