रुस–युक्रेन तनावलाई लिएर युरोपमा बढ्दो मतभेदः जर्मनीले किन दिएन युक्रेनलाई हतियार ?

रुसले युक्रेनसँगको सीमामा हजारौं संख्यामा सैनिक तैनाथ गरेपछि केही राष्ट्रहरुले युक्रेनलाई आवश्यक परेको खण्डमा सैन्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

यस्तो प्रतिबद्धता जनाउनेमा अमेरिका लगायत नेटो गठबन्धनमा रहेका केही युरोपेली राष्ट्र छन् । 

बेलायतले युक्रेनलाई आवश्यक केही हतियार पठाएको छ । यसअघि नै युक्रेनमा हतियार पठाइसकेको अमेरिकाले अहिले लिथुवानिया नजिक रहेका अमेरिकी हतियार युक्रेनलाई दिन स्वीकृति दिएको छ । 

अमेरिकाको महत्वपूर्ण मित्र तथा युरोपमा सबैभन्दा ठूलो अर्थव्यवस्था भएको जर्मनीले भने युक्रेनमा हतियार नपठाउने निर्णय गरेको छ । जर्मनी नेटो सदस्य राष्ट्र हो । जर्मनीले हातहतियार आफूले प्रत्यक्ष नदिने मात्र होइन इस्टोनियालाई जर्मनमा बनेका हतियार तथा गोला-बारुद युक्रेन पठाउन स्वीकृति दिन नसकिने निर्णय समेत गरेको छ । 

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले जर्मनीको यस फैसलाको आलोचना गरेका छन् । जर्मनीको उक्त निर्णयलाई उनले ‘दुर्भाग्यपूर्ण’ बताएका छन् । उक्त निर्णय मार्फत जर्मनीले रुसको हौसला बढाइरहेको आरोप उनको छ ।  

जर्मनीको यो निर्णयले युरोपमा रुसको कदमलाई लिएर रहेको मतभेद छताछुल्ल भएको छ । यसले यदि रुसले युक्रेनमाथि आक्रमण गरे युरोपेली राष्ट्रहरु के गर्ने भन्नेमा अझै स्पष्ट भइनसकेको देखाएको छ । रुस भने युरोपेली राष्ट्रबीच मतभेद हुँदा आफूलाई बढी फाइदा हुनेमा खुसी छ । 



‘यदि तपाईंको विरोधी एकजुट छैनन् भने त्यो सधै फाइदाजनक हुन्छ । तर अहिले जर्मनी यसको उदाहरण बनिरहेको छ भन्नेमा अमेरिका र युरोप एकमत भइसकेका छैनन्,’ बर्लिनस्थित युरोपियन काउन्सिल अफ फरेन रिलेसन्सका अनुसन्धान निर्देशक जेरेमी शेपिरोले बताए । 



गत साता जब बेलायतले युक्रेनमा आफ्नो एन्टी–ट्याङ्क हतियार पठाएको थियो तब विमान जर्मन हवाइक्षेत्र हुँदै नगई डेनमार्क हुँदै युक्रेन पुगेको थियो । डेनमार्कको हवाइक्षेत्र हुँदै हतियार युक्रेन पठाउँदा पुग्न केही  घण्टा बढी समय लाग्यो, तर जर्मनीसँग अनुमति लिन लाग्ने समय भन्यो बच्यो । यदि जर्मनीको हवाइक्षेत्रबाट पठाउन चाहेको भए अझ बढी समय लाग्ने थियो । अझ भनौं जर्मनीले अनुमति नदिन पनि सक्थ्यो । 

शेपिरोको बुझाईमा युरोप पूर्णरुपमा रुस विरुद्ध छैन । रुसलाई लिएर युरोपेली राष्ट्रहरूबीच मतभेद छ । यो मतभेद देखेर रुस भने खुसी रहेको उनको ठम्याई छ । 

जर्मनीले अहिले युक्रेनलाई हतियार दिन नसक्नुपछि दशकौं पुरानो एक नीतिलाई देखाएको छ । उक्त नीतिका कारण संघर्षमा सहभागी दुवै पक्षमध्ये कसैलाई पनि हतियार दिन नमिल्ने दाबी जर्मनीले गरेको छ । 

यो नीति दोस्रो विश्वयुद्धको बेलाको हो । तर जर्मनीले यो नीतिको आफू अनुकुल हुनेगरी व्याख्या गर्दै आएको बुझाई शेपिरोको छ । जर्मनीले यो नीतिको पूर्णरुपमा पालना नगरेको आरोप उनको छ । 

सन् २०२० मा फ्रयाङ्कफर्ट पिस रिसर्च इन्स्टिच्युटले एक अध्ययन गरेको थियो । अध्ययनमा सन् १९९० पछि जर्मनीको निर्यात नीतिको जाँच गरिएको थियो । यही अध्ययनले जर्मनलीले आफ्नो नीतिको बारम्बार उल्लंघन गरेको देखाएको हो । अध्ययनमा उदाहरण दिइएको छ– यमन युद्धमा जर्मनीमा बनेका हतियार प्रयोग भएका थिए । 

वाशिङ्टनको जर्मन मार्शल फण्डका राजनीतिक विश्लेषक तथा जर्मन इतिहासकार लियाना फिक्सका अनुसार जर्मनले युक्रेनालाई हतियार नदिने निर्णय गरेर रुस र युक्रेनबीचको तनाव कम गर्न चाहेको छ । गत साता मात्रै जर्मनीका रक्षामन्त्री क्रिस्टीन लेम्ब्रैश्टले पनि जर्मनी पछिल्ला दिन रुस र युक्रेनबीचको तनाव कम गर्न लागेको अभिव्यक्ति दिएका थिए । 

‘हतियार सप्लाई गर्दा अहिलेको अवस्था थप राम्रो हुन सक्दैन । हामी तनाव कम गर्न चाहन्छौं,’ उनले भनेकी थिइन् । 

एक जर्मन अखबारलाई दिएको अन्तर्वार्तामा लेम्ब्रैश्टले हतियारको सट्टा आगामी फेब्रुअरीमा चिकित्सकको टीम युक्रेन पठाउ लागिएको बताएकी थिइन् । 

‘जर्मनी रणनीतिक हिसाबले एकदमै ठूलो गल्ती गरिरहेको छ । जर्मनीले आफ्नो प्रतिष्ठालाई खतरामा राखेको छ,’ लिथुवानियाको संसदको राष्ट्रिय सुरक्षा समितिका सभापति लन्रिनास कासयोनासले भनिन् । 

रुस र युक्रेनबीचको तनावमा जर्मनीले गर्ने निर्णयहरु धेरै हदसम्म रुसले उपलब्ध गराउने ग्यासमा निर्भर हुने जर्मनीका इतिहासकार लियाना फिक्सको बुझाई छ । हालैमात्र जर्मनीले युरोपका अन्य राष्ट्र र अमेरिकालाई रुसमाथि प्रतिबन्ध लगाउने विषयमा ‘विवेकपूर्ण निर्णय’ लिने बताएको थियो । 

‘जर्मनी सबै विकल्पमा विचार गरिरहेको छ । तर धेरै निर्णय रुसको ग्यासमा निर्भर हुनेछन्,’ फिक्सले भनिन् । 

जर्मनीमा हुने उर्जा खपतमा एक चौथाई हिस्सा ग्यासको हुने गरेको छ । जर्मनीमा खपत हुने आधाभन्दा बढी ग्यास रुसबाट आउने गर्छ । यसैकारण रुसको आक्रामक रवैयाप्रति कुनैपनि प्रकारको प्रतिक्रिया दिन जर्मनीलाई सहज हुनेछैन । 

लियाना फिक्स थप स्पष्ट पार्छिन्, ‘रुसले ग्यासको प्रयोग एक राजनीतिक हतियारको रुपमा गर्दै आएको छ र जर्मनीलाई रुसको ग्यासले अप्ठेरो पार्दै आएको छ । रुससँग तनाव बढ्यो भने ग्यासका कारण देशभित्र संकट उत्पन्न हुन्छ ।’ 

जर्मनीसम्म ग्यास पुर्याउनको लागि रुस र जर्मनीले संयुक्त रुपमा नोर्ड स्ट्रीम २ पाइपलाइन निर्माण गरिरहेका छन् । बाल्टिक सागर हुँदै आउने १ हजार २२५ किलोमिटर लामो यो पाइपलाइन बन्न पाँच वर्ष लाग्ने छ । 

यो पाइपलाइन निर्माण सम्पन्न भएपछि जर्मनीमा रुसबाट आउने ग्यास युक्रेनको बाटो हुँदै आउने छैन । र, जर्मनी आउने ग्यासको मात्र पनि दुईगुणाले वृद्धि हुनेछ । अहिले रुसबाट जर्मनी आउने ग्यास युक्रेन हुँदै आउने गर्छ । यसबाट युक्रेनलाई पनि कमाई भएको छ । यदि रुसले युक्रनेमाथि आक्रमण गरे जर्मनी नोर्ड स्ट्रीम २ पाइपलाइन आयोजनालाई हरियो झण्डा नदेखाउन सक्छ । 

बर्लिनस्थित युरोपियन काउन्सिल अफ फरेन रिलेसन्सका अनुसन्धान निर्देशक शेपिरो युक्रेनमा हतियार पठाएर परिस्थितीलाई थप तनावपूर्ण बनाउन जर्मनीले नचाहेको स्वीकार्छन् । तर रुसले युक्रेनमाथि आक्रमण गरे जर्मनी अहिलेको अडानबाट पछि हट्ने दाबी शेपिरोको छ । 

फिक्सको बुझाईमा आफ्नो विदेश नीति अनुसार जर्मनीले जहिले पनि रुससँग राम्रो सम्बन्ध बनाउने कोशिश गर्दै आएको छ । तर अहिले समस्या यो छ– रुस युक्रेनको सीमासम्म पुगिसकेको छ, जसले जर्मनीलाई अप्ठेरोमा पार्नसक्छ । 

यो निश्चित छ– यदि रुसले युक्रेनमाथि आक्रमण गरे जर्मनीले युरोपका अन्य राष्ट्र र अमेरिकाको सुरमा सुर मिलाउनु पर्नेछ । त्यतिबेला जर्मनी रुसमाथि कडा प्रतिबन्ध लगाउन बाध्य पनि हुनेछ । 

बिबीसीबाट साभार

  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १३:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया