श्रममन्त्री भन्छन् – न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाही गर्छौं

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारबाही गरिने बताएका छन् । 

युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री विष्टले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुने बताए । 

सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि उक्त योजनामा सहभागी गराइने उनले  बताउए । बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायत सेवा उद्योगको विकास र विस्तार गर्दै व्यवस्थित बनाउन आवश्यक रहेकामा जोड दिँदै उनले ती क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षाले समेट्ने गरी अघि बढ्ने उल्लेख गरे । 

नेपाल ट्रेड युनियन कंग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले सेवा क्षेत्रका श्रमिकलाई संगठित गर्दै उनीहरुको हकअधिकारलाई प्रत्याभूति गराउन मजदूर संगठन क्रियाशील हुनुपर्नेमा जोड दिए । विश्वव्यापी रुपमा सामाजिक प्रजातन्त्रबारे अभियान चलाउँदै आएको संस्था एफइएस नेपालका निर्देशक अनेत्ते सिल्चितले सेवा क्षेत्रमा असंगठित रुपमा रहेका थुप्रै श्रमिकलाई संगठित गर्दै एकताबद्ध बनाउनुपर्ने मत राखे । 

नेदरल्यान्ड ट्रेड युनियन महासंघका क्षेत्रीय संयोजक प्रभु राजेन्द्रले नेपालका श्रमिकलाई लक्षित गरेर नयाँ श्रम ऐन र सामाजिक सुरक्षा कार्यक्रम लागू हुुनु खुसीको विषय भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । नवीनतम् प्रविधिबारे पनि श्रमिकलाई दक्ष बनाउनुपर्नेमा जोड दिँदै उनले सबै क्षेत्रका श्रमिकबीच ऐक्यबद्धताको खाँचो औँल्याए । 

काउन्सिलका उपाध्यक्ष महेन्द्र श्रेष्ठले विकसित प्रविधिले श्रमिकको रोजीरोटी गुम्न सक्नेतर्फ सचेत हुँदै श्रमिकले पनि आफूलाई अद्यावधिक गराउनुपर्ने बताए । 



सम्मेलनमा विभिन्न सेवा क्षेत्रमा काम गर्ने ट्रेड युनियनमा आबद्ध २०० भन्दा प्रतिनिधि र पर्यवेक्षकको सहभागिता छ । 



  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार १६:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया