बागमती प्रदेशको दुई समितिमा एमालेको मात्रै उम्मेदवारी

बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । उनीहरू दुवैजना एमालेका तर्फबाट उम्मेदवार हुन् भने दुवैजना काठमाडौंबाटै निर्वाचित छन् ।

सचिवालयका अनुसार दुवै समितिको भोलि हुने निर्वाचनमा सत्ता गठबन्धनबाट भने उम्मेदवारी दर्ता भएको छैन । आज अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । 

वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिने जनाइएको छ । 

अर्थ तथा विकास समितिमा २० र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना मतदाता छन् । यी दुवै समितिमा एमालेका १२–१२ जना सदस्य रहेका छन् । 

अर्थ तथा विकास समितिका सदस्यहरू सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहेका कारण उनीहरू निर्वाचनमा सहभागी हुने छैनन् । अर्थ तथा विकास समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री भएसँगै उक्त पद रिक्त थियो । 

शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त छ ।



प्रदेशसभा सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्याह्न १२ बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरेको छ । 



  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार २०:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया