बागमती प्रदेश सरकारले आफ्नो प्रदेशमा विपन्न एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा निःशुल्कको व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७८’ सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसँगै अब रक्तसञ्चार सेवा प्रदायकले लिने गरेको शुल्क नलाग्ने भएको हो ।
यसअघि ब्लड ब्याग र परीक्षणको नाममा रकम भुक्तानी गर्नुपर्ने अवस्था रहेकोमा कार्यविधि स्वीकृत भएसँगै विपन्न नागरिक र आकस्मिक उपचारमा रगत लिँदा निःशुल्क रगत उपलब्ध हुने भएको छ । कार्यविधिअनुसार एकजना विपन्न नागरिकले एक आर्थिक वर्षमा बढीमा १० वटासम्म ब्लड ब्याग सेट र रक्तपरीक्षणसहित रक्तसञ्चार सेवा निःशुल्क पाउने छन् ।
त्यस्तै, डायलासिस गराइरहनुपर्ने जस्ता रगत तथा रक्ततत्वसहित बढीमा १० वटासम्म थप ब्लड व्याग सेट र रक्त परीक्षणसहित रक्तसञ्चार सेवा निःशुल्क प्राप्त गर्नेछन् । दुर्घटना, विपदलगायतका आकस्मिक अवस्थाका व्यक्तिले पनि यो सेवा निःशुल्क प्राप्त गर्ने कार्यविधिमा उल्लेख छ ।
कार्यविधिअनुसार रक्तसञ्चार सेवा लिँदा रक्तसञ्चार सेवा प्रदायक संस्थामा विपन्न भएको स्वघोषणा पत्र वा विपन्न परिचय पत्र वा गरिबको परिचय पत्रको प्रतिनिधि, नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहबाट प्रदान गरिएको प्रदेश खुल्ने परिचयपत्रको प्रतिलिपि, रक्तसञ्चारसहित उपचार गराइरहेको वा उपचार गर्ने अस्पतालको सिफारिस पत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्ने छ । दुर्घटना, विपदलगायतका आकस्मिक अवस्थाका व्यक्तिको हकमा उपचारका लागि खटिएका चिकित्सकको सिफारिस आवश्यक पर्दछ । रक्तसञ्चार निःशुल्क गर्दाको रकम स्वास्थ्य मन्त्रालयले सोधभर्ना गर्ने जनाइएको छ ।
‘विपन्न नागरिक र आकस्मिक उपचारमा रक्तसञ्चार सेवा निःशुल्क गर्दा रकम अभावका कारण स्वास्थ्य सेवा लिनबाट बन्चित हुनुपर्ने अवस्थाका नागरिक लाभान्वित हुनेछन्,’ स्वास्थ्य मन्त्री निमा लामाले भने ।
बागमती प्रदेशसभामा यसबारे आवाज उठाउँदै आएका प्रदेश सांसद नरोत्तम वैद्यले पनि प्रदेश सरकारको यो निर्णयको स्वागत गरे । उनले जनउत्तरदायी सरकारले गर्नुपर्ने काम गरेको बताउँदै यसबाट रकम अभावकै कारण रक्तसंचार सेवा लिन समस्या झेलिरहेका विपन्न वर्ग लाभान्वित हुने बताए ।
‘रगत निःशुल्क भएपनि ब्लड व्याग र परीक्षणका नाममा रकम भुक्तानी गर्नुपर्ने अवस्था थियो, अब ब्लड व्याग र परीक्षणबापतको रकम स्वास्थ्य मन्त्रालयले सोधभर्ना दिने भएपछि सम्पूर्ण रक्तसंचार सेवा निःशुल्क हुने भयो, यो स्वागत योग्य काम भयो,’ उनले भने ।
सरकारको यो निर्णयसँगै बागमती प्रदेशका वीर, पाटन जस्ता ब्लड बैंक भएका सरकारी अस्पताल र जिल्लास्थित रेडक्रस सोसाइटीमा रहेको ब्लड बैंकबाट निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध हुने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।