युक्रेनमा रुसले आक्रमण गर्ने बढ्दाे आशंकाका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हप्ता युरोपमा थप सेना पठाउने निर्णय गरेका छन् । बाइडेनले युरोपको सिमानामा करिब २ हजार सैनिक पठाउने भएका हुन् । याे जानकारी ह्वाइट हाउसका एक अधिकारीले दिएका छन् ।
युक्रेनसँग सीमा जोडिएको क्षेत्रमा रुसले करिब १,००,००० सेना तैनाथ गरेको छ । रुसले युक्रेन अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नाटोमा सामेल भएको चाहँदैन ।
रुसले दक्षिणी युक्रेनको क्रिमियालाई आफ्नो कब्जामा लिएको आठ वर्षपछि यो संकट आएको हो ।
रुसले युक्रेनले विगतमा शान्ति स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयन गर्न असफल भएको आरोप लगाएको छ । युक्रेनको पूर्वी भागमा रुसी समर्थित विपक्षीहरूको प्रभुत्व रहेको छ र सन् २०१४ देखि यहाँ कम्तीमा १४ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।
युरोपमा पठाइने अमेरिकी सेनाहरू युद्धमा संलग्न हुने छैनन्, तर तिनीहरूले अमेरिकाका सहयोगी देशहरूलाई जोगाउन मद्दत गर्नेछन् ।
यसअघि पेन्टागनले गत महिना युद्धको अवस्थामा युरोपलाई सहयोग गर्न साढे आठ हजार सैनिकलाई तयारी अवस्थामा राख्ने घोषणा गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।