पाल्पामा एक लाख एघार हजारले गराए स्वास्थ्य बिमा

पाल्पा– जिल्लामा अहिले स्वास्थ्य बिमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि सुरुआत गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार दुई सय ५० जना नागरिक आबद्ध छन् । 

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार आठ सय ७० पुरुष र ५९ हजार तीन सय ८० महिलाले स्वास्थ्य बिमा गराएका छन् । गएको असार मसान्तसम्म दुई हजार पाँच सय नागरिकले स्वास्थ्य बिमा गराएका थिए भने साउनबाट यही मंसिर १ गते सम्म २८ हजार आठ सय ५० जना नयाँ थपिएका छन् । 

जिल्लामा पाँच हजार पाँच सय ४२ घरपरिवारले स्वास्थ्य बिमामा नाम दर्ता गराएका छन् । ‘जिल्लामा नयाँ नाम दर्ता गराउनेको आकर्षण ह्वात्तै बढेको छ, भने नवीकरण गर्ने कार्यमा भने आकर्षण कम रहेको छ,’ ज्ञवालीले भने । 

आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गरेका छन् । 

रामपुर अस्पतालमा पनि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने बिरामीको भिड छ । यहाँ दैनिक दुई सय ५० हाराहारीमा बिरामी औषधि उपचारका लागि आउने गरेको अस्पतालका मेसु डाक्टर बिनेश झा बताउँछन् । 

स्वास्थ्य बिमा गरेपछि बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बिमाका लागि बिमाकर्ताले घर–घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बिमा गराउन सहज भएको छ । 





  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार १४:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया