मेटाको सेयर घट्दा जुकरबर्ग शीर्ष १० धनीको सूचीबाट बाहिरिए

फेसबुक प्रयोगकर्तामा आएको गिरावटका कारण मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति पनि घटेको छ । मेटाको सेयरमा करिब २५ प्रतिशतले गिरावट आउँदा मार्क जुकरबर्गको सम्पत्ति एकै दिनमा ३१ अर्ब डलरले घटेको हो ।

योसँगै जुकरबर्ग विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीबाट बाहिरिएका छन् । उनी धनीहरूको शीर्ष १० सूचीबाट बाहिरिएको सन् २०१५ पछि यो पहिलो पटक हो ।

मेटाको सेयरको मूल्यमा आएको गिरावटका कारण मेटाका सह-संस्थापक डस्टिन मोस्कोभिट्जको सम्पत्ति पनि करिब ३ अर्ब डलरले घटेर २१.२ बिलियन डलर पुगेको छ । डस्टिन विश्वको ७९ औं धनी व्यक्ति हुन् ।

उनीसँग हाल ९२ अर्ब डलरको नेटवर्थ छ, जुन बुधबार बजार बन्द हुँदा १२०.६ बिलियन डलरभन्दा माथि छ । सेयरको मूल्यमा आएको गिरावटले व्यक्तिको सम्पत्तिमा उल्लेख्य कमी आएको यो दोस्रो घटना हो ।

यसअघि टेस्लाका एलोन मस्कले नोभेम्बरमा सेयरको गिरावटका कारण एकै दिनमा ३५ अर्ब डलर गुमाएका थिए । टेस्लाको सेयर घट्नुको कारण मस्क आफैँ थिए । उनले ट्विटर पोलमार्फत मानिसलाई टेस्लाको १० प्रतिशत सेयर बेच्ने कि नबेच्ने भनेर सोधेका थिए ।

मेटाले जारी गरेको त्रैमासिक प्रतिवेदनअनुसार सन् २०२१ को चौथो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा फेसबुकका आधा मिलियन (लगभग ५ लाख) विश्वव्यापी दैनिक प्रयोगकर्ता घटेका छन् । दैनिक प्रयोगकर्ता घटेको २००४ मा फेसबुकको स्थापनापछि यो पहिलो पटक हो ।



यस अवधिमा कम्पनीको नाफा पनि घटेको छ । मेटाको रिपोर्टअनुसार ह्वाट्सएप र इन्स्टाग्रामका प्रयोगकर्ता वृद्धि पनि नगण्य रहेको छ । १७ वर्षमा पहिलो पटक फेसबुकका प्रयोगकर्ता र आम्दानी दुवैमा गिरावट आएको छ ।

मेटाको त्रैमासिक वित्तीय विवरणमा फेसबुकको दैनिक सक्रिय विश्वव्यापी प्रयोगकर्ताको संख्या १.९३० बिलियनबाट घटेर अहिले १.९२९ बिलियन पुगेको देखाएको छ । विश्वभर यसको ५ लाख प्रयोगकर्ता घटेका छन् ।



मेटाले डिसेम्बर क्वाटरमा १०.३ बिलियन डलर कमाएको छ । यस अवधिमा कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा २८.१ अर्ब डलरबाट बढेर ३३ अर्ब ६७ करोड पुगेको छ । तर, प्रतिसेयर आम्दानी ३.८८ डलरबाट घटेर ३.६७ डलरमा झरेको छ ।

  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १४:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया