प्रहरी प्रशासन
किन छुट्टाछुट्टै सूचना दिन्छन् प्रहरी अधिकारी ?

काठमाडौं– समाजको विश्वास छ– प्रहरी त्यस्तो संस्था हो जसले दिने सूचना आधिकारिक हुन्छन् । समाजका अनेक घटनाबारे रहेका द्विविधा हटाउन पनि प्रहरीलाई विश्वसनीय स्रोतका रूपमा लिइन्छ । सञ्चारमाध्यमका लागि पनि प्रहरी सूचना दिने विश्वसनीय संस्था हो ।

तर, यही कुरा नेपाल प्रहरीको सन्दर्भमा लागू हुँदैन । यसका लागि अनेक दृष्टान्त छन् । पछिल्लो हो, निर्मला हत्या प्रकरणका पछिल्ला घटनाक्रम । 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला हत्याकाण्डबारे प्रहरी अहिले अनुसन्धानमा छ । त्यसैले विभिन्न मिडियाले बारम्बार प्रहरीसँग यस विषयमा चासो राखिरहेका हुन्छन् । 

१९ मंसिरमा पनि त्यस्तै भयो । विभिन्न सञ्चारमाध्यममा समाचार ब्रेक गरियो– निर्मला प्रकरणमा काठमाडौंबाट एक व्यक्ति पक्राउ ।

प्रहरी स्रोत, प्रहरी उच्चस्रोत, गोप्य स्रोत र एक प्रहरी अधिकारीको हवाला दिँदै समाचार ब्रेक भएको थियो । तर, फरकधारले यसबारे बुझ्न प्रहरी प्रवक्ता उत्तमराज सुवेदीसँग सम्पर्क गर्यो । उनले समाचार झुटो भएको भन्दै अस्वीकार गरे– कोही पक्राउ परेको छैन । 

त्यतिवेलासम्म नेपालका अनलाइनले काठमाडौंबाट एकजना पक्राउ परे भन्दै समाचार ब्रोडकास्ट गरिसकेका थिए । यसलाई पुष्टि गर्न कसैले केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख नीरजबहादुर शाही, कसैले प्रहरी आइजिपी सर्वेन्द्र खनाल, कसैले अन्य प्रहरी अधिकारीको स्रोत प्रयोेग गरेका थिए ।



त्यसको भोलिपल्ट काठमाडौंबाट प्रकाशित अधिकांश ब्रोडसिट पत्रिकाले पनि यो समाचारलाई प्राथमिकता दिए । त्यसका लागि पनि प्रहरीका विभिन्न अधिकारीको भनाइलाई स्रोतको हवाला दिँदै राखिएको थियो । 

२० गते पनि यो समाचारले अनलाइन मिडियामा पनि प्राथमिकता पायो । तर, अघिल्लो दिनभन्दा फरक २० गते फेरि प्रहरी अधिकारीलाई स्रोतका रुपमा उद्धृत गर्दै मिडियामा समाचार आयो– काठमाडौंबाट कोही पक्राउ परेका छैनन् ।



दुई दिनको अन्तरालमा एउटै विषयमा आएका यी फरक–फरक समाचारले थप अन्योल सिर्जना गर्यो । 

अन्योलको खास कारक अरू केही नभएर प्रहरी अधिकारीले नै दिएको सूचना हो । आखिर एउटै घटनाको पनि किन छुट्टाछुट्टै सूचना दिन्छन् त प्रहरी अधिकारी ?

सञ्चारमाध्यममा आएका समाचारले प्रहरी संगठन नै अन्योलमा परेको बताउँछन्, प्रहरी प्रवक्ता उत्तमराज सुवेदी । निर्मला प्रकरणमा, विशेषगरी पछिल्लो दुई दिनमा प्रहरीका उच्च अधिकारीले केही नबोलेको तर सञ्चारमाध्यमले स्रोत भन्दै लेखेको उनले निक्र्योल निकालेका छन् । 

सञ्चारमाध्यमले उच्च स्रोत र गोप्य स्रोत भन्दै समाचार लेखे पनि यस विषयमा प्रहरीले आधिकारिक रूपमा केही नबोेलेको स्पष्टीकरण दिएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी भन्छन्, ‘निर्मला प्रकरणमा पछिल्लो समय कुनै उच्च अधिकारीले बोलेका छैनन् ।’ 

निर्मला प्रकरणको अनुसन्धान ‘न्यारो डाउन’ भएको स्विकार्दै सुवेदी भन्छन्, ‘आधिकारिक रूपमा यस विषय (निर्मला प्रकरण)मा कसैले केही बोलेका छैनन् ।’

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल पनि प्रहरी उच्च अधिकारीले निर्मला प्रकरणमा केही नबोलेको बताउँछन् । फरकधारसँगको कुराकानीमा उनले भने, ‘हाम्रा कोही अधिकारीले यस विषयमा बोलेका छैनन् ।’

निर्मला प्रकरणमा पछिल्लो समय अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख नीरजबहादुर शाही पनि प्रहरीले यस विषयमा नबोलेको दाबी गर्छन् । 

निर्मला प्रकरण अनुसन्धानका क्रममा रहेको विषय भएकाले प्रहरीले अपुष्ट सूचना खुलाउन नमिल्ने बताउँदै उनले भने, ‘अनुसन्धानका क्रममा रहेको कुनै कुरा हामी पुष्टि नहुँदासम्म खुलाउँदैनौँ,’ शाही अगाडि थप्छन्, ‘कसैले खुलाएको पनि छैन ।’

अनुसन्धान प्रक्रियामा रहुन्जेल प्रहरीले कुनै पनि कुरा सार्वजनिक नगर्ने दाबी गर्दै आइजिपी खनाल उल्टै सञ्चारमाध्यमलाई दोष लगाउँछन् । खनाल भन्छन्, ‘सञ्चारमाध्यमले गोप्य स्रोत र स्रोत भन्दै हामीले नबोलेका कुरा लेखे ।’

सञ्चारमाध्यमले प्रहरीले बोलेको कुरालाई मोडेर प्रस्तुत गरेको बताउँछन्, प्रवक्ता सुवेदी । समाचार पढेर आफूहरू हाँस्ने गरेको बताउँदै उनले भने, ‘आइजिपी साब, सिआइबी प्रमुख र म धेरैजसो सँगै हुन्छाैँ । मिडियाका साथीले फोन गर्छन्, हामीले केही कुरा खोलेकै हुँदैनाैँ, तर समाचारमा भने लेखिएको हुन्छ । अनि समाचार पढेर हामी हाँस्छौँ ।’

नबोलेको कुरा लेख्ने, सूचना बंग्याउने परिपाटीले सञ्चारमाध्यम अनियन्त्रित भएकोतर्फ संकेत गर्दै आइजिपी खनाल भन्छन्, ‘अब कसलाई तह लगाउने ?, हामी सार्वजनिक गर्छाैं, आवश्यक कुरा भन्छौँ भन्दाभन्दै मिडियाले हचुवाका भरमा लेखिसक्छन् ।’

स्रोत, गोप्य स्रोत र उच्च अधिकारी भनेर लेखिएका समाचार आधिकारिक नभएको दाबी गर्छन्, सिआइबी प्रमुख शाही । सञ्चारमाध्यममा आएका समाचारमाथि प्रश्न गर्दै उनी भन्छन्, ‘स्रोत, गोप्य स्रोत र उच्च अधिकारी भनेको के हो ?’ फरकधारसँगको कुराकानीमा उनले भने, ‘प्रहरीले सबै सूचना केन्द्रीय प्रहरी प्रवक्तामार्फत पठाउँछ ।’ 

प्रहरी प्रवक्ताले बोलेको कुरा मात्रै आधिकारिक हुने उनले बताए । गोप्य स्रोतका नाम खुलाउन आग्रह गर्दै उनी प्रश्न गर्छन्, ‘यस्ता स्रोत र गोप्य स्रोत त म यहीँ कोठामा बसेर पनि बनाउन सक्छु हैन र ?’

प्रहरीले अनुसन्धान गरिरहेको विषय पुष्टि भएपछि मात्रै आधिकारिक तथ्य सार्वजनिक गर्ने बताउँदै स्रोत र गोप्य स्रोतमा भर नपर्न पनि शाही आग्रह गर्छन् । प्रहरी प्रवक्ता सुवेदी पनि प्रहरीले पुष्टि नभएको कुरा सार्वजनिक नगर्ने भएकाले स्रोत र गोप्य स्रोतलाई आधिकारिक नठान्न आग्रह गर्छन् ।

किन हुन्छ यस्तो ?
एउटै विषयमा फरक–फरक समाचार आउनुमा प्रहरी र मिडिया दुवैले हतारो गरेको बताउँछन्, पूर्वडिआइजी हेमन्त मल्ल । उनी भन्छन्, ‘अनुसन्धानजस्तो गम्भीर विषयमा मिडियाले समाचार लेख्न हतारो गर्नु र प्रहरीले पनि पुष्टि नभईकनै सूचना दिने हतारो गर्दा यस्तो अन्योल भएको हो ।’

तर, प्रहरी भने मिडियाले आधिकारिक व्यक्तिसँग कुरा नगरेकै कारण एउटै विषयमा फरक–फरक समाचार आएको बताउँछ । सिआइबी ब्युरो प्रमुख शाही भन्छन्, ‘आधिकारिक व्यक्तिसँग सूचना नलिएकै कारण एउटै विषयमा फरक–फरक समाचार आएका हुन् ।’ 

स्रोत र गोप्य स्रोतको भर पर्दा सर्वसाधारणमा गलत सूचना गएको शाहीको ठहर छ । शाही भन्छन्, ‘आधिकारिक मान्छेसँग कुरा नगर्ने, अनि सूचना मिलेन, एउटै भएन भन्ने ?’ 

आइजिपी खनाल पनि मिडियाले समाचार ब्रेक गर्न हतारो गरेकै कारण एउटै विषयमा फरक–फरक समाचार आएको बताउँछन् । 
प्रहरी र मिडियाको विश्वसनीयतामाथि नै प्रश्न ?

समाचार स्रोतको नाम नखुलाउँदा, आधिकारिक व्यक्तिसँग कुरा नगर्दा मिडियाको मात्रै नभई प्रहरीको विश्वसनीयतामाथि पनि शंका उब्जिएको ठान्छन्, पूर्वडिआइजी मल्ल ।

अनुसन्धानको गाम्भीर्य नबुझी मिडियाले समाचार प्रकाशन–प्रशारण गर्नु र प्रहरीले पनि अनुसन्धान गोपनीयताको ख्याल नगरेका कारण दुवैको भूमिकामाथि शंका गर्न सकिने मल्लको ठहर छ । 

स्रोत र गोप्य स्रोतको हवाला दिँदै आएका समाचारले प्रहरी अनुसन्धानप्रति गम्भीर नदेखिएको उनको भनाइ छ । उनी भन्छन्, ‘यो त खेलाँची गरेजस्तो भएको छ । आलोकाँचो समाचार बाहिर आउन हुँदैन ।’ 

निर्मला प्रकरणमा यसअघि पनि विभिन्न समयमा शंकास्पद व्यक्ति अनुसन्धानका लागि भन्दै पक्राउ परेका समाचार बाहिरिएका थिए । तर, पक्राउ परेका सबै निर्दोष सावित भएका थिए । 

निर्मला प्रकरणमा यसअघि पक्राउ परेका व्यक्ति निर्दोष सावित भएको उदाहरण दिँदै मल्ल भन्छन्, ‘यसअघि पनि शंकास्पद व्यक्ति पक्राउ गर्दा, अपराधी नै पक्राउ परेको जस्तो गरिएको थियो । तर, ती सबै निर्दोष देखिएका थिए । जसकाकारण प्रहरी मात्रै होइन, मिडियाले पनि विश्वसनीयता गुमाएको थियो ।’ 

पछिल्लो समय पक्राउ परेको ‘हो’ र ‘होइन’ भन्ने दुईथरी अभिव्यक्ति प्रहरी संगठनभित्रैबाट आउँदा प्रहरीमाथिको विश्वास संकटमा परेको मल्ल बताउँछन् । ‘यो हो र होइन भन्ने कुराले प्रहरीको क्रेडिबिलिटीमै प्रश्न उब्जिसक्यो,’ मल्लले भने । 

‘यस्ता समाचार आउँदा जनमानसमा पनि द्विविधा हुन्छ र भोलि सत्य सावित भएन भने जनआक्रोश पनि बढ्छ,’ मल्लले भने । जनआक्रोश बढेपछि प्रहरीका लागि थप अर्को समस्या निम्तिने पनि मल्लको ठहर छ । 

मल्ल भन्छन्, ‘कानुनले पनि अनुसन्धानबाट प्रमाणित नभई कसैको नाम सार्वजनिक नगर्न भन्छ,’ मल्ल प्रहरीलाई प्रश्न गर्दै अगाडि थप्छन्, ‘अनुसन्धानका क्रममा धेरै मान्छेसँग सोधपुछ हुन्छ अनि के सबैको नाम बाहिर पठाउने ?’

यता, आइजिपी खनाल भने मिडियाले शंकास्पद व्यक्तिको नाम सार्वजनिक गरेर अनुत्तरदायी काम गरेको बताउँछन् । उनी भन्छन्, ‘पहिलो कुरा पक्राउ परेको हो, होइन पुष्टि भएको छैन । दोस्रो कुरा, शंकास्पद व्यक्तिको नामै उल्लेख गरेर मिडियाले व्यक्तिको सामाजिक प्रतिष्ठामा चोट पुर्यायो ।’ 

प्रहरीले आफ्नो विश्वसनीयता कायम राखिराख्न पनि अपुष्ट सूचना बाहिर दिन नहुने तर्क गर्छन्, मल्ल । भन्छन्, ‘प्रहरीले आफ्नो विश्वसनियताका लागि पनि यसरी आलोकाँचो समाचार बाहिर दिन हुँदैन ।’

अपराध पुष्टि नहुँदासम्म कसैको नाम सार्वजनिक नगर्ने दाबी प्रहरी प्रवक्ताको छ । उनी भन्छन्, ‘पक्राउ पर्दैमा हामी कसैको नाम उल्लेख गर्दैनौँ,’ प्रवक्ता उल्टै सञ्चारमाध्यमलाई प्रश्न गर्दै भन्छन्, ‘मिडियाले किन नाम उल्लेख गर्यो ?’

प्रवक्ताको कुरामा सही थप्दै सिआइबी ब्युरो प्रमुख शाही भन्छन्, ‘अनुसन्धानको प्राविधिक पक्ष र अन्य पक्षबाट अपराध पुष्टि भएपछि मात्रै हामीले नाम सार्वजनिक गर्ने हो । अनुसन्धानका क्रममा रहेको कुनै कुरा हामी पुष्टि नहुँदासम्म खुलाउँदैनौँ ।’

प्रहरी अधिकारीले अपराध पुष्टि नहुँदासम्म नाम सार्वजनिक गर्दैनौँ भनिरहँदा सञ्चारमाध्यममा भने १९ गते साँझ काठमाडांैबाट पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक भइसकेको थियो ।

अनुसन्धानका क्रममा आलोकाँचो समाचार बाहिर आउँदा अनुसन्धान नै प्रभावित हुन सक्ने मल्लको ठहर छ । अनुसन्धानमै खलल पुग्ने गरी प्रहरी अधिकारीले सूचना चुहाउनु र मिडियाले समाचार लेख्नुले अनुसन्धान नै बिथोलिन सक्ने मल्लको भनाइ छ । उनी भन्छन्, ‘यसरी आलोकाँचो सूचना समाचार बन्दा अनुसन्धान प्रभावित हुन्छ ।’ 

निर्मला प्रकरणमा सारा देश नै आक्रोशित भइरहेको समयमा यसरी अपुष्ट सूचना बाहिरिँदा जनआक्रोश बढ्ने सम्भावनातर्फ औँल्याउँदै मल्ल भन्छन्, ‘सबैतिर निर्मला प्रकरणले आक्रोश बढिरहेको समयमा अपुष्ट समाचार बाहिर आउँदा अर्को दुर्घटना हुन सक्छ ।’

सूचना र अनुसन्धान परिपक्व नभई सूचना चुहावट गर्दा प्रहरीले यसको ठूलो मूल्य चुकाउनुपर्ने मल्लको ठहर छ । मल्ल भन्छन्, ‘सूचना र अनुसन्धान परिपक्व हुन पर्खिनुपर्छ । लुकाएर अनुसन्धान गर्नुपर्ने विषय यसरी खुला गर्दा प्रहरीले ठूलो मूल्य चुकाउनुपर्छ ।’

सञ्चारमाध्यमप्रति प्रहरीको आक्रोश 
उच्च स्रोत, गोप्य स्रोत र प्रहरी अधिकारीको हवाला दिँदै समाचार लेखेर, सञ्चारमाध्यमले अनुसन्धान प्रभावित गर्ने काम गरेको आरोप प्रहरीको छ । 
प्रहरी प्रवक्ता सुवेदी भन्छन्, ‘यसरी उच्च स्रोत र गोप्य स्रोत भनेर लेख्नाले अनुसन्धान प्रभावित हुन्छ । सञ्चारमाध्यमलाई सचेत हुन आग्रह गर्दै सुवेदी भन्छन्, ‘यसरी नलेख्नुहोस् । टीकाटिप्पणी नर्गुहोस् ।’ 

प्रहरीले आवश्यक सूचना नलुकाउने वाचा गर्दै प्रहरी प्रमुख खनाल सञ्चारमाध्यमलाई हतार नगर्न अनुरोध गर्छन् । खनालको कुरामा सहमत हुँदै सिआइबी ब्युरो प्रमुख शाही भन्छन्, ‘अपुष्ट समाचारले प्रहरी अनुसन्धानमा प्रभाव पार्न सक्छ । सही सूचना सही समयमा र सही व्यक्तिबाट दिने विषयमा प्रहरी सचेत छ ।’
 

  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार १७:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया