स्थानीय तह निर्वाचन : तयारी सुरु भयो, मिति घोषणा हुन सकेन
फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव २०७९ जेठ ४ गतेभित्र हुने बताए पनि मिति अझै घोषणा हुन सकेको छैन । स्थानीय तहको मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारसँग परामर्शसमेत गरिसकेको छ । आयोगसँग सरकारले एकै चरणमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी गरे तापनि औपचारिक घोषणा भने गर्न सकेको छैन । निर्वाचनको मिति घोषणा नभए पनि सम्बन्धित निकायले तयारी तीव्र पारेका छन् ।

गृहको आन्तरिक तयारी

स्थानीय तहको निर्वाचनलाई लिएर गृह मन्त्रालयले पनि सुरक्षाको आन्तरिक तयारी सुरु गरिसकेको छ ।

गत बुधबार केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । 

गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सुरक्षा योजना पेश गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।  छलफलमा गृहसचिव टेकनारायण पाण्डे, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी थिए  ।

जेठ ४ कै तयारीमा छौँ : आयोग



आयोगले स्थानीय तहको निर्वाचनको औपचारिक रूपमा मिति घोषणा नभए तापनि जेठ ४ गतेकै आसपासमा तयारी गरिरहेको जनाएको छ । माघ १८ गते सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने आयोगसँग समझदारी गरेअनुसार तयारी गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । 

उनले आयोग र सरकारबीच एकै चरणमा निर्वाचन गर्ने समझदारी भए तापनि औपचारिक मिति घोषणा गर्ने काम सरकारले गर्ने बताए । शर्माले भने ‘प्रधानमन्त्रीज्युसँग मंगलबार छलफल भइसकेको छ । प्रधानमन्त्री र मन्त्रीहरूसहित हाम्रो आयोगका पदाधिकारीसँगको छलफलमा ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको थियो । 



उनका अनुसार छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो । आयोगले समझदारी गरेको मितिलाई लक्षित गरी सोहीअनुसार तयारी गरेको पौडेलले बताए ।  

क्याबिनेटले छिटै निर्णय गर्नसक्छ : पुष्पा भुसाल

नेपाली कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले सरकारले छिट्टै स्थानीय तहको निर्वाचन घोषणा गर्ने बताइन् । स्थानीय तहको निर्वाचनलाई लिएर कांग्रेसभित्र मतभेद नरहेको भन्दै उनले आयोगको परामर्श सरकारले लिइसकेकोले छिट्टै स्थानीय तहको निर्वाचन घोषणा हुने विश्वास दिलाइन् । 

नेतृ भुसालले भनिन्, ‘निर्वाचन घोषणाको विषयमा सरकारले आफ्नो तयारी गर्दै छ । पार्टीभित्र स्थानीय निर्वाचनलाई लिएर कुनै समस्या छैन, गठबन्धनमा पनि यो विषयमा सहमति भइसकेकोले सरकारले तयारी पूरा गरेर छिट्टै निर्वाचनको मिति घोषणा हुन्छ । तर, पार्टीको आन्तरिक कुरामा लिएर मितिमा अलमल हुँदैन ।’  

मितिलाई लिएर गठबन्धनमा समस्या छैन : देव गुरुङ

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ भने स्थानीय निर्वाचनको मितिलाई लिएर गठबन्धनमा कुनै समस्या नरहेको बताउँछन् । उनले प्रधानमन्त्रीले नै जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन गराउने बताइसकेकोले थप टिप्पणी आवश्यक नपर्ने तर्क दिए ।

गठबन्धनले जुन किसिमको सहमति गरेको छ सोहीअनुसार नै सरकारले मिति घोषणा गर्ने गुरुङले बताए । उनले एमसीसी र स्थानीय तहको निर्वाचन फरकफरक विषय भएकोले सरकारले निर्वाचन मिति घोषणा गर्ने कुराले गठबन्धनमा असर नपर्ने बताए । 

एमालेको दबाब

स्थानीय तहको निर्वाचनको मिति घोषणा गराउन नेकपा एमालेले निरन्तर दबाब दिइरहेको छ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले देशभर सडक बहस गरिरहेको छ भने युवा संघले निरन्तर प्रदर्शन गरिरहेको छ । नेकपा एमालेका नेताहरूले सार्वजनिक कार्यक्रममा सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न नसकेको भन्दै आलोचना गरिरहेका छन् ।

यस्तै,  माघ ९ गते एमाले अध्यक्ष ओलीले एक वक्तव्य जारी गर्दै भनेका थिए,  ‘स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा (एमाले) को स्पष्ट, द्विविधारहित र दृढ अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोकाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुने छैन ।’ 

एमसीसीको प्रभाव गठबन्धन

स्थानीय तहको निर्वाचन घोषणा हुन नसक्नुमा एमसीसीका कारण पनि देखिन्छ । देउवा स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई सँगै लान चाहन्छ तर एमसीसीको कारण गठबन्धन टुट्ने डरले पनि स्थानीय तहको निर्वाचन घोषणमा आलटाल देखिन्छ ।

  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १९:३६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया