नेपालमा बनेकाे पहिलाे चलचित्र ‘आमा’
दुर्गाप्रसाद भन्छन्– पञ्चायत प्रचारका लागि राजाको आदेशमा ‘आमा’ बनायौँ

बागबजारस्थित रत्न पुस्तक भण्डारको भित्री कक्ष । मूलढोकाबाट भित्र पस्नेबितिकै भित्र एक पाको मानिस कागजका पानाहरूमा केही लेखिरहेका छन् । कापीका पानामा स्टिच गरिएको छ । त्यहाँ निलो मसीले अक्षर कुँदिँदै छन् ।

बनारसमा स्थायी बसोवास गरिरहेका साहित्यकार/साहित्यिक पत्रकार दुर्गाप्रसाद श्रेष्ठको अहिलेको दैनिकी नै हो– रत्न पुस्तक भण्डार आउनु । नेपाल आएका बेला उनी दैनिक बागबजारस्थित रत्न पुस्तक भण्डारमा भेटिन्छन् । रत्न पुस्तकका सञ्चालक गोविन्दप्रसाद श्रेष्ठले दुर्गाका लागि लेखपढ गर्ने ठाउँ बनाइदिएका छन् । उनी अहिले त्यहीँ बसेर भारतीय लेखक रवि शंकरको कृति अनुवाद गर्नमा व्यस्त छन् । 

साहित्यकार/पत्रकारबाहेक दुर्गाको अर्को परिचय पनि छ । नेपालमा निर्माण भएको पहिलो चलचित्र ‘आमा’ का लेखक तथा कलाकार पनि हुन् उनी । चलचित्रको प्रसंग आउनेबित्तिकै उनी नोस्टाल्जिक बन्छन् । त्यो समय सम्झिँदै उनी भन्छन्, ‘पञ्चायती शासनको प्रचारका लागि चलचित्र बनाइएको थियो ।’

त्यो बेला चलचित्र निर्माणका लागि कुनै प्रविधि थिएन । २०१७ सालमा पञ्चायती शासन व्यवस्था लागू भयो । एक वर्षपछि २०१८ सालमा प्रचार विभाग पुनर्गठन गरियो । तत्कालीन सरकारले पञ्चायती शासनको प्रचार गर्ने उद्देश्यले चलचित्र निर्माण गर्ने निर्णय गरे पनि नेपालमा चलचित्र निर्माणका लागि आवश्यक प्रविधि, जनशक्तिलगायतका थुप्रै कुरा अभाव थियो ।

तत्लालीन राजा महेन्द्रका सुरक्षाकर्मी शेरबहादुर मल्लले एकजना भारतीय चलचित्र निर्देशक हिरासिंह खत्रीलाई चिनेका रहेछन् । देहरादुनमा सँगै पढ्दा मल्लको खत्रीसँग भेट भएको रहेछ । यही क्रममा खत्रीलाई नेपाल बोलाइयो ।

दुर्गा त्यो बेलाको समय सम्झिँदै भन्छन्, ‘नेपालमा केही नहुँदा पनि बाहिरबाट सबै प्रविधि ल्याएर चलचित्र निर्माण भएको थियो ।’ नेपालमा चलचित्र निर्माणमा चाहिने केही प्रविधि र जनशक्ति नहुँदा पनि काम भएको थियो । चलचित्र निर्माणका लागि आवश्यक सबै प्रविधि र जनशक्ति ल्याएर चलचित्र निर्माणको काम सुरु भएको थियो । 



चलचित्रको पटकथा तयार भएपछि राजा महेन्द्रबाट पास गराइयो । त्यसपछि भारतबाट चाहिने जनशक्ति र प्रविधि ल्याएर चलचित्रको काम सुरु गरिएको बताउँछन् दुर्गा ।

‘कलाकार बाहिरबाट ल्याएर काम गर्न सक्ने अवस्था थिएन,’ उनी भन्छन्, ‘तत्कालीन संस्कृति विभाग (अहिले सूचना विभाग)का कर्मचारीलाई लिएर चलचित्र बनाइयो ।’



चलचित्रको काम सुरु हुँदा सुरुमा गीत रेकर्डिङको काम सुरु भयो । नेपालमा कुनै पनि रेकर्डिङ स्टुडियो थिएन । त्यसैले, गायक–गायिकालाई भारत लगेर गीत रेकर्ड गराइएको थियो । चलचित्रको शीर्ष गीत ‘पञ्च यो देश बनाइदेऊ’ लक्ष्मण लोहनीले लेखेका थिए । तारादेवी, नारायणगोपाल, प्रेमप्रकाश मल्ललगायतले आवाज दिए । चलचत्रिको छायांकन सुरु हुनुअघि पाँचवटा गीत भारतमा रेकर्ड गरियो ।

भारतमा गीत रेकर्ड भएपछि ककनीमा गीतको छायांकन गरियो । चलचित्रको नायक–नायिकामा शिवशंकर मानन्धर र भुवन थापा (चन्द) थिए । दुर्गा बताउँछन्, ‘कलाकारलाई चलचित्रकै लागि कुनै पारिश्रमिक तोकिएको थिएन । सरकारले संस्कृति विभागमा रहँदा जस्तै दैनिक भत्ता दिएको थियो ।’

चलचित्रको कथा गाउँले परिवेशमा थियो । उत्तम नेपालीले जमिनदारको भूमिका निर्वाह गरेका थिए । दुर्गा र वसुन्धरा भुसालले नायक–नायिकाको साथीको रूपमा अभिनय गरेका थिए । चलचित्रमा संस्कृति विभागमा कार्यरत २० जना कलाकारलाई खेलाइएको थियो । 

‘ककनीमा एक महिना लगाएर ‘आउटडोर सुटिङ’को काम गरियो ।’ दुर्गा भन्छन्, ‘त्यसपछि ‘इन्डोर सुटिङ’का लागि कोलकाता गइयो ।’ नेपालमा कुनै पनि स्टुडियो नभएकाले भारत जानु परेको बताउँछन् उनी । कोलकाताको ‘न्यु थिएटर स्टुडियो’ थियो त्यो, जहाँ चलचित्रको इन्डोर सुटिङ गरियो । 

‘चलचित्रको स्क्रिप्ट पूरा लेखिएको थिएन,’ उनी भन्छन्, ‘रातभर निर्देशक र म बसेर भोलि के सिन गर्ने भन्दै ‘डायलग’ र दृश्य बनाउँथ्यौं ।’ लेखिएको डायलग भोलिपल्टै कलाकारलाई कण्ठ गराइन्थ्यो । सिन बुझाइन्थ्यो र खिचिन्थ्यो । दुर्गा भन्छन्, ‘त्यसरी काम गर्दा कलाकारलाई पनि त्यति गाह्रो भएको थिएन ।’

दुई महिना इन्डोर सुटिङ गरेपछि कलाकार नेपाल फर्किए । निर्देशक हिरासिंह त्यहीँ बसेर चलचित्रको एडिटिङ, मिक्सिङ, डबिङलगायतका काम गर्न थाले । सबै काम भएपछि चलचित्रको रिलको एकप्रति नेपाल ल्याइयो । चलचित्र राजालाई देखाएर पास गराउन राजपरिवारलाई राखेर जय नेपाल हलमा ‘प्रिमियर’ गरियो । 

‘चलचित्र मन परेकाले राजाले काम गर्ने सबैलाई दुई–दुई हजार पुरस्कार दिए,’ दुर्गा सम्झिछन् । चलचित्र पास भएपछि भारतबाट अन्य प्रति रिल पनि ल्याएर देशभरका हलमा चलचित्र देखाउन थालियो । नेपालबाहेक भारतमा नेपालीको बसोवास भएको ठाउँमा पनि चलचित्रको प्रदर्शन गरियो । उनी भन्छन्, ‘नेपाली दर्शकले त्यसबेलासम्म हिन्दी चलचित्र मात्र हेरिरहेका थिए । नेपाली चलचित्र हेर्न पाउँदा निकै उत्साह थियो उनीहरूमा ।’ आफ्नै देशका कलाकार, नेपाली नाच, नेपाली भाषा देखेर दर्शक निकै उत्साहित भएको सुम्झिन्छन दुर्गा । 

चलचित्र पञ्चायतको प्रचारका लागि बनाइएको भए पनि त्यसमा त्यस्तो कुनै ‘प्रोपोगान्डा’ नभएको बताउँछन् उनी । पञ्चायतको प्रचारको रूपमा चलचित्रको शीर्ष गीत मात्र थियो, बाँकी सबै कथा मनोरञ्जनपूर्ण थियो ।

‘१९–२० वर्षको उमेरमा चलचित्रमा काम गरेको थिएँ,’ दुर्गा भन्छन्, ‘निकै डर पनि थियो । अर्कोतिर कस्तो होला भन्ने उत्साह पनि ।’ भारतका विभिन्न निर्देशकले पनि चलचित्र राम्रो निर्माण भएको बताउने गरेको स्मरण गर्छन् उनी । चलचित्रको कथा लेखे पनि आफूलाई त्यो बेला चलचित्रको कथा लेखिरहेछु भन्ने केही थाहा नभएको बताउँछन् उनी । भन्छन्, ‘कुनै पनि कलाकारलाई चलचित्र गरिरहेछौं भन्ने थिएन । सबैले आफ्नो ‘ड्युटी’ मात्र पूरा गरिरहेका थिए ।’

नेपालमा केही डकुमेन्ट्रीबाहेक कुनै पनि चलचित्र बनेको थिएन त्यो समयसम्म । पछिलोपटक सरकारी पक्षबाट बनाएको चलचित्रले निकै प्रभाव पनि पार्यो । २०२० सालमा चलचित्र शाखा गठन भयो । नेपालमा प्राविधिक नभएकाले सरकारले नै केही मान्छेलाई भारतमा चलचित्रका विभिन्न विषय पढ्न पठायो । चलचित्र कलाकार संघ पनि गठन भयो । चलचित्रमा काम गरेका कलाकारलाई निर्माण भएको २२ वर्षपछि (२०४० साल) राजा वीरेन्द्रले सम्मान पनि गरे ।

चलचित्रमा बसुन्धरा भुसालले बोलेको संवाद ‘ए रातै’ निकै चर्चित भएको थियो । नायिकाको साथीको रूपमा अभिनय गरेकी उनको त्यो ‘संवाद’लाई लिएर बाटोमा हिँड्दा पनि उनलाई जिस्क्याउने गरेको दुर्गा बताउँछन् ।

‘त्यसबेला कुनै प्रविधि नहुँदा पनि चलचित्र बनेको थियो,’ दुर्गा भन्छन्, ‘अहिले प्राविधिक पक्षबाट निकै सजिलो छ ।’ अहिलेको माहोल त्यसबेलाको भन्दा निकै विकसित भए पनि कथावस्तु तथा विषयवस्तुमा राम्रो काम नभएको बताउँछन् दुर्गा । ‘अहिलेका चलचित्र बढी ‘भल्गर’ भए,’ उनी भन्छन्, ‘चलचित्रलाई ‘सो बिजनेस’ मात्र बनाइरहेका छन् ।’ 

चलचित्र निर्माणको पक्षबाट अन्य बलिउड र हलिउडभन्दा नेपाली चलचित्र निकै तल रहेको उनी बताउँछन् । पहिले स्तर उठाइएको नेपाली चलचित्रको अवस्थालाई अहिलेको पुस्ताले स्थिर बनाउन नसकेको उनको धारणा छ । ‘हाम्रा चलचित्र हुबहु हिन्दी चलचित्रजस्ता बनिरहेका छन्,’ उनी भन्छन्, ‘अहिलेका चलचित्रमा नेपाली मौलिकता कतै पनि भेटिँदैन ।’

अहिलेका चलचित्रका कलाकारको व्यवहार पनि पहिलेका कलाकारको भन्दा निकै फरक भएको बताउँछन् दुर्गा । ‘पहिलाका कलाकार सर्वसाधारणसँग सजिलै घुलमिल हुन्थे,’ उनी भन्छन्, ‘अहिलेका कलाकार निकै फरक छन् । आफूलाई अर्कै सम्झिएर मान्छेहरूभन्दा परपर जान्छन् ।’

‘अहिलेका नेपाली चलचित्र बढी व्यावसायिक भए । पछिल्लो समय पैसा कमाउनका लागि मात्र चलचित्र बनाउनेहरूको होडबाजी चलेको छ,’ उनी भन्छन्, ‘चलचित्र बनाउँदा कति कमाउन सकिन्छ भन्ने मात्र हेरिन्छ ।’

नेपालमा ‘आर्ट मुभी’ अहिलेसम्म नबनेको बताउँछन् दुर्गा । नेपाली चलचित्रकर्मी व्यावसायिक चलचित्र निर्माणमा मात्र सीमित भएकोमा उनको गुनासो पनि छ । चलचित्रलाई व्यवसाय कम, कला र मनोरञ्जन पक्ष बढी बनाइनुपर्ने उनको धारणा छ । विषयवस्तुमा पनि विविधता आउनुपर्ने धारणा राख्दै दुर्गा भन्छन्, ‘हिट भएको चलचित्रको प्रभावमा त्यही विषयवस्तुमा चलचित्र बनिरहेको छ अहिले । नेपाली चलचित्रमा मौलिकता र विविधताको कमी छ ।’

पहिलो नेपाली चलचित्रमा काम गर्न पाउँदाको समय सम्झिँदै उनी नोस्टाल्जिक बन्छन् । भन्छन्, ‘६० वर्षअघि सँगै काम गर्दाका साथीभाइ भेट हुँदा ती दिनहरू सम्झिन्छु ।’

लौरोको सहारामा हिँडिरहेका छन् दुर्गा । उनीसँग पहिलो चलचित्रका थुप्रै अनुभव छन् । कहिलेकाहीँ केही साथीहरूले चलचित्र खेलाउँछु पनि भन्ने गरेका छन् उनलाई । हाँस्दै उनी भन्छन्, ‘खेलाउँछु मात्र भन्छन्, तर चलचित्र बनाउने बेला भने बोलाउँदैनन् ।’
 

  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार ९:५२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया