निशानले डेढ लाख कार फिर्ता गर्ने

एजेन्सी- जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको शुक्रबार बताएको छ । 

जापानी विशाल कार कम्पनीका अध्यक्ष रहेकै बेला पक्राउ परेका कार्लोस गोसनको अभावबाट अघि बढिरहेको कम्पनीलाई आर्थिक हिसाबले झड्का दिने यो अर्को घटना बनेको छ । 

‘निशानले पछिल्लो समय कैयौं कारहरूमा प्रक्रियागत परीक्षण नभएको भनाइ बजारमा आएपछि कम्पनीले कारहरू फिर्ता गरेर अनुसन्धान अघि बढाउन लागेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निशानले मुलुकभरबाट तुरून्तै झण्डै एक लाख पचास हजार कारलाई फिर्ता माग्नेछ ।’

निशान कार कम्पनीले घरेलु ‘एसेम्बली प्लान्ट’मा निर्मित आफ्ना कतिपय सवारीसाधनका ब्रेक, गति नाप्ने मिटर र अन्य केही प्रणालीको परीक्षण नभई बजारमा पठाएको पाइएको पुष्टि गरेको छ । 

यसरी फिर्ता ल्याइने कारहरूमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को अक्टोबरसम्म बनेका नोट, लिफ, मार्च र क्युवजस्ता सुगठित कारहरूमा त्रुटि भएको प्रतिक्रियापछि यि सहित विभिन्न १० प्रकारका कारका डेढ लाख पिसलाई फिर्ता गर्न लागेको हो । 

कम्पनीले कार फिर्ता ल्याउने कुरा आफ्ना अधिकारीहरूमाझ बिहीबार जानकारी गराएको विज्ञप्तिमा जनाइएको छ । 

निशानका उपाध्यक्ष सेइजी होन्डाले भने, ‘कम्पनीले समस्या देखिएका भनिएका गाडीको आन्तरिक प्रणाली यसको नियमनकारी निकायमार्फत पुनः परीक्षण गर्ने र सही परीक्षणपछि मात्र पुनः बजारमा पठाइनेछ । हामी सबै सम्बद्ध पक्षको विश्वास पुनः प्राप्त गर्न कडा मेहनत गर्नेछौं ।’ 

अख्तियारी नपाएका कर्मचारीद्वारा केही सवारीसाधनको आन्तरिक यान्त्रिक प्रणालीको परीक्षण गरी बजारमा पठाएको आरोपपछि उक्त कम्पनीले गत बर्ष पनि १० लाखभन्दा बढी गाडी फिर्ता गरी आवश्यक परीक्षण गरेको थियो । 

जुलाईमा आएको अर्को फरक मुद्दामा निशानले ‘एक्जस्ट इमिसन’ र ‘इकोनोमी मोड’ बारे प्रचार गरिएका डाटा नै झुटा भएको आरोपपछि यस विषयमा ग्राहकको विश्वास जित्न कठिन भएको थियो । 

‘के गोसन, जसलाई फ्रान्समा ‘ले कोस्ट किलर’ का नामबाट चिनिन्छले आफ्नो कार्यकालमा व्यापक मूल्य कटौती गरी पठाउने सिलसिलामा सम्भवतः परीक्षणमा त्रुटि भएको हो,’ होन्डाले भने । 

उहाँले थप्नुभयो, “हामीले गत बर्षको र पछिल्लो परीक्षण समस्या एउटै हो वा होइन यसबारे अध्ययन भइरहेको छ ।” 

निशानका अध्यक्ष रहेकै समय आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका गोसन र एक अर्का अधिकारीलाई कम्पनीले जिम्मेवारीबाट मुक्त गरेको छ । यद्यपि गोसनले आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै यसको खण्डन गर्दै आउनुभएको छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १०:४६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया