राहदानी विभागले अब विदेशस्थित नेपाली नियोगबाट अब ई–पासपोर्ट (विद्युतीय राहदानी) बनाउन पाउने व्यवस्था गरेको छ । आइतबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई–पासपोर्ट सफलतापूर्वक उत्पादन भएको छ ।
विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको विभागले जनाएको छ ।
विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले आइतवारबाटै बुकिङ खुला गरेको छ । सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको बताइएको छ ।
अन्य खाडी मुलुकहरू र मलेसियामा रहेका नेपाली नियोगहरूमा विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरू पठाइसकिएको विभागले जनाएको छ । उक्त सामानहरू जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा सुरुआत हुने विभागले जनाएको छ ।
त्यस्तै, यी बाहेकका अन्य मुलुकहरूमा रहेका सबै नेपाली नियोगमा उपकरण पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालनमा आउने विभागको भनाइ छ ।
नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ ।
अन्य जिल्लाहरूमा तीनवटा प्राविधिक टोलीहरूले नेटवर्किङ गर्ने, उपकरण जडान गर्ने र तालिम प्रदानको काम भइरहेको विभागको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।