चन्द्रागिरिमा हिउँ खेल्न गएको बेला हराएका पाँचजनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार उनीहरूको गएराति १:१५ बजे उद्धार गरिएको हो ।
प्रहरीका अनुसार महादेवस्थानकी २३ वर्षकी रिता गुरुङ, १५ वर्षकी सौभाग्य गुरुङ, १३ वर्षका सहज गुरुङ, ११ वर्षकी जेनिसा गुरुङ र ७ वर्षका एनवीन गुरुङलाई उद्धार गरिएको हो । उद्धार गरिएका पाँचैजना एकै परिवारका सदस्य हुन् ।
चन्द्रागिरि नगरपालिका–६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए । साँझ अबेरसम्म पनि घर नफर्केपछि प्रहरीलाई खबर गरिएको थियो ।
खबर पाउनासाथ प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापन गुल्म सामाखुसीसहित ३७ जना प्रहरी टोलीले हराइरहेकाहरूको खोजी गरेको थियो ।
पाँच घण्टा खोजेपछि उनीहरूलाई चन्द्रागिरि जंगलबाट राति सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।