लुम्बिनी बौद्ध विश्वविद्यालयको वार्षिकोत्सवमा राष्ट्रपति

बुटवल– राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको १४औँ वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गरेकी छिन् । 

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताइन् । 

बुद्धले मानव कल्याण र शान्तिका लागि दिएका योगदानकै कारण उनीप्रति सम्पूर्ण नेपालीले गर्व गर्ने भन्दै राष्ट्रपति भण्डारीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा शान्ति र कल्याण प्राप्त हुने धारणा राखिन् । 

बौद्ध शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्यापन र अनुसन्धानलाई अभिवृद्धि गर्दै राष्ट्रको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वस्थ, स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउने राज्यको नीति रहेको भन्दै उनले लुम्बिनी बौद्ध विश्वविद्यालय राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उच्चस्तरीय बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको बौद्धिक केन्द्र र प्राज्ञिक संस्कृतिमा आधारित उच्चस्तरको शिक्षण तथा रचनात्मक प्राज्ञिक संस्थाको रुपमा विकास हुने विश्वास व्यक्त गरिन् । 

बुद्ध जन्मस्थल लुम्बिनीलाई सुन्दर पर्यटकीय स्थलका रुपमा विकास गर्ने, ओझेलमा परेका भाषा र संस्कृतिको उत्खनन गरी राष्ट्रको मौलिकतालाई अघि ल्याएर गौरवशाली राष्ट्रिय पहिचान कायम गर्न आवश्यक रहेको राष्ट्रपतिको भनाइ थियो । 

यसअघि, राष्ट्रपति भण्डारीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजा गरेकी थिइन् । समारोहमा राष्ट्रपति भण्डारीले लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. नरेशमान बज्राचार्य र प्रा. त्रिरत्न मानन्धर, पूर्वरजिस्ट्रार डा. पीताम्बरलाल यादव र तीन विद्वन्लाई विशेष सम्मान गरिन् । 



कार्यक्रममा प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले बौद्ध विश्वविद्यालयले बौद्ध धर्मको प्रचारप्रसारमा योगदान पुर्याउने र विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक थलो बनाउन राज्यका केन्द्रीय, प्रदेश र स्थानीय सरकारले योगदान पुर्याउनुपर्नेमा जोड दिँदै लुम्बिनी देवदह तिलौराकोट र रामग्रामलगायत बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको खोज र अनुसन्धानमा बौद्ध विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुने बताए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई शान्ति र ज्ञानप्रेमीको आस्थाको केन्द्रको रुपमा विकास गर्न सरकार प्राथमिकताका साथ अघि बढेको बताए ।



विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिस्ट्रार तिलकराम आचार्यले विश्वविद्यालयको अवस्थाबारे जानकारी गराएका थिए । 

  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १६:५२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया