जर्मनीकाे नयाँ नेतृत्व : एकेके उर्फ ‘मिनी मर्केल’ !

एजेन्सी– जर्मन पार्टी क्रिस्चियन डेमोक्रेट युनियन (सिडियु) को नेतृत्व अन्नागेट कम्प–करेन्बरले पाएकी छिन् । १८ वर्षपछि एन्जेला मर्केलले नेतृत्व छोडेपछि नयाँ नेतृत्वको लागि उनी निर्वाचित भएकी हुन् । 

लामो समय मर्केलको विपक्षमा रहेका महासचिव फ्रेडरिच मर्जलाई हमवर्गमा भएको निर्वाचनमा झिनो मतले पराजित गर्दै करेन्बर नेतृत्वमा पुगिन्, जहाँ उनले ५१.८ प्रतिशत भोट पाएकी थिइन् ।

जितसँगै उनलाई जर्मनीको भाबी चान्सलरको रुपमा हेर्न थालिएको छ ।

को हुन् एकेके ?

एकेके (अन्नाग्रेट कम्प–करेन्बर) दक्षिण–पूर्वी जर्मनीको सरल्यान्डमा हुर्केकी थिइन्, जुन जर्मनीको सबैभन्दा सानो राज्य हो । 

सन् १९८१ मा १९ वर्षको छँदा उनी सिडिसीको एक विद्यार्थी नेताको रुपमा राजनीतिमा प्रवेश गरिन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपछि एकेके प्रदेशस्तरीय राजनीतिमा आइन् । 



सन् २००० मा उनी पहिलोपटक महिला आन्तरिक सुरक्षा मन्त्रीको रुपमा सार्वजनिक सेवामा प्रवेश गरिन् । त्यसपछि सन् २०११ देखि ७ वर्ष सारल्यान्डको पहिलो महिला प्रधानमन्त्रीको रुपमा काम गरिन् ।

सन् २०१७ मा सारल्यान्डमा निर्वाचित हुँदा मर्केलले उनको निकै प्रशंसा गरेकी थिइन् । यसबाट पनि मर्केल एकेकेको नेतृत्वमा राजी भएको देखिएको थियो । 



उनी ३४ वर्षदेखि पति हल्मट करेन्बरसँग पट्लिगमा बस्दै आएकी छिन् । पत्नी राजनीतिमा लागेपछि उनका पतिले तीन सन्तानको रेखदेखका लागि माइनिङ इन्जिनियरिङको जागिर छोडेका थिए ।

एकेकेलाई मर्केलको उत्तराधिकारीकै रुपमा सिडियुको नेतृत्वका लागि छानिएको कतिपयको बुझाइ छ । उनलाई व्यावहारिक, नम्र र क्षमतावान राजनीतिज्ञको रुपमा हेर्ने गरिन्छ । 

उनले मर्केलको आप्रवास नीति, महिलाको अधिकारको विषयमा खुला नीति र न्यूनतम पारिश्रमिकको विषयमा आवाज उठाउँदै आएकी थिइन् । उनीमाथि परम्परागत धारणा राख्ने गरेको आरोप लगाउने पनि छन् ।

क्याथोलिक धर्म अभ्यास गर्ने भएकाले पनि उनी समलिंगी विवाहका सन्दर्भमा पूर्ण स्वतन्त्र अधिकार दिने विषयको विपक्षमा छिन् । 

पछिल्लो समय भने आलोचकहरु उनलाई मिनी मर्केल वा मर्केल २.० भन्ने गर्छन् । जानकारहरु भने उनीहरुको बीचमा प्रस्ट भिन्नता रहेको बताउँछन् ।

पार्टी नेतृत्वमा निर्वाचित भएलगत्तै उनी देश–दैडाहामा निस्केकी छिन् । आफ्नो पार्टीका आधारभूत तहका मानिस के चाहन्छन् भन्ने थाहा पाउन निस्केको उनीे बताउँछिन् । 

उनका अनुसार मानिसहरु गर्व, निरासा, चासो र अनिश्चितताले भरिएका उनले पाइन् । ‘पार्टीमा मूलभूत प्रश्न उठ्नुपर्छ,’ उनले भनिन्, ‘जनताको पार्टी भन्नुको अर्थ सबैलाई सबैखाले अफर बेच्ने राजनीतिक पसल बन्नुपर्छ भन्ने हुँदैन ।’
 

  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १९:४५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया