संसद र सरकारको आलटालका कारण नागरिकतासम्बन्धी कानुनले अहिलेसम्म पूर्णता नपाएको नेता लालको आरोप

पूर्वराष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लालले देशको हरेक नागरिकले मतदानको अवसर पाउनु पर्ने बताएका छन् ।

निर्वाचनमा कानुन बमोजिम देशकाे उमेर पुगेका हरेक नागरिकले मतदानको अवसर पाउनु पर्नेमा उनले जोड दिएका हुन्।

उनले भने, ‘स्थानीय तहको निर्वाचनको घोषणा भएको छ । समयमा निर्वाचन लोकतन्त्रको अभ्यासको नितान्त जरुरी प्रक्रिया हो र त्यतिकै आवश्यक निर्वाचनमा कानुन बमोजिम उमेर पुगेका देशको हरेक नागरिकले मतदानको अवसर पनि पाउनु हो ।’

संसद र सरकारकाे आलटालका कारण नागरिकता सम्बन्धी कानुनले पूर्णता नपाएकाे उनकाे आराेप छ ।

‘संसद र सरकारको आलटालको कारण नागरिकता सम्बन्धी कानुनले अहिलेसम्म पूर्णता पाएको छैन’, उनले भने,‘परिणामस्वरूप जन्मसिद्ध नागरिकताधारीका सन्तानहरू, वैवाहिक अङ्गीकृत नागरिकता पाउन योग्य नागरिकहरू लगायतका उल्लेख्य संख्यामा नागरिकताको प्रमाण–पत्र पाउन सकेका छैनन् र त्यसकारणले तिनका नाम मतदाता नामावलीमा समावेश गरिएका छैनन् ।’ 

नागरिकता सम्बन्धी कानुनले पूर्णता नपाएको बहानामा सम्बन्धित निकायले अधिकांश अवसरहरूमा जटिलता देखाई नागरिकताको प्रमाण-पत्र नदिने गरेको पनि सामान्य जस्तै भएको उनले जिकिर गरेका छन् । 



उनले मधेसी समुदाय यस पीडादायी अवस्थाका सजिलै शिकार बनाइने गरेको दावी समेत गरे ।

‘नेपालको नागरिक भएर पनि प्रमाण-पत्र नपाएकै कारणले मतदान गर्न नपाउनु लोकतन्त्रको सार्वभौम मान्यताको विपरीत त हुन्छ नै यसले यस्ता नागरिकलाई उनको नागरिक-अधिकारबाट वञ्चित समेत गर्दछ । यो ठाडो भेदभावको स्पष्ट चित्र हो’, उनले भने ।



संसदले नागरिकता सम्बन्धी विधेयक टुङ्गो नलगाएको कारण यसभन्दा पहिलेको सरकारले अध्यादेश ल्याएर नागरिकता सम्बन्धी यस समस्यालाई व्यवस्थित गर्न खोजे पनि वर्तमान सरकारले यसभन्दा अघि ल्याइएका अध्यादेशहरूको स्थानमा पुनः त्यस्तै अध्यादेशहरू जारी गर्दा नागरिकता सम्बन्धी अध्यादेश जानाजान जारी नगरिएको नेता लालको आरोप छ ।

उनले वर्तमान गठबन्धनको सरकारको नियतमा खोट रहेको आरो लगाएका छन् । 

नेता लालले नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै यस्ता समस्याको यथाशीघ्र समाधान गर्न माग गरेका छन् ।
 

  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १६:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया