भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तीव्र बनाइएको बताएकी छन् ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा-१९ साविकको वेगाशिपुर गाविसमा रहेको गाउँब्लकमा रहेकाहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यस्ताे बताएकी हुन् ।
उनले जमिन भएर पनि लालपुर्जा नहुँदा भूमिविहीन बनिरहेकाहरूको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै वास्तविक भूमिहीन कोही पनि भूमि प्राप्त गर्नबाट बन्चित नहुन र गलत मान्छेले भूमि नपाउन भन्नेमा सवै चनाखो बन्नु पर्नेमा जाेड दिइन् ।
मन्त्री श्रेष्ठले लालपुर्जाको अभावमा नागरिकता समेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग गर्न नपाइरहेको अवस्थाको अन्त्य हुनु पर्नेमा पनि बताइन् ।
भूमिविहीनहरूलाई लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडि बढिरहेको भन्दै संविधानमा व्यवस्था भएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम समेत सुरु भइसकेको उनकाे भनाइ छ ।
मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम सुरु गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको पनि जानकारी दिइन् ।
यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिरहाको गाउँब्लकमा रहेकाहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी थिइन् ।
२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँब्लकका रूपमा रही आफ्नो घर जग्गाको लालपुर्जा पाउन नसकेकाहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न ढिलाइ गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिँदै आएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।