जनकपुरबाट बच्चा चोरी गर्ने गिरोह पक्राउ

जनकपुरधाममा ७ महिने एक नाबालकलाई चोरी गरेर भागेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

बच्चा चोरी गरेर भागेकी दुई महिलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर-१० बस्ने संजित मुखियाकी ३५ वर्षीया पत्नी मनिषा देवी मुखिया, औरही गाउँपालिका वडा नम्बर-१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ बस्ने बिगुल मुखियाकी २० वर्षीया पत्नी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर-४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।

बुधबार साँझ करिब ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका-६ स्थित महाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन् ।

प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको बेला रातो साडी लगाएर आएकी मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई शिशुलाई लिएर फरार भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको टोलीले खोजतलास गर्दै जाँदा सोधपुछ तथा अनुसन्धानबाट बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम-१९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरले जानकारी दिए ।



घटनाको समयमा मनिषासँगै रहेको आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेको एसपी रजौरेले बताए ।

पक्राउ परेका कृष्ण कुमारले मनिषासँग १३ हजार रुपैयाँ लिई बच्चा उपलब्ध गराउने सर्त राखेको कुरा अनुसन्धानमा खुलेको उनले जानकारी दिए । 



पक्राउ परेकाहरूमाथि अपहरणसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १६:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया