Thu, 21 Mar, 2019


एनआरएनलाई मन्त्री खनालको आग्रह : ढुक्क भएर कृषिमा लगानी गर्नुस्
फरकधार / मंसिर २३, २०७५

हङकङ– कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले ढुक्क भएर नेपालमा लगानी गर्न गैरआवासीय नेपाली संघ एनआरएनलाई आग्रह गरेका छन् ।

एनआरएन एसिया प्रशान्त क्षेत्रको भेलालाई हङकङमा सम्बोधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सही दिशामा आएको र स्थिर सरकार भएकाले लगानीमा कन्जुस्याइँ नगर्न आग्रह गरे । 

केही नीति नियम बाधक भएको भए त्यसलाई सरकारले सहज बनाइदिने भन्दै मन्त्री खनालले क्षेत्र पचिान गर्न पनि सहयोग गर्ने बताए । कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने खनालको भनाइ थियो । 

अब नेपालको राजनीति अस्थिरतामा जाँदैन भन्ने उदाहरण तीन तहको चुनावले दिइसकेको उनको भनाइ थियो । २८ देखि ३० लाख युवा जनशक्ति मलेसिया र खाडी मुलुकमा श्रम गर्दा नेपालको उर्वर भूमि बाँझो रहेको भन्दै मन्त्री खनालले नेपालमा लगानी गरेर रोजगारीको अवसर सिर्जना गर्नतर्फ सरकार लागेको बताए ।

त्यसका लागि एनआरएन एउटा सहयोगी संस्था हुन सक्ने उनको भनाइ थियो । जसले गर्दा झन्डै १ सय ४० अर्बको हाराहारीमा वस्तु आयात भएर चुलिँदै गएको नेपालको व्यापार घाटा कम गर्न सकिने उनको भनाइ थियो । 

अब विगतलाई दोष दिएर उम्कन नपाइने भन्दै मन्त्री खनालले इतिहासले समृद्ध नेपाल निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी अहिलेको सरकार र राजनीतिक नेतृत्वलाई दिएको टिप्पणी गरे । ‘अब चुनावी नारा बाँडेर भोट माग्ने दिन सकिए,’ मन्त्री खनालले भने, ‘सरकार दीर्घकालीन एजेन्डा बोकेर हिँडेको छ, छिट्टै गन्तव्यमा पुग्छ, तपाईंहरु पनि सहयोगी बन्नुस् ।’

कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टले आफूहरु नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्न र क्षेत्र पहिचान गरी लगानी बढाउन तयार रहेको बताए ।

कार्यक्रममा सहभागी हुन शनिवार हङकङ गएका मन्त्री खनाल मंगलबार स्वदेश फर्कनेछन् ।
 



यो पनि नछुटाउनुहोस्