भारतीय इतिहासकार गुहालाई बारम्बार धम्की

नयाँ दिल्ली– भारतीय इतिहासकार रामचन्द्र गुहालाई हिन्दु अतिवादीले धम्की दिइरहेको तथ्य सार्वजनिक भएको छ ।

सञ्जय नाम गरेको व्यक्तिले दिल्लीको ००९१–९८३५१३८६७८ नम्बरबाट आफू र आफ्नी पत्नीलाई धम्की दिएको खबर उनले केहीबेरअघि मात्र ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

रेकर्डका लागि भन्दै उनले भारतीय जासुसी संस्था रिसर्च एन्ट एनालाइसिस विङ (रअ) का पूर्वअधिकारी आरके यादवको धम्कीपूर्ण ट्विट पनि सार्वजनिक गरेका छन् ।

यादवले उक्त ट्विटमा गाईको मासु खाएकोबारे प्रचार गरेर गुहाले हिन्दुको अपमान गरेको आरोप मात्र लगाएका छैनन्, उनलाई उचित जवाफ दिइने धम्की पनि दिएका छन् ।



गुहाले विभिन्न माध्यमबाट आफूलाई आइरहेका सबै धम्की रेकर्डका लागि सार्वजनिक गर्दै जाने पनि बताएका छन् । गुहालाई धम्की आएको यो पहिलोपटक भने होइन । सत्तारुढ भारतीय जनता पार्टी, त्यसका अध्यक्ष अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेकै कारण उनलाई धम्की आउने गरेको छ ।

आठ महिनाअघि पनि गुहाले आफूलाई धम्कीपूर्ण इमेलहरु आइरहेको तथ्य सार्वजनिक गरेका थिए । बिजेपी, शाह र मोदीको आलोचना गर्नेलाई ‘भगवान महाकाल’ले दण्डित गर्ने धम्कीसहितका दर्जन इमेल उनलाई प्राप्त भएको छ ।



भारतमा नरेन्द्र मोदीको उदयसँगै अति–हिन्दुवाद मौलाएको र पत्रकार, मानवअधिकारकर्मी तथा लेखकहरु असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । यसअघि गौरी लंकेश, सुजात बुखारी, सान्तनु भौमिक र सुदीपदत्त भौमिकलगायत पत्रकारको हत्या भइसकेको छ ।

मोदी सरकारको विरोधमा बोल्ने र लेख्नेहरुलाई अर्बन नक्सलको आरोप पनि लाग्ने गरेको छ । अर्बन नक्सल भनिएका पत्रकार, लेखक तथा इतिहासकारको घरमा छापा मार्ने र उनीहरुलाई विभिन्न मुद्दामा फसाउने काम भइरहेको बताइन्छ ।

रामचन्द्र गुहा मात्रै होइनन्, दलित अभियन्ता आनन्द तेलतुमडे, पत्रकार रविश कुमारलाई पनि ज्यान मार्ने धम्की आउने क्रम जारी छ भने मानवअधिकारवादी स्वामी अग्निवेशमाथि राँची र दिल्लीमा भौतिक आक्रमण भइसकेको छ ।

एबिपी न्युज टेलिभिजनका पत्रकार पुण्यप्रसून बाजपेयीलाई सरकारको पक्षमा नबोलेको भन्दै राजीनामा दिन बाध्य पारिएको थियो ।

निरन्तर अधिकारकर्मी र पत्रकारमाथि भइरहेका हमलाको विरोधमा आवाज उठाउने सुधा भारद्वाज, गौतम नवलखा, वरवर राव, अरुण फरेरा, स्टिेफन स्वामीजस्ता लेखक तथा अधिकारकर्मीलाई भारत सरकारले अर्बन नक्सल भन्दै विभिन्न विषयमा मुद्दा पनि चलाएको छ ।

गुहाले अति–हिन्दुवादको मात्र होइन, बिजेपी र यसका नेता तथा प्रधानमन्त्री मोदीको आलोचना गर्ने गरेका छन् । 

  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार १७:१९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया