संगीतकार महेश खड्काले संगीत चोरेको भनेर लगाएकाे आरोप निराधार रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताएका हुन्।
उनले बौद्धिक सम्पतिको चोरीको विषयमा कानुनी उपचार खोज्ने धेरै कानुनी उपाय छाडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्याएकाे आरोप लगाउनु लगाए।
गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बुले गाएको ‘नोगेन’ बोलको गीतको संगीत केही अंश चोरेको आरोप अर्का संगीतकार वसन्त सापकोटाले लगाएका थिए ।
संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’को ‘सागरसरी चाेखाे माया’ भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाएपछि संगीतकार खड्काले प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन् ।
पछिल्लो समय नेपाली गीत संगीत र शब्द चोरीको आरोप प्रत्यारोपको सिलसिला चलेको छ ।
केही दिनअघि गायिका रचना रिमालले अन्जु पन्तले गाएको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गाएपछि गायिका रिमाल विवादमा आएकी थिइन् ।
यस्तै गायक दुर्गेश थापा ‘पैसा’ नामको गीतमा प्रयोग भएको शब्दको कारण निकै आलोचित बन्नुपरेको थियो ।
यता सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिएका दुवै संगीतकार महेश खड्का र बसन्त सापकोटा आफ्नो प्रतिलिपि अधिकारको लागि कानुनी उपचारमा भने गएका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।