६ महिनामा टेलिकमको नाफा चार अर्ब

नेपाल टेलिकमले ६ महिनामै झन्डै चार अर्ब खुद नाफा कमाएको छ । टेलिकमले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार यो अवधिमा कम्पनीले तीन अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ मुनाफा कमाएको हो ।

कम्पनीले गत आवको सुरुको ६ महिनासम्म तीन अर्ब २८ करोड ९३ लाख ९४ हजार मुनाफा कमाएको थियो । पछिल्लो ६ महिनाको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि (पुस मसान्त)सम्मको खुद मुनाफाभन्दा १८.४९ प्रतिशत अर्थात् ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ बढी हो । 

टेलिकमले सञ्चालन आयतर्फ चालू आवको दोस्रो त्रैमासिकसम्म १९ अर्ब २० करोड ७२ लाख १६ हजार आम्दानी गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार आम्दानी गरेको थियो । 

सञ्चालन आयमा यसपटक एक अर्ब ४८ करोड २३ लाख ३ हजार (अर्थात ८.३६ प्रतिशत)ले वृद्धि भएको टेलिकमले जनाएको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासिक अवधिमा मात्रै सञ्चालन आयतर्फ नौ अर्ब ४३ करोड १९ लाख २३ हजार आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले नौ अर्ब ८ करोड ९५ लाख ७३ हजार आम्दानी गरेको थियो । 

टेलिकमले यो शीर्षकमा गत आवको सोही अवधिभन्दा ३४ करोड २३ लाख ४९ हजार ((३.७७ प्रतिशत) बढी आम्दानी गरेको छ ।



चालू आवको दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको कूल आय २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार पुगेको छ । गत आवको सोही अवधिमा कूल आय २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेको थियो । 

यसपटक एक अर्ब ४१ करोड ३२ लाख ६३ हजार अर्थात् ६.८७ प्रतिशतले वृद्धि भएको हो ।



फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधारमा वृद्धि हुन गई मोबाइल डेटा, भ्वाइस, एसएमएस सेवा आदिको प्रयोगमा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ ।

त्यसैगरी टुजी तथा थ्रिजी सेवाको पहुँच नपुगेका स्थानमा समेत टुजी, थ्रिजी र फोजी सेवाको विस्तार भएका कारण ग्राहकको आधार वृद्धि भएको टेलिकमले उल्लेख गरेको छ ।

साथै एफटिटिएच सेवामार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपिटिभी सेवाका ग्राहक वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ ।

कम्पनीले अघिल्लो आवमा कोभिड–१९ महामारीको असर परे पनि सुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजना र सेवा वितरणमा सहजता आएको उल्लेख गरेको छ ।

साथै अनलाइन व्यवसाय, अनलाइन कक्षा, सामाजिक सञ्जाल, इन्टनेटमा आधारित मनोरञ्जन आदिमा भएको वृद्धिले गत वर्षको तुलनामा भ्वइस सेवा, डेटा सेवा, एसएमएस सेवा र अन्य भ्यालु एडेड सर्भिसका कारण वित्तीय अवस्थामा सुधार भएको कम्पनीले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १८:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया